+
ईस्पोर्ट्स विश्वकप :

पब्जी मोबाइल विश्वकपमा होरा आठौं, जित्यो झन्डै दुई करोड पुरस्कार

२०८३ साउन  ३१ गते २१:२० २०८३ साउन ३१ गते २१:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फ्रान्सको पेरिसमा आयोजित पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्सले कुल १०९ अंक जोड्दै आठौं स्थान हासिल गरेको छ ।
  • अन्तिम दिनको उत्कृष्ट प्रदर्शनका कारण होरा ईस्पोर्ट्सले आठौं स्थान सुरक्षित गर्दै ७० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ ।
  • समूह चरणमा चौथो स्थान हासिल गर्दै ग्रान्ड फिनालेमा प्रवेश गरेको नेपाली टोली होरा ईस्पोर्ट्सले अघिल्लो संस्करणमा नवौं स्थान हात पारेको थियो ।

३१ साउन, काठमाडौं । फ्रान्सको पेरिसमा भएको ईस्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्सले आठौं स्थान हासिल गरेको छ ।

फाइनलको अन्तिम दिन स्म्याश रुल लागु भएको थियो तर खेलको नतिजा टुङ्गो लाग्न भने अन्तिम खेलसम्म कुर्नुपर्‍यो । होराले १८ खेलमा कुल १०९ अंक जोडेर आठौं स्थान हासिल गरेको हो ।

आठौं स्थानमा फिनिस गरेसँगै होराले कुल १ लाख २७ हजार ५०० अमेरिकी डलर पुरस्कार जितेको छ । समूह चरणमा ५७ हजार ५०० डलर पुरस्कार जितेको होराले फाइनलमा ७० हजार अमेरिकी डलर पुरस्कार जित्यो ।

१ लाख २७ हजार अमेरिकी डलरको नेपाली मूल्य आजको दर अनुसार करिब १ करोड ९४ लाख ३१ हजार नेपाली रुपैयाँ हुन आउँछ ।

फाइनलको पहिलो दिन ४ खेलमा १९ अंक जोडेको होराले दोस्रो दिन ८ खेलमा ३९ अंक जोडेको थियो । तेस्रो दिनमा होराले राम्रो प्रदर्शन गर्दै ५१ अंक जोड्यो ।

होराले तेस्रो दिनको पहिलो खेलमा कुनै अंक जोड्न सकेन । दोस्रो र तेस्रो खेलमा होराले शानदार प्रदर्शन गर्दै क्रमश: २१ र १४ अंक जोडेको थियो । चौथो खेलमा होरालाई जोनले साथ नदिँदा १ अंक मात्र जोड्न सक्यो । पाँचौं खेलमा ४ अंक मात्र जोडेको होराले छैटौं खेलमा ११ अंक जोड्यो ।

होराले पहिलो दिन पहिलो खेलमा ६ अंक जोडेको थियो भने दोस्रो खेलमा ५ किल र ५ प्लेसमेन्ट अंकसहित कुल १० अंक जोडेको थियो । तेस्रो खेलमा २ किल र १ प्लेसमेन्ट अंकसहित ३ अंक जोडेको होराले चौथो खेलमा कुनै अंक जोड्न सकेन ।

दोस्रो दिन पहिलो खेलमा ५ किल र २ प्लेसमेन्ट अंकसहित ७ अंक जोडेको होराले दोस्रो खेलमा ८ किल र ७ प्लेसमेन्ट अंकसहित १५ अंक जोड्यो । तेस्रो खेलमा ६ अंक जोडेको होराका लागि चौथोदेखि सातौं खेल राम्रो रहन सकेन ।

होराले चौथो खेलमा खाता नै खोल्न सकेन । पाँचौं र छैटौं खेलमा १-१ अंक जोडेको होराले सातौं खेलमा ३ अंक जोड्यो । दोस्रो दिनको अन्तिम खेलमा होराले ६ अंक जोड्दै समग्रमा १२ खेलमा ५८ अंकका साथ ११औं स्थानमा रहेको थियो ।

होरा समूह चरणबाट सोझै ग्रान्ड फिनालेमा प्रवेश गरेको थियो । गत आइतबार सम्पन्न समूह चरणका खेलहरूपछि समूह ‘बी’ का १६ टिमहरूमध्ये शीर्ष ५ मा पर्दै होरा सोझै फाइनलमा पुगेको थियो ।

सो क्रममा होराले एक चिकेन डिनरसहित कुल ९८ अंकका साथ चौथो स्थानमा फिनिस गर्दै फाइनल पुगेको थियो ।

आफ्नो समूहमा चौथो भएको होराले ५७ हजार ५०० पुरस्कार यसअघि नै पक्का गरेको थियो ।  ग्रान्ड फिनालेको विजेता टोली टर्कीको एसटुजी ईस्पोर्ट्सले ५ लाख अमेरिकी डलर पुरस्कार पाएको छ ।

पब्जी मोबाइलको ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्ने १६ वटै टोलीले नगद पुरस्कार पाउनेछन् । जसमा च्याम्पियन बन्ने टोलीले ५ लाख अमेरिकी डलर प्राप्त गर्नेछ र उपविजेताले २ लाख ५० हजार डलर र तेस्रो हुनेले १ लाख ५० हजार डलर हात पार्नेछ ।

यस्तै चौथोले १ लाख २० हजार डलर, पाँचौले १ लाख डलर, छैटौंले ९० हजार डलर, सातौंले ८० र आठौंले ७० हजार डलर प्राप्त गर्नेछन् । नवौ देखि १६औं सम्म हुनेले क्रमश: ६० हजार, ५५ हजार, ५० हजार, ४५ हजार, ४० हजार, ३५ हजार, ३० हजार र २५ हजार डलर पाउनेछन्

यसअघि गत संस्करणको विश्वकपमा होरा नवौं भएर १ लाख २७ हजार ५०० अमेरिकी डलर पुरस्कार जितेको थियो ।

ईस्पोर्ट्स विश्वकप पब्जी मोबाइल विश्वकप होरा ईस्पोर्ट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय