News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले लालकिल्लाबाट \'विकसित भारत\' बनाउन सात प्रकारको \'शक्तिको सप्तधारा\' सार्वजनिक गरेका छन् ।
- मोदीले प्रतियोगी परीक्षाहरूका लागि युवाहरूलाई नि:शुल्क अनलाइन कोचिङ उपलब्ध गराउने र सन् २०३६ को ओलम्पिक आयोजनाका लागि दाबेदारी प्रस्तुत गर्ने घोषणा गरेका छन् ।
- उनले सशस्त्र नक्सलवाद अन्त्य भएको दाबी गर्दै हिंसा र अराजकता फैलाउने \'दिमागी नक्सलवादी\'लाई पहिचान गरी समाजबाट अलग गर्नुपर्नेमा जोड दिएका छन् ।
३१ साउन, काठमाडौं । भारतको ८० औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार १३औँ पटक लालकिल्लाको प्राचीरबाट राष्ट्रिय झण्डा फहराए । करिब सवा घण्टा लामो सम्बोधनमा मोदीले आफ्नो सरकारका उपलब्धिहरूको चर्चा गर्दै भविष्यका नीतिसँग सम्बन्धित नयाँ घोषणा गरे ।
उनले उत्पादन, रक्षा सामग्री उत्पादन र विद्युत् उत्पादन बढाउन जोड दिए । साथै, देशमा सेमिकन्डक्टर उद्योग र आणविक ऊर्जालाई प्रवर्द्धन गर्ने घोषणा गरे । उनले ‘भारतलाई सशस्त्र नक्सलवादबाट मुक्त’ गर्न सफलता हासिल भएको दाबी पनि गरे । विश्व बजारमा मलको संकट भए पनि किसानलाई सस्तोमा मल उपलब्ध गराइएको उनले बताए ।
मोदीले लालकिल्लाबाट सरकारको नयाँ दृष्टिकोणका रूपमा ‘शक्तिको सप्तधारा’ पनि घोषणा गरे ।
‘सप्तधारा’ के हो ?
‘सप्तधारा’ अन्तर्गत प्रधानमन्त्री मोदीले सात प्रकारका ‘शक्ति’को चर्चा गरेका छन् । उनका अनुसार यी शक्तिले ‘विकसित भारत’ र ‘आत्मनिर्भर भारत’ निर्माणको लक्ष्य हासिल गर्न सहयोग गर्नेछन् ।
मोदीले भने, ‘म आज त्यो युगलाई पनि सम्झन चाहन्छु, जब भारतको सामर्थ्यलाई सप्तसिन्धुको रूपमा चिनिन्थ्यो, बुझिन्थ्यो र सुनिन्थ्यो । विकसित भारत बनाउन हामीलाई नयाँ धारा आवश्यक छ । आज लालकिल्लाको प्राचीरबाट म देशसामु शक्तिको यस सप्तधाराको आह्वान गर्छु । आगामी ५–७ वर्षमा, जुन कुरा पछिल्ला ५–७ दशकमा हुन सकेन, सप्तधाराको सामर्थ्य र शक्तिबाट हामी देशलाई नयाँ उचाइ र नयाँ गति दिनेछौँ तथा नयाँ लक्ष्य पार गर्ने क्षमता विकास गर्नेछौँ ।’
उनले उत्पादन क्षमता (म्यानुफ्याक्चरिङ पावर) लाई ‘सप्तधारा’को पहिलो शक्ति बताए । मोदीका अनुसार डिजाइनदेखि उत्पादनसम्म भारत विश्वव्यापी आपूर्ति शृंखलाको भरपर्दो केन्द्र बन्नुपर्छ । मूल्य, गुणस्तर र उत्पादनको स्तरमा भारतले विश्वव्यापी मापदण्ड पूरा गर्नुपर्ने पनि उनले बताए ।
कृषि तथा खाद्य उत्पादनलाई उनले सप्तधाराको दोस्रो शक्ति बताए । उनले स्वतन्त्र व्यापार सम्झौताका कारण भारतले ठूलो बजार प्राप्त गरेको उल्लेख गरे ।
एआई र डेटा सेन्टरमा जोड
मोदीले प्रविधि तथा नवप्रवर्तनलाई सप्तधाराको तेस्रो शक्ति बताए । यसअन्तर्गत कृत्रिम बुद्धिमत्ता (एआई), अन्तरिक्ष र डेटा सेन्टरका क्षेत्रमा नेतृत्व गर्ने लक्ष्य उनले अघि सारे ।
सप्तधाराको चौथो शक्तिलाई उनले ‘गतिशक्ति’ नाम दिए । यसअन्तर्गत सहरहरूलाई उच्च गतिको रेलमार्फत जोड्ने, आधुनिक राजमार्ग निर्माण गर्ने तथा बन्दरगाहको विकास गर्ने योजना उनले सुनाए ।
रक्षा क्षेत्रमा उत्पादन बढेको उल्लेख गर्दै मोदीले ‘रक्षा शक्ति’लाई सप्तधाराको पाँचौँ शक्ति बताए ।
