+

रगत बाक्लो हुँदा शरीरमा के हुन्छ ? कसलाई बढी जोखिम, कसरी बच्ने ?

२०८३ साउन  २६ गते १०:४६ २०८३ साउन २६ गते १०:४६
Shares
रगत बाक्लो हुँदा शरीरमा के हुन्छ ? कसलाई बढी जोखिम, कसरी बच्ने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रगतको बाक्लोपन बढ्दा नसाभित्र रगत जम्ने जोखिम उत्पन्न भई मुटु, मस्तिष्क वा फोक्सोमा गम्भीर असर पुर्‍याउन सक्छ।

रगत हाम्रो शरीरका प्रत्येक अंगसम्म अक्सिजन र आवश्यक पोषक तत्व पुर्‍याउने महत्वपूर्ण माध्यम हो । सामान्य अवस्थामा रगत सहज रूपमा बगिरहन्छ ।

तर विभिन्न कारणले रगतको बाक्लोपन बढ्दा यसको प्रवाहमा असर पर्न सक्छ र नसाभित्र रगत जम्ने (ब्लड क्लट) जोखिम बढ्न सक्छ । रगत जमेर बनेको डल्लोले शरीरका महत्वपूर्ण अंगसम्म पुगेमा गम्भीर समस्या निम्तिन सक्छ । विशेषगरी यस्तो डल्लोले मुटु, मस्तिष्क वा फोक्सोमा पुग्दा ज्यान जोखिममा पार्ने अवस्था आउन सक्छ ।

रगत बाक्लो हुनु भनेको के हो ?

रगत बाक्लो हुनु भन्नाले रगत सामान्य अवस्थाभन्दा बढी चिप्लो हुनु वा सहज रूपमा बग्न नसक्ने अवस्था हो । सामान्य अवस्थामा रगत तरल अवस्थामा रहन्छ र रक्तनलीमार्फत शरीरभरि सहज रूपमा प्रवाह हुन्छ ।

तर रगतमा रातो रक्तकोषिका (रेड ब्लड सेल), प्रोटिन वा अन्य तत्वको मात्रा असामान्य रूपमा बढ्दा यसको बाक्लोपन बढ्न सक्छ । यसले रगतको प्रवाह सुस्त बनाउन सक्छ र नसाभित्र थुप्रो बन्ने सम्भावना बढाउन सक्छ ।

तर रगत बाक्लो भयो भन्दैमा हरेक अवस्थामा डराउनुपर्ने हुँदैन । यसको वास्तविक अवस्था र कारण पत्ता लगाउन चिकित्सकीय परीक्षण आवश्यक हुन्छ ।

रगत बाक्लो हुनु आफैंमा कुनै रोग नभए पनि यसले शरीरमा गम्भीर समस्या निम्त्याउने आधार तयार गर्न सक्छ । विशेषगरी रगत जमेर बनेको डल्लो बन्दा मुटु, मस्तिष्क वा फोक्सोजस्ता महत्वपूर्ण अंगसम्म पुगेमा ज्यान जोखिममा पार्ने अवस्था आउन सक्छ ।

रगत किन बाक्लो हुन थाल्छ ?

रगत बाक्लो हुने एउटै मात्र कारण हुँदैन । शरीरमा पानीको कमी, अस्वस्थ जीवनशैली, केही रोग तथा विशेष स्वास्थ्य अवस्थाले यस्तो समस्या निम्त्याउन सक्छ ।

शरीरमा पानीको मात्रा कम हुँदा रगतको तरल भाग घट्छ र रगत बढी बाक्लो हुन सक्छ । त्यस्तै, केही मानिसमा रातो रक्तकोषिकाको संख्या असामान्य रूपमा बढ्दा पनि रगत बाक्लो हुने अवस्था आउँछ । यसलाई चिकित्सकीय भाषामा एरिथ्रोसाइटोसिस वा पोलिसाइथिमिया भनिन्छ ।

पोलिसाइथिमिया हुँदा रातो रक्तकोषिकाको संख्या बढ्नाले हेमोग्लोबिनको मात्रा पनि उच्च हुन्छ । उच्च हेमोग्लोबिनले रगतको बाक्लोपन बढाउँछ र रक्तप्रवाह सुस्त बनाउँछ । यसै कारण पोलिसाइथिमिया रगत बाक्लो हुने प्रमुख कारणहरूमध्ये एक हो ।

केही अवस्थामा यो पोलिसाइथिमिया शारीरिक पनि हुन सक्छ । उच्च उचाइमा बस्ने व्यक्तिहरूमा (जस्तै नेपालका पहाडी क्षेत्र) शरीरले कम अक्सिजनको प्रतिक्रियामा रातो रक्तकोषिका र हेमोग्लोबिन बढाउँछ । यसलाई ‘फिजियोलोजिकल पोलिसिथेमिया’ भनिन्छ । धुम्रपान गर्ने व्यक्तिहरूमा पनि दीर्घकालीन अक्सिजन अभावका कारण यस्तो शारीरिक अनुकूलन देखिन सक्छ ।

लामो समयसम्म शारीरिक गतिविधि नगर्नु, धेरै बेरसम्म एउटै ठाउँमा बसिरहनु, मोटोपना र धुम्रपानजस्ता बानीले पनि रगत जम्ने जोखिम बढाउन सक्छन् । यसबाहेक शल्यक्रिया, गम्भीर चोटपटक, केही हर्मोनसम्बन्धी औषधिको प्रयोग, गर्भावस्था र सुत्केरीपछिको समय पनि रगत बाक्लो हुने जोखिम बढाउने अवस्था हुन् ।

त्यस्तै, मधुमेह वा उच्च रक्तचाप भएका व्यक्तिमा पनि रगत बाक्लो हुने वा रगत जम्ने जोखिम बढ्न सक्छ । मधुमेह हुँदा लामो समयसम्म रगतमा चिनीको मात्रा बढी रहँदा रक्तनलीमा असर पर्न सक्छ, जसले रगत जम्ने सम्भावना बढाउँछ ।

त्यस्तै, उच्च रक्तचापका कारण रक्तनलीमा निरन्तर दबाब पर्दा रक्तप्रवाहमा असर पर्न सक्छ र रगत जम्ने जोखिम बढ्न सक्छ । तर मधुमेह वा रक्तचाप भएका सबै व्यक्तिको रगत बाक्लो हुन्छ भन्ने होइन । यी अवस्था भएका व्यक्तिले नियमित स्वास्थ्य परीक्षण, औषधिको उचित प्रयोग र स्वस्थ जीवनशैली अपनाएर जोखिम कम गर्न सक्छन् ।

रगत बाक्लो हुँदा शरीरमा के असर पर्छ ?

रगत बाक्लो हुँदा नसाभित्र रगतको ढिक्का बन्ने सम्भावना बढ्छ । यस्तो ढिक्काले शरीरका विभिन्न भागमा रगतको सामान्य प्रवाह रोक्न सक्छ । खुट्टाको गहिरो नसामा रगत जम्दा डीप भेन थ्रोम्बोसिस (डीभीटी) हुन सक्छ । यस अवस्थामा खुट्टा सुन्निने, दुख्ने र भारीपन महसुस हुने जस्ता समस्या देखिन सक्छन् । कहिलेकाहीँ खुट्टामा बनेको थक्का फुटेर रगतसँगै फोक्सोसम्म पुग्न सक्छ, जसले पल्मोनरी एम्बोलिज्म जस्तो गम्भीर अवस्था निम्त्याउन सक्छ ।

त्यस्तै, रगतको थक्काले मस्तिष्कको रक्तनली अवरुद्ध गरेमा मस्तिष्कघात (स्ट्रोक) हुन सक्छ भने मुटुको रक्तनलीमा असर परेमा हृदयघातको जोखिम बढ्न सक्छ ।

कसलाई बढी जोखिम ?

रगत बाक्लो हुने समस्या जोसुकैलाई पनि हुनसक्छ । तर केही अवस्थामा यसको जोखिम अझ बढी हुन्छ । लामो समयसम्म निष्क्रिय रहने व्यक्ति, लामो दूरीको यात्रा गर्ने व्यक्ति, शल्यक्रिया गरेका व्यक्ति, गम्भीर चोटपटक भएका व्यक्ति तथा शारीरिक गतिविधि कम गर्ने मानिसमा यस्तो जोखिम बढी देखिन्छ ।

मोटोपना भएका व्यक्ति, धुम्रपान गर्ने व्यक्ति र परिवारमा रगत जम्ने समस्या भएको व्यक्तिमा पनि जोखिम बढ्न सक्छ । कतिपय अवस्थामा आनुवंशिक कारणले पनि रगत सजिलै जम्ने समस्या हुन सक्छ ।

उच्च उचाइमा बस्ने वा ‘फिजियोलोजिकल पोलिसिथेमिया’ भएका व्यक्तिहरूमा पनि रगतको बाक्लोपन र क्लटिङको जोखिम सामान्यभन्दा बढी हुन सक्छ ।

रगत बाक्लो हुने समस्या कसरी कम गर्ने ?

रगत जम्ने जोखिम कम गर्न जीवनशैलीमा सुधार गर्नु महत्वपूर्ण हुन्छ । लामो समयसम्म लगातार बसिरहनुभन्दा बीच–बीचमा उठेर हिँडडुल गर्ने बानी बसाल्नुपर्छ । लामो यात्राका क्रममा पनि शरीरलाई सक्रिय राख्नु आवश्यक हुन्छ ।

नियमित शारीरिक गतिविधि गर्ने, स्वस्थ तौल कायम राख्ने, धुम्रपान त्याग्ने र पर्याप्त मात्रामा पानी पिउने बानीले रगत स्वस्थ राख्न सहयोग गर्छ । रगत बाक्लो भएको शंका लागेमा आफैं औषधि सेवन गर्नु हुँदैन । चिकित्सकको सल्लाहअनुसार आवश्यक परीक्षण गराएर मात्र उपचार प्रक्रिया अघि बढाउनुपर्छ ।

चिकित्सकीय परीक्षण रगत बाक्लो
डा. विपिन नेपाल
लेखक
डा. विपिन नेपाल
ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ९५२० एमबीबीएस, एमएस इशरत उल इबाद खान संस्थानमा मेडिकल अफिसर तथा सिफ्ट इन्चार्ज डाउ सेफ ब्लड ट्रान्सफ्युजन परियोजनामा सहसंयोजक, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको ट्रान्सफ्युजन मेडिसिन विभाग प्रमुख, त्रिवि लायन्स ट्रान्सफ्युजन सेवा तथा अनुसन्धान केन्द्रका निर्देशक तथा विराट मेडिकल कलेजका प्राध्यापक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय