News Summary
Generated by OK AI. Editorially reviewed.- गण्डकी प्रदेश खेलकुद परिषद्द्वारा वितरित खेलकुद पदक विवादमा परेपछि मन्त्रालयले तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।
- मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलको संयोजकत्वमा गठित समितिले पदक वितरण ऐन तथा कानूनसम्मत भए/नभएको विषयमा अध्ययन गर्नेछ ।
- छनोट समितिका पदाधिकारी नै पदकका लागि सिफारिस भएपछि उत्पन्न विवादबारे छानविन गरी समितिले साउन २९ गतेभित्र प्रतिवेदन बुझाउनेछ ।
२५ साउन, काठमाडौं । गण्डकी प्रदेश खेलकुद परिषद्ले वितरण गरेको खेलकुद पदकबारे छानविन गर्न समिति गठन गरिएको छ ।
गत असार ३० गते विवरण गरिएको खेलकुद पदक विवादमा आएसँगै प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरेकी हुन् ।
समितिको सदस्यमा मन्त्रालयका उपसचिव घनश्याम पौडेल र अधिकृत नारायणप्रसाद बास्तोला छन् ।
समितिलाई साउन २९ गतेभित्र प्रतिवेदन पेस गर्न भनिएको संयोजक पौडेलले जानकारी दिए । ‘मन्त्रालयबाट मेरो संयोजकत्वमा छानविन समिति गठन गरिएको छ,’ उनले अनलाइन खबरसँग भने, ‘पदक वितरणको ऐन, कानुनीको प्रावधानअनुसार छ कि छैन भन्नेबारे छानविन गरेर प्रतिवेदन बुझाउँछौं ।’
गण्डकी प्रदेश खेलकुद परिषद्ले ३० असारमा पोखरा रंगशालामा विशेष समारोह आयोजना गरी ‘गण्डकी प्रदेश खेलकुद पदक’ बाट ६ खेलाडी तथा प्रशिक्षक र चार खेल संघलाई सम्मान गरेको थियो ।
खेलाडीतर्फ भलिबलकी अरुणा शाही, आईटीएफ तेक्वान्दोकी सुस्मिता थापा मगर, आर्चरीका योगेन्द्र शेरचन र असिम शेरचन हुँदा क्रिकेट प्रशिक्षकतर्फ रिजन प्रजु सम्मानित भएका थिए । खेलकुद पत्रकारितातर्फ केशव पाठक र संघ–संस्थातर्फ नेपाल भूतपूर्व खेलाडी मञ्चलाई पदक प्रदान गरिएको थियो ।
प्रदेश ह्यान्डबल संघ र गण्डकी प्रदेश फेन्सिङ संघ उत्कृष्ट खेल संघ तथा गण्डकी प्रदेश टेनिस संघ सर्वाेत्कृष्ट प्रदेश खेल संघको रुपमा नगदसहित सम्मानित भएका थिए ।
छनोट समितिमै रहेको व्यक्तिहरुलाई पदक दिएपछि विवाद सिर्जना भएको थियो । खेलकुद पत्रकारिता विधामा पदक पाएका केशव पाठक पदक सिफारिस समितिका सदस्य हुन् ।
उनी यसअघि परिषद्का सदस्य एवम् कार्यवाहक सदस्यसचिवसमेत भइसकेका थिए । पदक सिफारिस समितिका सदस्य हरि पराजुली आवद्ध रहेको नेपाल भूतपूर्व खेलाडी मञ्चले संघ–संस्थातर्फको पदक पायो ।
पदक सिफारिस समितिका सदस्य चित्रबहादुर थापा अध्यक्ष रहेको प्रदेश ह्यान्डबल संघले पनि उत्कृष्ट खेल संघको पदक हात पार्यो ।
प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले भने विधि पद्धतिमै रहेर पदक वितरण गरिएको जिकीर गरे ।
प्रतिक्रिया 4