+

रक्सी पिएपछि शरीरभित्र कहाँ–कहाँ पुग्छ ? के–के हुन्छ ?

२०८३ साउन  २६ गते १२:१३ २०८३ साउन २६ गते १२:१३
रक्सी पिएपछि शरीरभित्र कहाँ–कहाँ पुग्छ ? के–के हुन्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिकित्सकका अनुसार नियमित र लामो समयसम्म गरिने रक्सी सेवनले कलेजो, मस्तिष्क तथा स्नायु प्रणालीमा गम्भीर असर पुर्‍याउँछ ।
  • रक्सी सेवनले कलेजोमा बोसो जम्मा हुने, सुन्निने र सिरोसिसजस्ता कलेजो फेल हुने अवस्थासम्म सिर्जना गर्न सक्छ ।

धेरै मानिसलाई लाग्छ, रक्सी पिएपछि त्यो पेटमा पुग्छ र केही समयपछि पिसाबबाट बाहिर निस्कन्छ । तर वास्तविकता त्यति सरल छैन । रक्सी शरीरभित्र प्रवेश गरेपछि यसले पेटमा मात्र होइन, कलेजो, मस्तिष्क, स्नायु प्रणाली र शरीरका अन्य महत्वपूर्ण अंगमा समेत प्रभाव पार्न थाल्छ । सुरुमा सामान्य देखिने रक्सी सेवनको बानी लामो समयपछि गम्भीर स्वास्थ्य समस्याको कारण बन्न सक्छ।

कतिपय मानिस आफूले थोरै मात्र रक्सी सेवन गर्ने भएकाले यसले खासै असर नगर्ने विश्वास गर्छन् । तर चिकित्सकहरूका अनुसार रक्सीको असर कति हुन्छ भन्ने कुरा यसको मात्रा, सेवन गर्ने अवधि र व्यक्तिको शरीरको अवस्थाले निर्धारण गर्छ ।

विशेषगरी नियमित र लामो समयसम्म रक्सी सेवन गर्दा शरीरका महत्वपूर्ण अंगमा क्षति पुग्ने जोखिम बढ्छ ।

रक्सी शरीरभित्र पुगेपछि कहाँ जान्छ ?

रक्सी सेवन गरेपछि यो सिधै पेटबाट सानो आन्द्रामा पुग्छ र त्यहाँबाट रगतमा मिसिन्छ । पेट र आन्द्राबाट गएको रगत कलेजो हुँदै शरीरका अन्य भागमा फैलिन्छ । शरीरमा पुगेका पदार्थलाई प्रशोधन गर्ने र हानिकारक तत्वलाई हटाउने मुख्य जिम्मेवारी कलेजोको हुन्छ ।

कलेजोले रक्सीलाई तोड्ने क्रममा ‘एल्डिहाइड’ नामक रसायन बनाउँछ । यो पदार्थ शरीरका लागि हानिकारक हुन्छ । जब मानिसले छोटो समयमा धेरै मात्रामा रक्सी सेवन गर्छ, शरीरमा एल्डिहाइडको मात्रा बढ्छ र यसले कलेजोमा दबाब सिर्जना गर्छ । विस्तारै कलेजोको काम गर्ने क्षमता कमजोर हुँदै जान सक्छ ।

कलेजोमा रक्सीको सबैभन्दा ठूलो असर

रक्सीको सबैभन्दा ठूलो असर पर्ने अंगमध्ये कलेजो प्रमुख हो । लामो समयसम्म रक्सी सेवन गर्दा कलेजोमा बोसो जम्न सक्छ, सुन्निन सक्छ र विस्तारै कलेजोका स्वस्थ कोषिकामा क्षति पुग्न थाल्छ ।

लगातार क्षति हुँदै गएपछि कलेजोमा फाइब्रोसिस अर्थात् दाग बन्ने प्रक्रिया सुरु हुन सक्छ । समयमै उपचार र सावधानी नअपनाएमा यही अवस्था बढ्दै कलेजो सिरोसिससम्म पुग्न सक्छ ।

सिरोसिस भएपछि कलेजोका स्वस्थ कोषिका नष्ट हुँदै जान्छन् र कलेजोले आफ्नो सामान्य काम गर्न कठिन हुन्छ । कलेजो बिग्रिँदै जाँदा शरीरमा अत्यधिक थकान महसुस हुने, कमजोरी बढ्ने, पीलिया देखिने, मांसपेशी कमजोर हुने र गम्भीर अवस्थामा रगत बान्ता हुनेजस्ता समस्या देखिन सक्छन्।

महिलामा रक्सीको असर किन बढी ?

