News Summary
Generated by OK AI. Editorially reviewed.- सभामुख डोलप्रसाद अर्यालले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन्।
- सभामुख अर्यालले सरकारले सुशासन कायम गर्दै भ्रष्टाचारलाई जरैदेखि अन्त्य गर्ने अभियान शुरु गरेको बताए ।
- उनले पर्यटन, उद्योग र उत्पादनलगायतका क्षेत्रलाई समृद्धिको एउटै दिशामा अघि बढाउनुपर्नेमा जोड दिए ।
२९ साउन, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउने बताएका छन् । यसका लागि सरकारले घनिभूत छलफल गरिरहेको उनको भनाइ छ ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९औँ वार्षिक साधारणसभालाई शुक्रवार सम्बोधन गर्दै अर्यालले ती विमानस्थलबाट हवाई सेवाले छिट्टै निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
सभामुख अर्यालले भने, ‘भैरहवा र पोखरा विमानस्थलका विषयमा घनिभूत छलफल भइरहेको छ । मलाई विश्वास छ, छिट्टै यी विमानस्थलले निरन्तरता पाउनेछन् र त्यहाँबाट हवाई सेवा सुचारु रूपमा सञ्चालन हुनेछ ।’
अर्यालले निजगढ विमानस्थल निर्माणको विषयमा समेत सरकार गम्भीर रहेको र यसबारेमा आवश्यक बहस अगाडि बढिरहेको जानकारी दिए ।
उनले पर्यटन क्षेत्रको विकासका लागि प्रविधिको उच्चतम सदुपयोग गर्नुपर्ने र नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्न विशेष पहल आवश्यक रहेकोमा जोड दिए ।
वर्तमान सरकार र संसद्मा युवाहरूको बाहुल्यता रहेको उल्लेख गर्दै उनले विकास प्रक्रियाका लागि केही समय धैर्य गर्न नागरिकलाई आग्रह गरे ।
अर्यालले समाजमा नकारात्मक सन्देश प्रवाह गर्दा मुलुक असफलतातिर जाने भन्दै सकारात्मक सोचका साथ अघि बढ्न सरोकारवालाहरूलाई आग्रह गरे ।
वर्तमान सरकारले मुलुकलाई समृद्ध बनाउने ऐतिहासिक म्यान्डेट पाएको दाबी गर्दै उनले पर्यटन मात्र नभई उत्पादन, आयात–निर्यात र सुशासनका क्षेत्रमा समेत सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
उनले अगाडि भने, ‘अबको सरकार असफल हुने छुट छैन । नेपालको इतिहासमा सम्भवतः पहिलो पटक सरकारले र प्रतिनिधिसभाले स्पष्ट जनादेश पाएका छन् । अब नेपाल समृद्ध बनाउनैपर्छ । पर्यटन मात्र होइन, उद्योग, उत्पादन, आयात–निर्यातलगायत सबै क्षेत्रलाई समृद्धिको एउटै दिशामा अघि बढाउनुपर्छ । सुशासन कायम गर्दै भ्रष्टाचारलाई जरैदेखि अन्त्य गर्ने अभियान सरकारले शुरु गरेको छ, यसमा हामी सबैको साथ आवश्यक छ ।’
भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने अभियानमा सरकार दृढ रहेको बताउँदै उनले अबको सरकारलाई असफल हुने छुट नभएको प्रष्ट पारे ।
प्रतिक्रिया 4