+
+
Shares

टिचिङ अस्पतालको इमरजेन्सीबाहिरै बिरामीको मृत्यु, ‘बेड नपाएको’ भन्दै आफन्तको नाराबाजी

अस्पतालका प्रवक्ता सेढाईंले भने, ‘आकस्मिक कक्षमा त्यसबेला बेड खाली थिएन । चिकित्सकले बेड व्यवस्थापन गर्न केही समय दिन आग्रह गर्नुभएको रहेछ । तर, उहाँहरूले बिरामीलाई केएमसी लैजान्छौं भन्नुभएको रहेछ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १८:२३
Photo Credit : फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि ल्याइएका मोरङका ४५ वर्षीय डोलबहादुर थापाको आकस्मिक कक्षबाहिरै मृत्यु भएको छ ।
  • अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार आकस्मिक कक्षमा बेड खाली नभएकाले चिकित्सकले व्यवस्थापनका लागि केही समय मागेका थिए ।
  • बेडको अभावमा उपचार नपाएपछि आफन्तले बिरामीलाई अर्को अस्पताल लैजान खोज्दा एम्बुलेन्समै बिरामीको मृत्यु भएको हो ।

२९ साउन, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि आएका एक बिरामीको आकस्मिक कक्षबाहिरै मृत्यु भएको छ । मोरङका ४५ वर्षीय डोलबहादुर थापाको शुक्रबार अस्पतालको आकस्मिक कक्षबाहिर एम्बुलेन्समै मृत्यु भएको हो ।

अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार थापा नियमित डायलिसिस गराइरहेका बिरामी थिए । उनलाई स्ट्रोकको समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएको बुझिएको छ ।

अस्पतालका अनुसार, बिरामीका आफन्त आकस्मिक कक्षको ‘रेड एरिया’मा पुगेका थिए । तर, त्यसबेला आकस्मिक कक्षमा बेड खाली नभएकाले केही समय बेड व्यवस्थापनका लागि समय दिन चिकित्सकले आग्रह गरेका थिए ।

आफन्तले भने बिरामीलाई अर्को अस्पताल लैजाने बताएका थिए ।

अस्पतालका प्रवक्ता सेढाईंले भने, ‘आकस्मिक कक्षमा त्यसबेला बेड खाली थिएन । चिकित्सकले बेड व्यवस्थापन गर्न केही समय दिन आग्रह गर्नुभएको रहेछ । तर, उहाँहरूले बिरामीलाई केएमसी लैजान्छौं भन्नुभएको रहेछ ।’

बिरामीलाई एम्बुलेन्समै राखिएको र करिब १०–१५ मिनेटको अवधिमा उनको अवस्था गम्भीर हुँदै मृत्यु भएको बुझिएको छ ।

अस्पताल प्रशासनले भने बिरामीलाई आकस्मिक कक्षभित्र ल्याएर चिकित्सकीय परीक्षण गर्नसमेत नपाइएको जनाएको छ । अस्पतालका प्रवक्ता सेढाईंका अनुसार, एम्बुलेन्समै बिरामीको मृत्यु भएपछि शवलाई आकस्मिक कक्षभित्र ल्याएर चिकित्सकले परीक्षण गर्न आग्रह गरिएको थियो । तर, उक्त प्रक्रिया पूरा हुन नसकेको उनको भनाइ छ ।

‘हामीले शरीरलाई इमरजेन्सीभित्र ल्याइदिनुस्, डेथ हो कि लाइभ हो भनेर चेक गर्छौं भनेका थियौं,’ सेढाईंले भने, ‘तर त्यो गर्न पनि सम्भव भएन ।’

अस्पतालले आकस्मिक कक्षमा बिरामीको चाप अत्यधिक रहेको जनाएको छ । रेड एरिया र येलो एरियासमेत भरिभराउ अवस्थामा रहेकाले नयाँ बिरामीलाई तत्काल राख्ने ठाउँको अभाव हुने गरेको प्रवक्ता सेढाईंको भनाइ छ ।

‘अहिले आकस्मिक कक्षमा धेरै बिरामी छन् । रेड एरिया र येलो एरियामा समेत तत्काल नयाँ बिरामी राख्न सकिने अवस्था छैन,’ उनले भने, ‘हामीले बेड व्यवस्थापन गर्न सक्ने अवस्था हुँदाहुँदै बिरामी एक्सपायर हुनुभयो ।’

बिरामीको मृत्यु भएपछि आफन्तले अस्पतालमा ‘बेड नपाएको कारण’ मृत्यु भएको भन्दै नाराबाजी गरिहेका छन् । अस्पताल प्रशासनले घटनाबारे थप विवरण बुझिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?