रक्सीको असर पुरुष र महिला दुवैमा पर्न सक्छ । तर चिकित्सकहरूका अनुसार महिलाको शरीर र जैविक संरचनाका कारण उनीहरू रक्सीको असरप्रति बढी संवेदनशील हुन सक्छन् ।

लामो समयसम्म रक्सी सेवन गर्ने महिलामा कलेजोसम्बन्धी समस्या देखिने जोखिम तुलनात्मक रूपमा बढी हुन सक्छ ।

फ्याटी लिभरदेखि कलेजो फेल हुने अवस्थासम्म

रक्सी सेवनसँग जोडिएको अर्को सामान्य समस्या फ्याटी लिभर हो । कलेजोका कोषिकामा अत्यधिक बोसो जम्मा भएपछि यसको कार्यक्षमतामा असर पर्न थाल्छ । सुरुको अवस्थामा यो समस्या नियन्त्रण गर्न सकिने भए पनि बेवास्ता गर्दा गम्भीर रूप लिन सक्छ ।

लामो समयसम्म अत्यधिक रक्सी सेवन गर्ने व्यक्तिमा गम्भीर हेपाटाइटिस वा कलेजो फेल हुने अवस्था समेत आउन सक्छ । यस्तो अवस्थामा कलेजोले शरीरलाई आवश्यक काम गर्न नसक्दा पीलिया बढ्ने, रगत जम्ने प्रक्रियामा समस्या आउने र मस्तिष्कमा समेत असर पुग्ने अवस्था आउन सक्छ ।

रक्सीले मस्तिष्क र मानसिक स्वास्थ्यमा पनि असर गर्छ

रक्सीले शरीर मात्र होइन, मस्तिष्क र मानसिक स्वास्थ्यमा समेत गहिरो प्रभाव पार्छ । कतिपय मानिस रक्सी सेवन गरेपछि आक्रामक बन्ने, झगडा गर्ने वा असामान्य व्यवहार देखाउने गर्छन् । नियमित सेवन गर्दै जाँदा रक्सीको लत बस्ने सम्भावना बढ्छ ।

लामो समयसम्म रक्सी सेवन गर्ने व्यक्तिमा भ्रम हुने, निद्रा बिग्रने, डर लाग्ने, हात काप्ने र वास्तविकता पहिचान गर्न कठिन हुनेजस्ता मानसिक समस्या देखिन सक्छन् ।

रक्सी छोड्दा पनि चुनौती आउन सक्छ

वर्षौंसम्म रक्सी सेवन गरेको व्यक्तिले अचानक रक्सी छोड्दा पनि शरीर र मस्तिष्कले प्रतिक्रिया देखाउन सक्छ । यसलाई ‘विथड्रअल सिन्ड्रोम’ भनिन्छ।

यस्तो अवस्थामा हातखुट्टा काम्ने, तनाव हुने, थकान महसुस हुने, भ्रम हुने र व्यवहारमा परिवर्तन आउने समस्या देखिन सक्छ । कतिपय अवस्थामा रक्सी छोडेको केही दिनभित्रै गम्भीर मानसिक समस्या देखिन सक्छ । त्यसैले, लामो समयदेखि रक्सी सेवन गरिरहेका व्यक्तिले चिकित्सकीय सल्लाह लिएर नशा त्याग्नु सुरक्षित मानिन्छ ।

रक्सी छोडेपछि कलेजो ठीक हुन्छ ?

रक्सी छोड्नु स्वास्थ्य सुधारका लागि महत्वपूर्ण कदम हो । कलेजोमा प्रारम्भिक चरणमै समस्या देखिएको छ भने रक्सी त्याग्दा थप क्षति रोक्न सकिन्छ र उपचारबाट सुधार ल्याउन सकिन्छ ।

तर कलेजो सिरोसिसजस्तो गम्भीर अवस्थामा पुगिसकेको छ भने रक्सी छोडेर मात्र कलेजो पूर्णरूपमा पहिलेको अवस्थामा फर्कन सक्दैन । यस्तो अवस्थामा चिकित्सकीय उपचार आवश्यक पर्न सक्छ ।

नसा छुटाउन सुधा केन्द्र रोज्दा सावधानी

रक्सीको लतबाट छुटकारा पाउन धेरै मानिस नशामुक्ति तथा पुनःस्थापना केन्द्र जाने गर्छन् । तर सबै केन्द्र सुरक्षित र व्यवस्थित नहुन सक्छन् । चिकित्सकहरूका अनुसार लत जबर्जस्ती हटाउन सकिँदैन । उपचारसँगै व्यक्तिको इच्छा शक्ति, परिवारको सहयोग र सही चिकित्सकीय मार्गदर्शन आवश्यक हुन्छ ।

परिवारसँग सम्पर्क गर्न नदिने, बन्द गरेर राख्ने वा अमानवीय व्यवहार गर्ने केन्द्रबाट सावधान रहनुपर्छ । नशाबाट बाहिर निस्कन सहयोग, उपचार र सकारात्मक वातावरण महत्वपूर्ण हुन्छ ।

रक्सी पेय पदार्थ मात्र होइन, स्वास्थ्यका लागि जोखिम हो

रक्सी शरीरभित्र पुगेपछि मात्र पेटमा सीमित हुँदैन । यो रगतसँगै शरीरभर फैलिन्छ र कलेजोदेखि मस्तिष्कसम्म असर पु¥याउन सक्छ । सुरुमा सामान्य लाग्ने बानीले समयसँगै गम्भीर स्वास्थ्य समस्या आउन सक्छ ।

स्वास्थ्य जोगाउने सबैभन्दा राम्रो उपाय भनेको रक्सी सेवनमा नियन्त्रण गर्नु वा सम्भव भएसम्म पूर्ण रूपमा त्याग्नु हो । शरीरले देखाएका संकेतलाई समयमै बुझ्न सके धेरै जटिलताबाट बच्न सकिन्छ ।

मद्यपान रक्सी सिरोसिस स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय