News Summary
Generated by OK AI. Editorially reviewed.- कवि श्रवण मुकारूङले देशको बदलिँदो अवस्था र गरिब जनताको चुलोको समस्यालाई कवितामार्फत संसद् र विधायकहरूका सामु सशक्तरूपमा प्रस्तुत गरेका छन्।
सुन्नुहोस् विधायकवृन्द !
जति नै दामी, आइरनको सुललित धार बसेको कोट लगाउनुहोस्
असलमा त तपाईंहरू कोर्कालीसिबाय केही होइन
सिटहोल कन्ट्रीका रिप्रिजेन्टेटिभहरू !
यहाँहरूलाई अलिकति सभ्य देशका नागरिकमा उत्थान
गर्नाका निम्ति
कसैले भोकभोकै कविता लेखिरहेको छ
हेक्का राख्नुहोला–
उसको नाम श्रवण मुकारूङ हो
यहाँहरूलाई चुनदाम सुसंस्कृत बनाइदिन
ऊ लेखिरहेको छ कविता
प्रेसर, सुगर, कोलस्टेरोल… अनि क्रोनिक भावुकता
सबै–सबै ओखतीको डोजले
ऊ जीर्ण भइसकेको छ
उसको रक्तप्रणालीमा निकोटिन, इथानोल, क्याफिनसँगै
बगिरहेको छ उदास मसी
त्यसलाई पनि उसले सपनाको ब्याड सिँच्न
लगाएको छ काव्यिक रोजगारीमा
यद्यपि, ऊ बिलकुल रित्तो छैन
थ्याङ्क गड !
कवि भनेको ग्यासको सिलिन्डर होइन
बर्खे अधिवेशन त यहाँहरूले
सस्तो कलहमा अल्झेरै बिताउनुभो
आउँदै छ अब हिउँदे अधिवेशन
कृपया, आगामी शीतकालीन सत्रमा
बनाउनुहोला श्रवण मुकारूङको चुलोलाई
राष्ट्रिय एजेन्डा एउटा
कुनै तुकबन्दीप्रवीण विदूषकले फुराइटोपल्ने राजखानीसँग
अनुप्रास मिल्ने
यो राजधानीको बीचमा
दुइटा कोठाको एउटा देश छ
एउटा बेडरूम- आधा देश
एउटा किचेन- बाँकी देश
चुच्चे नक्साको अहङ्कार भने तिरोहित हुन्छ
शौचालय पुग्दा–नपुग्दै
बेडरूम त कपटी संज्ञा न हो
खासमा यो हो, बागमती किनारको सुकुम्बासी बस्ती
प्रलय–चस्माधारी डोजरले ताण्डवको डोज पूरा गरेपछि
जे बाँकी बस्छ-
अर्थात् : सिरक, डस्ना, रेनकोट, मफलर, मैला बुसर्ट–टिसर्ट,
अघिल्लो पुस–माघमै दिवङ्गत भइसकेका ज्याकेट–स्वेटरका हाडखोर,
फूलबुट्टा मेटिएका म्याक्सी–लुङ्गी,
एउटा कान लुछिएको फरक क्षमताको टेडी बेर…
र, असरल्ल, असम्भार छरपस्ट दुःखका प्राचीन–नूतन अवतारहरू…
यान्य कि-
कविताका मायावी कच्चा पदार्थहरू…
अनि किचेन पनि त फरेबी संज्ञा न हो एउटा
नत्र त के छ र त्यस्तो त्यहाँ
कानमा ठोक्किन आइपुग्ने एउटा झुटो भव्यताबाहेक
दुई बर्नरवाला सूर्या ग्यास स्टोभ नियालिरहन्छ
गणतन्त्र ल्याउन गोलीशिरोपर गरेर हिँडेको कविको हालतलाई
उसले ल्याएको गणतन्त्र गइन् चाहिँ कहाँ ?
रेन्ज रोभर भोग चढेर कुनै हरामखोरसँग
अथवा, स्कोरपिओ चढेर कुनै गिट्टीखोरसँग भागिन् ?
होइन, होइन, तिनी त्यतिबिघ्न धोकेबाज हुन सक्दिनन्
माटोमै मिलेका मान्छेहरूबाहेक उनका अरु प्रेमी हुन सक्दैनन्
सायद अपहरणमा परिन्
सायद के, निःसन्देह अपहरणमा परिन्
उनीसँगै अपहरणमा परेको छ
श्रवण मुकारूङको चुलो
अर्थात्, प्रेमललवाको चुलो, द्रौपदीको चुलो
गुन्डा र लफङ्गाहरूले यसरी छोइदिएपछि जथाभावी
भयानक रूष्ट भएका छन् पितृहरू…
अनि रूष्ट हुनुभएको छ गीता थापामगर
उहाँले दशा बिग्रेको कुनै धूमिल दिनमा चुन्नुभएको होइन
श्रवण मुकारूङलाई
सोची–सम्झी–विचारी नै रोज्नुभएको हो
यात्रा कण्टकमय
उहाँका रगताम्य पैतालाहरूले
इतिहासमा एक छेउ वा कुना दाबी गरेका छैनन्
यत्ति हो, महँगीमा जब चुलो एट्टिट्युड देखाएर अरट्ठो पल्टिन्छ
उहाँको मन भरङ्ग हुन्छ
कहिलेकाहीँ त हप्तौंसम्म मुस्कानलाई पठाइदिनुहुन्छ निर्वासनमा
तर फेरि बोलाउनुहुन्छ सरहदभित्रै
उहाँले यसो गर्नुभएन भने
हिट्लर ढाल्न हिँडेको कसैले
चामल–दाल–आँटा–नुन–तेल–आलु–प्याजका तगाराहरू नाघ्दानाघ्दै
मासिसक्छ आफूभित्रको तुफान
घृणाको अन्धकारमा प्रेमको सलेदो सल्काउन खोज्नेलाई
मुटु ओइराउँदै माया गरेर कोमल क्रान्तिमा सरिक हुनुहुन्छ उहाँ
मलाई सोध्नुहुन्छ भने
राष्ट्रिय गौरवको आयोजना बन्नुपर्छ
श्रवण मुकारूङको चुलो
त्यसपछि
पिठ्युँमा भारी बोकेर हिँड्दाहिँड्दै टक्क उभिनेछ कुनै भरिया
सिङ्गो जुनीमा पहिलो चोटि मुस्कुराउनेछ दिल खोलेर
र, बात मार्नेछ आफैंसँग-
खोइ कसले हो
सोचेछ मेरा बारेमा पनि ।
प्रतिक्रिया 4