+

पल्सर स्पोर्ट्स अवार्ड : पिपल्स च्वाइसको मनोनयन सार्वजनिक, मीना सुनारदेखि रविन्द्र ढाँटसम्म

२०८३ साउन  ३१ गते १६:१५ २०८३ साउन ३१ गते १६:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल खेलकुद पत्रकार मञ्चले २३औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ अन्तर्गत पिपल्स च्वाइस विधाका लागि पाँच खेलाडीको मनोनयन सार्वजनिक गरेको छ ।
  • मनोनयनमा मीना सुनार, पूजा राना, सानुमाया थिङ, शेर मल्ल र रविन्द्र ढाँट अटाएका छन् भने विजेता चयनका लागि खल्ती बाई आईएमईसँग सहकार्य गरिएको छ ।
  • कुल नौ विधामा प्रदान गरिने यस अवार्ड कार्यक्रम आगामी भदौ १८ गते आयोजना हुनेछ र विजेताले पल्सर मोटरसाइकलसहित विभिन्न पुरस्कार प्राप्त गर्नेछन् ।

३१ साउन, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आगामी भदौ १८ गते आयोजना गर्ने २३औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२’ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरेको छ ।

मञ्चले पिपल्स च्वाइस विधाका लागि भलिबलकी मीना सुनार, फुटबलकी पूजा राना, करातेकी सानुमाया थिङ, क्रिकेटका शेर मल्ल र मिक्स मार्सल आर्ट्सका रविन्द्र ढाँटलाई मनोनयनमा राखेको हो ।

पिपल्स च्वाइस विधाको भोटिङ पार्टनरका रूपमा मञ्चले यस वर्ष पनि ‘खल्ती बाई आईएमई’सँग सहकार्य गरेको छ । मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र खल्ती बाई आईएमईकी म्यानेजर पूजा धामीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

पिपल्स च्वाइसको विजेता मञ्चसँग आबद्ध खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक, खेलकुद पत्रकार मञ्चका सदस्य, सामाजिक सञ्जालका समर्थक तथा खल्तीमार्फत प्राप्त मतका आधारमा चयन हुनेछ । कुल मतभारमा खल्तीको ५० प्रतिशत तथा फेसबुक, राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र मञ्चका सदस्यको ५० प्रतिशत मतभार रहनेछ ।

फेसबुकमार्फत मतदान गर्दा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड र पल्सर नेपालको आधिकारिक फेसबुक पेजबाट गर्नुपर्नेछ । यस विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् ।

पिपल्स च्वाइसमा मनोनयनमा परेकी मीना सुनार नेपाली महिला भलिबलकी उदीयमान खेलाडी हुन् । शक्तिशाली स्पाइकरका रूपमा परिचित उनले काभा महिला च्याम्पियनसिपमा नेपालका लागि उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । नेपाल पुलिस क्लबबाट काभा महिला क्लब च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेकी उनी एभरेस्ट भलिबल क्लब बुटवलकी कप्तानसमेत हुन् । उनले काभा यू–१९ महिला भलिबल च्याम्पियनसिपमा नेपाललाई उपविजेता तथा काभा यू–२० च्याम्पियनसिपमा तेस्रो स्थान दिलाउन योगदान गरेकी थिइन् ।

फुटबलकी पूजा रानाले एसियन कप छनोटमा उज्वेकिस्तानमा प्रभावशाली प्रदर्शन गरेकी थिइन् । उनले विदेशमा समेत व्यावसायिक फुटबल खेल्दै भुटानको ट्रान्सफर युनाइटेड तथा बंगलादेशका फरासगन्ज एफसी र नासरिन स्पोर्ट्स एकेडेमीसँग आबद्ध भएर खेलिसकेकी छन् ।

करातेकी सानुमाया थिङले विश्व कराते च्याम्पियनसिपमा छनोट चरण पार गर्दै कायरोमा प्रतिस्पर्धा गरेकी थिइन् । उनले २१औं एसियन कराते च्याम्पियनसिपमा कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नुका साथै दक्षिण एसियाली कराते च्याम्पियनसिपमा टिम कातामा स्वर्ण र एकल कातामा रजत जितेकी थिइन् । यूकेकेसी वान अल्टिमेट काता तथा कुमिते च्यालेन्जमा पनि उनले स्वर्ण जितेकी छन् ।

क्रिकेटका शेर मल्लले आईसीसी टी–२० विश्वकपमा डेब्यू खेलमै पहिलो बलमा विकेट लिएर चर्चा बटुलेका थिए । मलेसियामा भएको एसियन गेम्स क्वालिफायरमा हङकङविरुद्ध चार तथा मलेसियाविरुद्ध तीन विकेट लिएका उनले नेपाल प्रिमियर लिगको पहिलो र दोस्रो दुवै संस्करणमा च्याम्पियन टोलीका सदस्यका रूपमा उपाधि जितेका छन् ।

पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्सबाट खेलेका मल्लले एनपीएलका १० खेलमा १७ विकेट लिएका थिए । उनको कप्तानीमा सुदूरपश्चिम प्रदेश गत सिजन प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिताको फाइनलसम्म पुगेको थियो ।

मिक्स मार्सल आर्ट्सका रविन्द्र ढाँट ‘बझाङका बाघ’का रूपमा परिचित छन् । उनले गत वर्ष म्याट्रिक्स फाइट नाइट १७ को बेन्टमवेट च्याम्पियनको उपाधि जितेका थिए । एसिया–प्यासिफिक क्षेत्रमा २०५औं वरीयतामा रहेका ढाँट ‘रोड टु यूएफसी’को सेमिफाइनल पुग्ने पहिलो नेपाली फाइटरसमेत हुन् ।

मञ्चका अनुसार २०८२ सालभर उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई आधार बनाएर यस वर्षको अवार्ड प्रदान गरिँदैछ । २३औं संस्करणमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड गरी नौ विधामा सम्मान प्रदान गरिनेछ ।

वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी र वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ प्रदान गरिने मञ्चले जनाएको छ ।

गत संस्करणमा पुरुषतर्फ क्रिकेटका दीपेन्द्रसिंह ऐरी, महिलातर्फ करातेकी एरिका गुरुङ, युवातर्फ क्रिकेटकी पूजा महतो र प्रशिक्षकतर्फ पारा तेक्वान्दोका कविराज नेगी लामाले अवार्ड जितेका थिए ।

एनएसजेएफ एनएसजेएफ स्पोर्ट्स अवार्ड पल्सर स्पोर्ट्स अवार्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय