+
+
Shares

दक्षिणकालीको रिसोर्टमा मृत भेटिएका युवकको शव २५ दिनदेखि उठ्न सकेन

न्याय नपाएसम्म शव नुबझ्न परिवारको अडान

दक्षिणकाली एण्ड डोल्लु रिसोर्ट प्रालिमा मृत्यु भएका एक युवकको शव २५ दिनदेखि उठ्न सकेको छैन।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते १८:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तारकेश्वरका ३० वर्षीय राजु तामाङको फर्पिङस्थित रिसोर्टमा मृत्यु भएपछि २५ दिनदेखि परिवारले शव बुझ्न अस्वीकार गरेका छन्।
  • मृतकका परिवारले घटनास्थल शंकास्पद रहेको र प्रहरीले निष्पक्ष अनुसन्धान नगरेको भन्दै न्यायको माग गरेका छन्।
  • प्रहरीले भने घटनाको सूक्ष्म अनुसन्धान गरिएको र पोस्टमार्टम रिपोर्टमा समेत मृत्युको कारण डुब्नु रहेको स्पष्ट पारेको छ।

३१ साउन, काठमाडौं । दक्षिणकाली एण्ड डोल्लु रिसोर्ट प्रालिमा मृत्यु भएका एक युवकको शव २५ दिनदेखि उठ्न सकेको छैन।

शंकास्पद रुपमा मुत्यु भएको भन्दै घटनाको यर्थाथ छानबिन र न्याय नपाएसम्म शव नबुझ्ने अडान परिवारले राखेपछि २५ दिनदेखि मृत युवाको शव उठ्न नसकेको हो। विगत २५ दिनदेखि शव महाराजगञ्जस्थित त्रिवि शिक्षिण अस्पतालमा छ।

रामेछाप घर भई तारकेश्वर नगरपालिका–५ गोलढुंगा बस्दै आएका ३० वर्षीय राजु तामाङ साथीहरुसँग फर्पिङस्थित डोल्लु रिसोर्टमा गएका थिए। ५ साउनमा राजुसँगै १३ जना साथीहरु उक्त रिसोर्टमा बस्न गएको उनका ठूलोबुवा ढालबहादुर तामाङ बताउँछन्।

‘६ जना केटी र ७ जना केटाहरु त्यहाँ गएका रहेछन्। एकै पटक बिरामी भएको भनेर बल्खु अस्पताल ल्याएको भन्ने खबर आएर जाँदा शव देखाइयो’ ढालबहादुरले अनलाइनखबरसँग भने।

घटनाको सबै विवरण र प्रकृति हेर्दा शंकास्पद रहेको उनीहरुको भनाइ छ। ‘रिसोर्टको स्वीमिङ पुलमा डुबेर मृत्यु भएको भनिएको छ। तर डुबेको जानकारी हुनासाथ किन परिवारलाई खबर गरिएन ? एकै पटक बल्खुको बयोधा अस्पतालमा बिरामी भएर ल्याएको किन भनियो ? जबकि त्यहाँ पुग्दा एकैचोटी शव देखाइयो’ ढालबहादुर भन्छन्।

रिसोर्टमा सीसीटीभी कभरेज छैन भन्नु, वरपरको झार माडिएको, चप्पलहरु यत्रतत्र भएको, भुँईमा रगतको टाटा समेत देखिएको भन्दै उनीहरुले घटनालाई शंकास्पद रुपमा बुझेका छन् । घटनास्थलमा भेटिएका यस्ता विषयहरुलाई आधार मानेर प्रहरीले अनुसन्धान गर्नुपर्नेमा नगरेको गुनासो उनीहरुको छ।

अनुसन्धानका लागि पीडित परिवारले प्रहरी वृत्त कीर्तिपुरमा किटानीहरु जाहेरी दिन खोज्दा नलिएको उनीहरुको गुनासो छ । अहिले राजुको परिवार प्रहरीदेखि, सरकारी वकिल कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंदेखि गृहमन्त्रालयसम्म पुगेको छ । तर कतैबाट पनि न्याय पाउने आशा नदेखिएको उनीहरुको गुनासो छ।

तर प्रहरीले भने घटनालाई सुक्ष्म रुपमा लिएर अनुसन्धान गरेको दाबी गरेको छ। घटना भएको जानकारी आउनासाथ कीर्तिपुरबाट डीएपीको टोली खटिएको, घटनास्थल नै पुगेर हेरेको र अन्य विभिन्न पाटाहरुलाई केलाएर अनुसन्धान गर्दा शंकास्पद नदेखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापा बताउँछन्।

पोस्टमार्टम रिपोर्टमा कज अफ डेथमा समेत डुबेर मृत्यु भनेर उल्लेख भएको एसपी थापाले बताउँछन्। ‘प्रहरीले गर्नुपर्ने सबै कामहरु गरिरहेको छ। पोस्टमार्टम रिपोर्टमा समेत मृत्युका कारण प्रष्ट रुपमा डुबेर लेखिएको छ’ एसपी थापाले भने ।

तर परिवार भने प्रहरीको यो भनाईमा सहमत छैनन्। न्याय नपाएसम्म शव नबुझ्ने अडान उनीहरुले राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?