+
+
Shares

रात्रिकालीन चरा अवलोकन : निशाचारी पन्छी विज्ञानका लागि ऐतिहासिक विरासत

रात्रिकालीन चरा अवलोकनको निरन्तरताले निशाचर पन्छीहरूको संसार चिन्न अनि आगामी पुस्ताका लागि पर्यावरण तथा संरक्षणका सम्भावनाबारे सचेतना जगाउन प्रेरित गर्नेछ ।

जय भण्डारी जय भण्डारी
२०८३ साउन ३१ गते ११:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा फ्रेन्ड्स अफ बर्ड र आरेन्ड भान रिअसनद्वारा सुरु गरिएको 'आउल नाइट' अभियानले रात्रिकालीन चराहरूको वैज्ञानिक अध्ययनमा नयाँ आयाम थपेको छ।
  • फुल्चोकी, गुर्जे र घट्टेखोला लगायतका क्षेत्रमा गरिएको यस्ता अवलोकनले निशाचर पन्छीहरूको वासस्थान र उचाइगत वितरणबारे महत्त्वपूर्ण वैज्ञानिक तथ्यहरू उजागर गरेका छन्।
  • यस अभियानले चरा विज्ञानको अनुसन्धानसँगै संरक्षण चेतना फैलाउँदै आगामी पुस्तालाई पर्यावरणीय जिम्मेवारीबोध गराउने सांस्कृतिक उत्सवको रूपमा समेत मान्यता पाएको छ।

पृष्ठभूमि

नेपालमा चरा अवलोकन कार्य सामान्यतया दिउँसोको समयमा पूर्वदेखि पश्चिम र दक्षिण–उत्तर वा तराईको समथरदेखि उच्च हिमाली भूभागसम्म गरिने यात्रा वा पदयात्रासँग जोडिँदै आएको छ। तथापि, आउल नाइटका रूपमा गरिने रात्रिकालीन चरा अवलोकनले वैज्ञानिक जिज्ञासा, सांस्कृतिक मूल्यमान्यता र संरक्षणको भावनालाई एकाकार गर्दै गर्दा एउटा विशिष्ट अभ्यासको रूपमा पर्या–पारिस्थितिक तथा पन्छी विज्ञानमा एक नयाँ आयाम सुरु गरेको छ।

यस लेखमा नेपाली चरा अवलोकनकर्ता र चराविद्हरू माझ आउल नाइट चरा अवलोकनको सुरुवातदेखि नै यसको महत्त्व, खोज, अनुसन्धान र निरन्तरताका लागि जोड दिँदै आएको उल्लेख गर्न खोजिएको छ। यसमा विशेषगरी ‘फ्रेन्ड्स अफ बर्ड (एफओबी)’ को अग्रणी प्रयास र आरेन्ड भान रिअसनको चिरस्थायी विरासत प्रस्तुत गर्ने प्रयास गरिएको छ।

काठमाडौँमा आउल नाइटको सुरुवात

काठमाडौँ उपत्यकामा आउल नाइट वा रात्रिकालीन चरा अवलोकनको औपचारिक आरेन्ड भान रिअसन सुरुवात धेरै पहिलेदेखि नै आफ्नो जन्मदिनको अवसर पारेर गर्नुभएको थियो। आरेन्ड भान रिअसन नेपाली मित्र, चरा अवलोकनकर्ता र चराविद्हरूमाझ ‘आरेन्ड दाइ’को रूपमा परिचित हुनुहुन्थ्यो।

आरेन्ड दाइ, उत्साही चरा अवलोकनकर्ता र फ्रेन्ड्स अफ बर्डले सामूहिक रूपमा रात्रिकालीन चरा अवलोकनको अवधारणा, सोच र सम्भाव्यताको अध्ययन गरी यसको अभ्यासलाई नै जोड दिएर अगाडि बढाए; जसले नेपालको पन्छी विज्ञानमा नयाँ मोड ल्याउन सहयोग गर्छ भन्ने कुरामा विश्वस्त बनाएको छ।

यस पङ्क्तिकारको व्यक्तिगत संलग्नता पनि सम्भवतः सुरुवाती चरणदेखि नै हो, तर ठ्याक्कै भन्न सक्दिनँ। लामो छलफल र तयारीपश्चात् फुल्चोकी पहाडलाई छनोट गरी २७ मे २०१२ मा रात र दिन दुवै प्रहर वा समयमा निशाचर र दिवाचर पन्छीहरूको अवलोकन भएको थियो।

त्यो दिनका सहभागीहरूले गोदावरीमा जम्मा भई त्यहीँ रहेको गोदावरी धार्मिक आश्रममा रात बिताएका थिए । त्यहीँबाट आउललगायत अरू निशाचरहरूको कल, त्यस कलको एस्लेरेसन र इन्टरभलको स्टडी गरिएको थियो।

त्यस्तै खालका अन्य आउल नाइटको अवसरमा पनि आवाज सुन्ने, नक्कल वा मिमिक्री गर्ने र गोदावरी तथा फुल्चोकी क्षेत्रको पर्यावरणीय एवं निशाचरी पन्छी विज्ञानका महत्त्वपूर्ण तथ्य र सम्भावनाहरूबारे छलफल भए। अवलोकनका क्रममा ७० प्रजातिका चराहरू देखिएका थिए।

सन् २०१५ को महाभूकम्पले जनजीवन अस्तव्यस्त भए पनि आउल नाइटले निरन्तरता पायो भने २०१६ मा पनि अरू साथीहरू सहभागी भए। २०१८ मा आरेन्ड दाइ आफ्नो देश जानुभयो तर अन्य चरा अवलोकन त निरन्तर नै थिए।

यसले के बुझाउँछ भने, यस्ता खालका निरन्तर अवलोकन यात्राले त्यस क्षेत्रको जैविक वा पर्यावरणीय महत्त्वलाई उजागर गर्न र मजबुत बनाउनमा ठूलो भूमिका खेल्छ। यसरी २०१८ सम्म यस्ता खालका गतिविधि र अभियानहरूले फुल्चोकी हामीबीच वा पन्छी विज्ञानका पारखीहरूका लागि एक निशाचरी विज्ञानको प्रमुख केन्द्रका रूपमा स्थापित भइसकेको थियो।

ती आउल नाइटहरू केवल मनोरञ्जन मात्र नभएर रातको समयको सदुपयोग गरी निशाचारीहरूको पर्यावरणीय समृद्धिलाई स्वीकार्दै चरा अवलोकन, अनुसन्धान र वैज्ञानिक जिज्ञासाहरूको दायरा फराकिलो बनाउने र समुदाय स्तरको सांस्कृतिक सचेततायुक्त उत्सवको समेत प्रतिविम्बित गर्ने प्रयास थियो।

अवलोकन क्षेत्रको विस्तार

अवलोकन क्षेत्रको विस्तार सम्बन्धमा कुरा गर्दा चरालाई माया गर्ने, अवलोकन गर्न रुचाउनेहरू, आरेन्ड दाइ अनि फ्रेन्ड्स अफ बर्डलगायत अन्य उत्साही चराविद्हरूले फुल्चोकीबाहेक काठमाडौँ उपत्यकाभित्र वा बाहिरका क्षेत्रहरू पनि समेट्न सक्यो भने त्यस क्षेत्रको सम्भाव्यताको पनि खोजी गर्न सकिने अवधारणाअनुरूप यस अभियानलाई अन्य स्थानमा विस्तार गर्ने निधो भयो। तदनुसार २५ मे २०१९ मा गुर्जेमा बास बस्ने गरी आउल नाइट अब्जरभेसनको आयोजना गरियो।

अतिरिक्त कथा, अन्ताक्षरी, पजल, ड्रइङ र विभिन्न चराहरूको नक्कल गरी नाच्ने र सहभागीहरूले एक नयाँ अनुभव साटासाट जस्ता क्रियाकलापले त्यो रात अझ भिन्न प्रकृति, पर्यावरण र पन्छीको चरम सामीप्यले असीम रोमाञ्चकताको अनुभूति गराएको थियो।

भोलिपल्ट चरा पारखीहरू गुर्जेभञ्ज्याङ–ककनी फायरलाइनको उपोष्ण र समशीतोष्ण प्रकारका मिश्रित वनमा पाइने कल्की, तोरीगाँडा, हलेसो, कालिज, बाज र कोइलीलगायत ७० प्रजातिका पन्छीहरूको अवलोकन गर्दै ककनी पुगेका थिए। दिउँसोको पैदल यात्रा र रातका अवलोकन र सर्वेक्षण जस्ता क्रियाकलापलाई जोड्दा जैविक संवेदनशिलतालाई ध्यानमा राखी उच्च सतर्कता अपनाई अन्वेषणकर्ताहरूले पनि त्यही मर्मअनुसारको वातावरण कायम राखेका थिए।

यो रफ्तारमा यस्तो बिघ्न आयो कि, सन् २०२० देखि २०२२ सम्म कोभिड–१९ महामारीको चपेटामा संसार च्यापियो। यो बीचमा यस्ता अवलोकन वा अन्वेषणहरू अन्य भागमा विस्तार हुनुको साटो स्थगित हुन पुगे।

महामारी वा प्यान्डेमिकका कारण आउल नाइट मिसनका अब्जरभेसन र अभ्यासमा अवरोध आए तापनि नयाँ ऊर्जाका साथ सुचारु गर्ने साहस जुटाई २३ मे २०२३ मा पुल्चोकीमा आउल नाइटकै मर्मलाई नै अगाडि लगियो। त्यो बेला १०० प्रजातिको अवलोकन भएको थियो।

त्यसरी नै १८ फेब्रुअरी २०२४ मा घट्टेखोलाबाट पुनः सुचारु गरियो। घट्टेखोलामा भएको अब्जरभेसन कार्य भने आरेन्ड दाइको नाजुक स्वास्थ्य अवस्थाका कारण साँझको लागि मात्र तय गरिएको थियो। त्यो बेला पनि ४० प्रजातिका चराको अभिलेख भएको थियो।

७ जुलाइ २०२४ मा यस अभियानका प्रेरणादायी र मुख्य व्यक्ति आरेन्ड दाइको असामयिक निधन भएकोले उहाँबिना नै सन् २०२५ मा सोही घट्टेखोलामा आउल नाइटको सट्टा आउल इभिनिङको आयोजना गरियो। केवल साँझको समयभित्र मात्र भए तापनि उल्लेखनीय र अत्यन्त महत्त्वपूर्ण रहेको थियो भने २०२४ कै हाराहारीमा लगभग ४५ प्रजातिको अभिलेख भएको थियो।

यी विभिन्न समयका अवलोकन र अन्वेषणहरूबाट लिइएका स्थानीय वा हिउँदे वा ग्रीष्मकालीन आगन्तुक चराहरूको अभिलेख पनि राख्नु पन्छी विज्ञानका लागि एक महत्त्वपूर्ण उपलब्धि थियो।

सबैभन्दा अनौठो र अविश्वसनीय कुरो त के भने, पुल्चोकी मन्दिर नजिकै सम्भवतः २७५० को उचाइमा उष्ण प्रदेशीय प्रजाति जङ्गल ब्याब्लर फेला पर्नु थियो। यस खोजले चराहरूको भौगोलिक वितरण र उचाइगत सीमासम्बन्धी अध्ययन वा पुराना मान्यताहरूलाई चुनौती दिएको कुरा यस्तै खाले आउल नाइटलगायत अन्य नियमित अवलोकनले यस्तै खाले पर्यावरणीय आश्चर्यहरू उजागर गर्न र भ्रम चिर्न सक्छ भन्ने कुरा प्रमाणित गर्‍यो।

यस्ता रात्रिकालीन अवलोकन, सर्वेक्षण र आउल नाइटका खोजहरूले दिउँसोको सर्वेक्षण वा अनुसन्धानहरूमा छुटेका वैज्ञानिक तथ्यहरूलाई लिपिबद्ध गर्न ठूलो भूमिका खेल्छन् ।

निरन्तरता र विरासत

सन् २०२३ र २०२४ वर्षहरूमा पनि व्यक्तिगत र सामूहिक दुवै रूपमा जागृत भई आउल नाइट वा रात्रि पन्छी अवलोकनलाई फुल्चोकी र घट्टेखोलामा आयोजना गरी पुनर्जीवन र गति दिइएको थियो।

यस अवधिमा आउल नाइट, रात्रिकालीन चरा अवलोकनबाट सन्ध्याकालीन अवलोकन कार्यक्रम आरेन्ड दायकै नेतृत्व र मार्गदर्शनमा अघि बढिरह्यो, उहाँको साथ र सहभागिता पनि त्यत्तिकै सबल रह्यो। उहाँको जीवनशेषपछि पनि चरा पारखीहरू चुप लागेर रहन सकेनन् । उनीहरूले आरेन्ड दाइलाई गुमाउनुको पीडा एउटा कुनामा दबाएर शोकलाई शक्तिमा रूपान्तरण गरी उहाँको विरासतलाई निरन्तरता दिने प्रण गरे ।

प्रेरणास्वरूप आउँदो पुस्तालाई हस्तान्तरण गर्दै जाने अवधारणाको विकास गर्ने, निरन्तरता दिने, पन्छी र वातावरण तथा त्यसको संरक्षणका लागि सम्झौताहीन कदम बढाउँदै सम्झना र सम्मानस्वरूप २५ जुन २०२५ का दिन घट्टेखोलामा सन्ध्याकालीन आउल अवलोकन र श्रद्धाञ्जली कार्यक्रमको आयोजना भयो।

यसको निरन्तरता सन् २०२६ मा पनि कायम रह्यो। ललितजङ्ग लालचन, विमलकुमार थापा, राम राज र यो पङ्क्तिकार सहितको सानो समूहले २६ मेका दिन मुड्खु–स्वनागाउँको बाटो तय गरे र त्यस साँझ ढल्किँदै गरेको रातमा उल्लुको चाल र आवाजको खोज र अर्को बिहान त्यस क्षेत्रका अन्य चराहरूको अवलोकन भयो ।

त्यसले रात्रिकालीन चरा अवलोकनले संस्कृतिको विकासमा इँटा थप्नुका साथै वैज्ञानिक अभ्यास र सांस्कृतिक परम्पराका रूपमा अगाडि बढाउन आगामी पुस्तालाई प्रेरित गर्ने सुनिश्चितता गरेको प्रमाणित गरेको छ भन्दा अतिशयोक्ति नहोला।

आउल नाइट वा रात्रिकालीन चरा अवलोकनको महत्त्व

वैज्ञानिक मूल्य

रात्रिकालीन चराहरूको अन्वेषणले परोक्ष वा अपरोक्ष रूपमा चरा विज्ञानसम्बन्धी ज्ञानलाई फराकिलो बनाउँछ। चराहरूको सक्रिय रहने समय, उचाइगत दायरा र पर्यावरणीय अनुकूलता वा पर्यापारिस्थितिक अवस्थाको अध्ययन र अभिलेख राख्न सहयोग गर्छ।

