+

एसियाडमा ईस्पोर्ट्स सहभागी नभएको बारे राखेपको यस्तो स्पष्टीकरण

२०८३ साउन  २८ गते ११:२७ २०८३ साउन २८ गते ११:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय खेलकुद परिषद्ले २०औं एसियाली खेलकुदमा नेपालका ई–स्पोर्ट्स खेलाडी सहभागी हुन नपाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
  • परिषद्का अनुसार ई–स्पोर्ट्स संघ, नेपालसँग समन्वय गरी खेलाडीको नाम सिफारिस गरिएकामा संघले नै सहभागिता हुन नसक्ने जानकारी गराएको थियो।
  • प्रारम्भिक नामावलीमा समावेश नभएका खेलाडीलाई पछि छनोट भएको दाबी गर्दै सहभागी गराउन नसकिने राखेपले स्पष्ट पारेको छ।

२८ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी २०औं एसियाली खेलकुदमा नेपालका ई–स्पोर्ट्स खेलाडी सहभागी हुन नपाएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

राखेपले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै एसियाडका लागि प्रारम्भिक नामावली पठाउँदा परिषद्मा आधिकारिक रूपमा दर्ता रहेको ई–स्पोर्ट्स संघ, नेपाल (इसान) सँगको समन्वयमा ई–स्पोर्ट्स खेलाडीको नाम समावेश गरिएको जनाएको छ।

यसबीच नेपाल ई–स्पोर्ट्स संघ (नेसा) नामको अर्को संस्थाले पनि गतिविधि सञ्चालन गरिरहेको जानकारी पाएपछि खेलाडीको भविष्यलाई ध्यानमा राख्दै सहभागिताका विषयमा आवश्यक छलफल र समन्वयका लागि राखेपले उक्त संस्थालाई पत्राचार गरेको थियो। तर निर्धारित समयभित्र नेसा राखेपको सम्पर्कमा नआएको परिषद्को भनाइ छ।

एसियाडका लागि आयोजकले तोकेको समयभित्र नेपाल ओलम्पिक कमिटीमार्फत योग्य खेलाडीको अन्तिम नामावली पठाउनुपर्ने भएपछि सम्बन्धित संघबाट सिफारिस भएर आएअनुसार १२ खेलाडीसहित १५ जनाको सहभागिताका लागि नाम सिफारिस गरिएको राखेपले जनाएको छ ।

तर आधिकारिक रूपमा दर्ता रहेको ई–स्पोर्ट्स संघ, नेपालले आफूले सिफारिस गरेका खेलाडी छनोट हुन नसकेको भन्दै ई–स्पोर्ट्स खेलाडी एसियाडमा सहभागी हुन नसक्ने जानकारी राखेपलाई गराएको थियो । त्यसै पत्रका आधारमा राखेपले एसियाडमा ई–स्पोर्ट्सको सहभागिता नहुने निर्णय गरेको जनाएको छ ।

समय सकिएपछि सहभागिताको दाबी

राखेपका अनुसार समन्वयका लागि गरिएको अनुरोधलाई निर्धारित समयसम्म नेसाले बेवास्ता गरेको थियो । तर समयसीमा सकिएपछि भने आफ्ना खेलाडी छनोट भएको भन्दै एसियाडमा सहभागी गराउनुपर्ने दाबी गरिएको परिषद्को भनाइ छ ।

राखेपले एसियाडका लागि पठाइएको प्रारम्भिक नामावलीमै समावेश नभएका खेलाडीलाई पछि छनोट भएको दाबीका आधारमा सहभागी गराउन नसकिएको स्पष्ट पारेको छ ।

‘प्रतियोगिताका लागि दर्ता गरिएको प्रारम्भिक नामावलीमा नै समावेश नभएका खेलाडी छनोट भएको दाबीलाई परिषद्ले कार्यान्वयन गर्न असमर्थ रहेको’ राखेपले विज्ञप्तिमा उल्लेख गरेको छ।

यथार्थलाई बेवास्ता गरी एकपक्षीय रूपमा भ्रामक समाचार सार्वजनिक गरिएको भन्दै राखेपले त्यसप्रति असहमति जनाएको छ।

२०औं एसियाली खेलकुद जापानमा आगामी सेप्गटेम्बर-अक्टोबरमा  सञ्चालन हुँदैछ ।

२०औं एसियन गेम्स ईस्पोर्टस राखेप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय