News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेनका फरवार्ड फेरान टोरेस ५ करोड युरोमा बार्सिलोनाबाट फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध भएका छन्।
- २६ वर्षीय टोरेसले पीएसजीसँग सन् २०३१ सम्मका लागि सम्झौता गरेका छन् र उनले पूर्वप्रशिक्षक लुइस एनरिकेसँग पुनः काम गर्नेछन्।
- गत महिना अर्जेन्टिनाविरुद्ध निर्णायक गोल गर्दै टोरेसले स्पेनलाई दोस्रोपटक विश्वकप उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
३० साउन, काठमाडौं । विश्वकप फाइनलमा स्पेनका लागि विजयी गोल गरेका फेरान टोरेस बार्सिलोनाबाट फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध भएका छन् ।
२६ वर्षीय टोरेसले पीएसजीसँग सन् २०३१ सम्मको सम्झौता गरेका छन् । उनको स्थानान्तरणका लागि पीएसजीले करिब ५ करोड युरो (४ करोड २७ लाख पाउन्ड) खर्च गरेको बताइएको छ ।
गत महिना अर्जेन्टिनाविरुद्ध अतिरिक्त समयमा निर्णायक गोल गर्दै टोरेसले स्पेनलाई दोस्रोपटक पुरुष विश्वकपको उपाधि दिलाएका थिए । बार्सिलोनामा पनि उनले पछिल्लो सिजन उत्कृष्ट प्रदर्शन गरेका थिए ।
उनले सबै प्रतियोगितामा ४९ खेल खेल्दै २१ गोल र तीन असिस्ट गरेका थिए । उनको प्रदर्शनमा बार्सिलोनाले ला लिगाको उपाधिसमेत जितेको थियो ।
टोरेसले पीएसजीमा पूर्वबार्सिलोना खेलाडी तथा प्रशिक्षक लुइस एनरिकेसँग पुनः काम गर्नेछन् । एनरिकेको नेतृत्वमा पीएसजीले पछिल्ला दुई सिजन लगातार च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
टोरेस यो सिजन पीएसजीमा अनुबन्ध हुने दोस्रो चर्चित फरवार्ड हुन् । यसअघि क्लबले मोनाकोबाट माघ्नेस अक्लिउसलाई भित्र्याएको थियो ।
पीएसजीले बुधबार एस्टन भिल्लालाई २–१ ले पराजित गर्दै यूईएफए सुपर कपको उपाधिसमेत जितेको थियो ।
सन् २०२२ मा बार्सिलोना पुगेका टोरेसले त्यसअघि दुई वर्ष म्यानचेस्टर सिटीमा बिताएका थिए । उनले स्पेनका लागि ६५ खेलमा २५ गोल गरेका छन् । राष्ट्रिय टोलीमा उनको डेब्यु तत्कालीन प्रशिक्षक एनरिकेकै नेतृत्वमा भएको थियो ।
यसैबीच, पीएसजीका फरवार्ड ब्राडली बार्कोलालाई लिभरपुलले भित्र्याउन चासो देखाइरहेको छ ।
प्रतिक्रिया 4