२९ साउन, रुकुमपूर्व । लगातारको वर्षासँगै मध्यपहाडी लोकमार्गका विभिन्न ठाउँमा पहिरो खसेपछि रुकुम पूर्वमा रातिको समयमा सवारी साधन चलाउन रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले सूचना जारी गर्दै साउन २९ गते राति ९ बजेदेखि साउन ३० गते बिहान ९ बजेसम्म मध्यपहाडी लोकमार्गमा सबै प्रकारका सवारी साधनको आवागमन बन्द गर्ने निर्णय गरेको हो।
प्रशासनका अनुसार पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत काँडाबगर, धौलापहिरा लगायतका स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । वर्षा अझै केही दिन जारी रहने मौसम पूर्वानुमान रहेकाले सडकमा थप पहिरो खस्ने जोखिमसमेत कायमै छ।
सम्भावित दुर्घटना र मानवीय क्षति रोक्न जिल्ला सुरक्षा समितिको बैठकले रातिको समयमा राजमार्गमा सवारी आवागमन रोक्ने निर्णय गरेको प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतमले वर्षाका कारण राजमार्गका विभिन्न खण्डमा जोखिम बढेको बताए।
‘भारी वर्षाका कारण मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम कायमै छ । आगामी केही दिन अझै वर्षाको सम्भावना रहेकाले यात्रु तथा सवारी साधनको सुरक्षालाई ध्यानमा राखी रातिको समयमा आवागमनमा रोक लगाउने निर्णय गरिएको हो’, गौतमले भने।
पहिरो हटाएर सडक खुलाइए पनि जोखिम कायमै
यसअघि पनि वर्षाका कारण भूमे गाउँपालिकाका विभिन्न स्थानमा पहिरो खसेर मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको थियो। सुरक्षाकर्मी, स्थानीय प्रशासन र स्थानीय तहको समन्वयमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएको थियो । तर, लगातार पानी परिरहेकाले सडक माथिको जमिन कमजोर बनेको र जुनसुकै बेला पहिरो खस्न सक्ने अवस्था रहेको प्रशासनले जनाएको छ ।
विशेषगरी रातिको समयमा पहिरो तथा ढुंगा खसेको तत्काल पहिचान गर्न कठिन हुने भएकाले सवारी साधन र यात्रुको जोखिम बढ्ने प्रशासनको भनाइ छ ।
प्रशासनले वर्षाको समयमा अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यात्रा गर्नैपर्ने अवस्था भए मौसम र सडकको पछिल्लो अवस्था बुझेर मात्रै अघि बढ्न प्रशासनले अनुरोध गरेको छ।
मध्यपहाडी लोकमार्ग रुकुम पूर्व हुँदै पहाडी तथा हिमाली क्षेत्रका विभिन्न बस्ती जोड्ने प्रमुख सडक हो। वर्षातका बेला यही सडकमा पहिरो खस्दा यातायात प्रभावित हुँदै आएको छ ।
प्रतिक्रिया 4