अवलोकनबाट साँझ र रातमा सक्रिय ब्राउन फिस आउल, ब्राउन वुड आउल, माउन्टेन स्कोप्स आउल, नाइटजार्स, वनकुखुरा, कोइली, लाहाचे, तित्रा, पहाडी हलेसो, फिस्टा, तितु र मुनाल, तराईमा पाइने जङ्गल ब्याब्लरलगायत २५० भन्दा बढी चरा प्रजाति अभिलेख भएका छन्। यो पन्छी विज्ञानको दृष्टिमा एक महत्त्वपूर्ण वैज्ञानिक अनुसन्धानको आधार भएको तथ्यलाई उजागर गर्छ।

लाटोकोसेरोको आवाजसम्बन्धी ज्ञान

रात्रिकालीन हुचिल, उल्लु र निशाचर चराहरूको आवाज सुन्ने र सङ्केत बुझ्ने क्रममा तिनीहरूको ध्वनि तथा बोलीको अन्तराल र गतिसम्बन्धी अध्ययनको आवश्यकता र महत्त्वलाई मध्यनजर लगाउँदा अवलोकन र अनुसन्धानकर्ताको लागि यसको ज्ञान अति आवश्यक छ, जसले अनुसन्धानलाई सहज र सरल बनाउँछ। सहभागीबाट प्रयोगात्मक अभ्यासहरूद्वारा ज्ञान आर्जन गर्ने काम पनि भए।

सांस्कृतिक आयाम

विशेष स्मृति वा उत्सवका अवसरहरूमा आयोजना गरिने हुनाले यस्ता आउल नाइटले चराविद्, अवलोकनकर्ता र समुदायबीचको सम्बन्धलाई प्रगाढ बनाउँछ र नयाँ पुस्तामा चराहरू र तिनको संरक्षणका मूल्यहरू विस्तार गर्छ वा हस्तान्तरण गर्छ। यो एक चरा विज्ञानसम्बन्धी अनुसन्धानको आयाम जत्तिकै समाजप्रतिको सांस्कृतिक अनुष्ठान पनि हो।

संरक्षण चेतना

सहभागी अन्वेषण र अवलोकनकर्ताहरूलाई रात्रिकालीन अन्वेषणमा संलग्न गराएर आउल नाइटले पारिस्थितिक प्रणालीको संवेदनशिलता र निशाचरी प्रजातिहरूलाई समेत समेट्ने समग्र संरक्षण रणनीति निर्माणको आवश्यकतामा जोड दिन्छ। यसले दिउँसोलगायत रात्रिकालीन जैविक विविधताप्रति सजगता र प्रेरणा जगाउँदै व्यापक पर्यावरणीय जिम्मेवारी बोध र वहन गर्न सिकाउँछ।

निष्कर्ष

नेपालमा आउल नाइट वा रात्रि चरा अवलोकन विज्ञान, संस्कृति र संरक्षणको सुन्दर संयोजनको उत्कृष्ट उदाहरण हुन सक्छ। फ्रेन्ड्स अफ बर्ड र आरेन्ड दाइद्वारा सुरु गरिएको रात्रिकालीन अवलोकन र अन्वेषण, समर्पित अवलोकनकर्ता र साथीहरूको प्रतिबद्धता र सक्रिय सहभागिताले धानेको यो अभियान अहिले पन्छी वैज्ञानिक अभ्यास मात्र नभएर एक अमूल्य विरासत बन्न सकेको छ।

यस रात्रिकालीन चरा अवलोकनको निरन्तरताले समाजलाई उज्यालोलगायत निशाचर पन्छीहरूको संसारलाई चिन्न र आगामी पुस्ताका लागि पर्यावरण तथा संरक्षणका सम्भावनाबारे सचेतना जगाउन निरन्तर प्रेरित गरिरहने छ।

सन्दर्भ सामग्री

• फ्रेन्ड्स अफ बर्ड (एफओबी): को काठमाडौँ उपत्यकामा भएका आउल नाइट वा रात्रिकालीन चरा अवलोकन गतिविधिको अप्रकाशित अभिलेख (२०१२ देखि २०२६ सम्म)।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?