+

बुढानीलकण्ठमा क्रिकेट एरेना एकेडेमीको उद्घाटन

२०८३ साउन  ३० गते २०:०३ २०८३ साउन ३० गते २०:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–८ मा क्रिकेट र चेस प्रशिक्षणका लागि 'क्रिकेट एरेना एकेडेमी' को औपचारिक उद्घाटन गरिएको छ ।
  • नगर प्रमुख मिठाराम अधिकारीले उद्घाटन गरेको उक्त एकेडेमीमा ग्रासरुट तहबाटै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्य राखिएको सञ्चालक रुपक अर्यालले बताए ।
  • पूर्वराष्ट्रिय क्रिकेटर प्रदीप गुरुङले प्रशिक्षण दिने यस एकेडेमीमा हाल १० जना खेलाडीले अभ्यास गरिरहेका छन् ।

३० साउन, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा क्रिकेट एरेना एकेडेमीको औपचारिक उद्घाटन भएको छ ।

बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले शनिबार आयोजित कार्यक्रममा एकेडेमीको शुभारम्भ गरेका हुन् । ‘क्रिकेट एरेना : स्कुल अफ क्रिकेट, स्कुल अफ चेस’ नाम दिइएको एकेडेमीमा क्रिकेटसँगै चेसको प्रशिक्षण दिइनेछ ।

बुढानीलकण्ठ नगरपालिका–८ तल्लो भंगालस्थित ओमनगर समाजमा रहेको एकेडेमी करिब साढे ३ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमीमा क्रिकेटका लागि दुईवटा इन्डोर नेटसँगै खुला क्रिकेट मैदान निर्माण गरिएको छ । मैदानमा स्ट्यान्डर्ड पिचसमेत निर्माण गरिएको सञ्चालक रुपक अर्यालले जानकारी दिए । उनका अनुसार मैदानमा एक टिममा आठ खेलाडी राखेर खेल्न सकिनेछ ।

पछिल्लो समय क्रिकेटप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै ग्रासरुट तहबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले एकेडेमी सञ्चालनमा ल्याइएको अर्यालले बताए ।

‘बच्चाहरूलाई खेल मात्र नभई मानसिक विकासका लागि पनि क्रिकेट र चेसको प्रशिक्षण दिने उद्देश्यले एकेडेमी सञ्चालनमा ल्याएका छौँ,’ उनले भने ।

हाल एकेडेमीमा १० जना खेलाडीले प्रशिक्षण लिइरहेका छन् । आगामी दिनमा ४० देखि ५० जनासम्मलाई प्रशिक्षण दिने लक्ष्य राखिएको अर्यालले बताए । त्यसका लागि प्रवेश खुला गरिने र सातामा तीन दिन तथा छ दिन प्रशिक्षण लिन सकिने व्यवस्था गरिएको उनले जानकारी दिए । प्रशिक्षणमा भर्ना हुने खेलाडीलाई क्रिकेट ब्याट र टिसर्टसमेत उपलब्ध गराइनेछ ।

एकेडेमीमा पूर्वराष्ट्रिय क्रिकेटर प्रदीप गुरुङले प्रशिक्षण दिनेछन् । राष्ट्रियस्तरका प्रतियोगिता खेलिसकेका गुरुङ बालुवाटार क्रिकेट क्लबका पूर्वखेलाडीसमेत हुन् ।

एकेडेमीको उद्घाटन गर्दै नगर प्रमुख अधिकारीले क्रिकेटका एकेडेमी सञ्चालनमा आउनु खुशी र गौरवको विषय भएको बताए । उनले एकेडेमीबाट भविष्यमा राष्ट्रियस्तरका खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे ।

अधिकारीले क्रिकेटले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै पछिल्लो समय युवापुस्तामा क्रिकेटप्रति आकर्षण बढ्दै गएको बताए । बुढानीलकण्ठ नगरपालिकाले क्रिकेटलगायत विभिन्न खेललाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै उनले नयाँ क्रिकेट एकेडेमीको स्थापनाले स्थानीय खेलकुद विकासमा थप योगदान पुग्ने बताए।

क्रिकेट एरेना एकेडेमी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय