News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टोली एसीसी प्रिमियर कपको तयारीका लागि शुक्रबार भारत प्रस्थान गरेको छ ।
- क्यान सचिव पारस खड्काले टोली भारतमा १० दिन प्रशिक्षण लिएर सिधै मलेसिया जाने जानकारी दिनुभयो ।
- कप्तान सन्दीप लामिछानेले प्रतियोगिता जित्ने लक्ष्यसहित आफूहरू अघि बढ्ने बताएका छन् ।
२९ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियामा हुने एसीसी प्रिमियर कप खेल्नुअघि भारतमा तयारी गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले शुक्रबार नेपाली टोलीलाई बिदाइ गर्दै भारतमा तयारी गर्ने जानकारी दिएको हो । क्यानले शुक्रबार एक कार्यक्रमका बीच नेपाली टोलीलाई बिदाइ गरेको हो ।
क्यान उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले टोलीलाई बिदाइ गरे । क्यान सचिव पारस खड्काले प्रिमियर लिगको तयारी भारतमा गर्ने र उतैबाट प्रिमियर कपको लागि मलेसिया जाने पक्का भएको जानकारी दिए ।
‘प्रिमियर कपको तयारीको लागि भारत जाने र भारतबाट नेपाल फर्केर मलेसिया जाने तयारी थियो तर आज बिहान मात्रै नेपाली टोली भारतमा तयारी गरेर सिधै मलेसिया जाने भएकोले हतारमा बिदाइ कार्यक्रम आयोजना गर्नुपर्यो’ पारसले भने ।
सचिव खड्काले नेपाली क्रिकेटको विकासको लागि कप्तान परिवर्तनको आवश्यकता भएको र क्रिकेटिङ नेसन्सको रुपमा ग्रो हुने उदेश्य रहेको बताए । उनले टिममा को खेलाडी पर्यो भन्नेभन्दा पनि टिमका रूपमा राम्रो प्रदर्शन गर्नुपर्ने बताए ।
क्यान क्रिकेट निर्देशक विनोद दासले नेपाली टोली आजै भारत जाने १० दिनको क्याम्पमा रहने बताए । भारतमा दुई अभ्यास म्याच खेलेर नेपाली टोली मलेसिया जाने र मलेसियामा पनि ५ दिनको क्याम्प हुने दासले जानकारी दिए ।
मलेसियामा दुई अभ्यास खेलको लागि प्रयास गरिरहेको दासले जानकारी दिए । यस्तै मुख्य प्रशिक्षक स्टुअर्ट ल ले नेपाली टोलीमा युवा खेलाडीहरु पनि समावेश भएको र बेंगलोरमा तयारी गर्ने बताए ।
यस्तै नवनियुक्त कप्तान सन्दीप लामिछानेले पछिल्लो सिरिजहरू राम्रो हुन नसकेको र गल्ती पहिचान गर्दै आउने टुरमा राम्रो प्रदर्शन गर्ने बताए । उनले टिम राम्रो रहेको र विगतको कुरालाई छाडेर अब जितको लक्ष्य राखेर खेल्नुपर्ने बताए ।
‘हाम्रो लक्ष्य भनेको एसीसी प्रिमियर कप जित्ने नै हो’ कप्तान सन्दीपले भनेका छन् । कप्तानका रूपमा पनि लामिछानेले टिम व्यवस्थापन र खेलाडीहरू सबैसँग सहकार्य गरेर अघि बढ्ने बताए ।
क्यान सचिव पारस खड्काले नेपालले प्रिमियर कपमा राम्रो प्रदर्शन गर्दै जितेर एसिया कपमा छनोट हुने विश्वास व्यक्त गरे ।
सन्दीप लामिछानेले कप्तानीमा पुनरागमन गरेपछि नेपाली ओडीआई क्रिकेट टोलीको यो पहिलो पटक विदेश भ्रमण गर्न लागेको हो ।
क्यानले प्रिमियर लिगको लागि लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिसकेको छ । एसीसी प्रिमियर कप अगस्ट २९ देखि मलेसियामा सुरु हुनेछ । जहाँ एसियाका १० एसोसिएट टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । विजेता टोलीले आगामी वर्ष हुने ओडीआई फर्म्याटको एसिया कपमा स्थान बनाउनेछ ।
बिदाइ कार्यक्रममा विरेन्द्र बहादुर चन्द, प्रदिप मजगैया, धिरेन्द्र साउद लगायतको उपस्थिति थियो ।
नेपाली टोली : सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल, आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, इसान पाण्डे, गुल्सनकुमार झा, शेर मल्ल, ललितनारायण राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा
प्रतिक्रिया 4