हरित अर्थतन्त्र र नीलो अर्थतन्त्रलाई उनले सप्तधाराको छैटौँ शक्ति बताए । भारतले हरित हाइड्रोजन, नवीकरणीय ऊर्जा, ऊर्जा भण्डारण, हरित यातायात र हरित उत्पादनमा विश्वस्तरीय क्षमता विकास गर्नुपर्ने उनले बताए ।
यसका साथै माछापालन तथा तटीय पर्यटनलाई प्रवर्द्धन गर्ने विषयमा पनि उनले जोड दिए ।
भारतको ‘सफ्ट पावर’ सातौँ शक्ति
मोदीले ‘भारतको सफ्ट पावर’लाई सप्तधाराको अन्तिम तथा सातौँ शक्ति बताए ।
उनले भने, ‘हस्तकला होस्, संस्कृति होस्, हाम्रा फिल्म हुन्, हाम्रो सिर्जनात्मक संसार होस्, भीएफएक्स होस्, एनिमेसन होस्, गेमिङ होस् वा डिजिटल सामग्री सिर्जनात्मक संसारमा भारतले आफ्नो प्रभाव देखाउन सक्छ ।’
विद्यार्थीलाई नि:शुल्क कोचिङ
देशको शिक्षा प्रणालीप्रति असन्तुष्टि व्यक्त गर्दै विद्यार्थीहरूले पछिल्लो समय गरेका आन्दोलनको पृष्ठभूमिमा केन्द्र मोदी नेतृत्वको वर्तमान सरकारले प्रतियोगितात्मक परीक्षाका लागि नि:शुल्क कोचिङ उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रधानमन्त्री मोदीले लालकिल्लाबाट भने, ‘परिवारमाथि आर्थिक बोझ नपरोस् भनेर हामीले युवाका लागि विभिन्न परीक्षाको नि:शुल्क अनलाइन कोचिङ सञ्चालन गर्ने निर्णय गरेका छौँ । डिजिटल सार्वजनिक पूर्वाधार हामीसँग छ, उत्कृष्ट प्रतिभा र शिक्षकहरू छन् । यी सबै स्रोतलाई जोडेर देशका युवालाई नि:शुल्क कोचिङ दिने एउटा पूर्ण सञ्जाल निर्माण गर्न लागेका छौँ ।’
सशस्त्र नक्सलवादपछि ‘दिमागी नक्सल’
नक्सलवादविरुद्ध सरकारको रणनीतिको चर्चा गर्दै मोदीले भने, ‘नक्सलवाद’ र ‘माओवाद’ले लाखौँ युवाको भविष्य बर्बाद गरेको जिकिर गरे ।
नक्सलवादसँग जोडिएको नयाँ शब्दावली प्रयोग गर्दै उनले भने, ‘हतियार बोकेका नक्सलवादी त गइसके, तर दिमागी नक्सलवादी भने अवसरको खोजीमा छन् । उनीहरू हिंसा र अराजकताका बाटो खोजिरहेका छन् । समाजलाई गलत दिशामा तान्न विभिन्न चाल चलिरहेका छन् । यी दिमागी नक्सलवादीलाई पहिचान गर्नुपर्छ । उनीहरूलाई अलग्याउनुपर्छ र देशलाई विकसित राष्ट्र बनाउने मूलधारमा युवा पुस्तालाई जोड्नुपर्छ ।’
यसअघि पनि मोदीले ‘अर्बन नक्सल’ र ‘खान मार्केट ग्याङ’ जस्ता शब्दावली प्रयोग गर्दै आएका छन् ।
सन् २०३६ को ओलम्पिक आयोजनाका लागि दाबेदारी
भारत सरकारले सन् २०३६ मा गुजरातमा ओलम्पिक खेलकुद आयोजना गर्न चाहेको छ । ८० औं स्वतन्त्रता दिवसको समारोहमा पनि प्रधानमन्त्री मोदीले त्यसबारे बोले ।
लालकिल्लाबाट मोदीले भने, ‘हामी सन् २०३६ को ओलम्पिकका लागि बलियो दाबेदारका रूपमा अगाडि बढिरहेका छौँ । सन् २०३० मा कमनवेल्थ गेम्स पनि भारतले आयोजना गर्नेछ ।’
मोदीले युवाहरूलाई पछिल्ला वर्षमा भारतीय सहभागिता कम देखिएका खेलमा पनि सहभागी हुन आह्वान गरे । उनले भने, ‘ओलम्पिकमा करिब ४० प्रकारका खेल हुन्छन् र करिब ३२५ देखि ३५० स्पर्धा हुन्छन् । भारत दुई तिहाइ खेलमा कतै पनि हुँदैन ।’
यस्ता प्रतिस्पर्धामा भारतको सहभागिता बढाउन देशव्यापी प्रतिभा खोजी अभियान (ट्यालेन्ट हन्ट) सञ्चालन गरिने उनले बताए ।
त्यसअन्तर्गत ५ देखि १५ वर्ष उमेर समूहका प्रतिभालाई विशेष प्रशिक्षण दिएर उत्कृष्ट खेलाडी बनाउने योजना अघि सारिएको जानकारी मोदीले दिए ।
प्रतिक्रिया 4