+

रसिला र प्रिन्स पुष्पलाल स्मृति ब्याडमिन्टनको च्याम्पियन

२०८३ साउन  ३१ गते २१:४१ २०८३ साउन ३१ गते २१:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एपीएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले १४औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगितामा आ-आफ्नो उपाधि रक्षा गरेका छन् ।
  • पुरुष एकलतर्फ प्रिन्सले क्षितिज खनाललाई र महिला एकलतर्फ रसिलाले शेस्ना श्रीपालीलाई पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएका छन् ।
  • राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा सात दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न विधाका विजेतालाई ४१ लाख रुपैयाँभन्दा बढी लागतमा पुरस्कार प्रदान गरिएको छ ।

३१ साउन, काठमाडौं । एपीएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले लिनिङ्ग १४औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको शीर्ष आठ वरीयतातर्फको उपाधि रक्षा गरेका छन् ।

पुरुष एकलको फाइनलमा प्रिन्सले एपीएफकै क्षितिज खनाललाई २१–१५, २१–७ को सोझो सेटमा पराजित गर्दै उपाधि जिते । यससँगै प्रिन्सले लिग चरणमा क्षितिजसँग बेहोरेको हारको बदला समेत लिए ।

उपाधिसँगै प्रिन्सले ४८ हजार ५ सय रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । उपविजेता क्षितिजले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र पाए । पिस फिटनेस क्लबका विष्णु कटुवाल र त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन संयुक्त तेस्रो भए ।

महिला एकलतर्फ रसिलाले नेपाल पुलिस क्लबकी शेस्ना श्रीपालीलाई २१–१२, २१–१३ ले हराउँदै लगातार दोस्रो पटक उपाधि जितिन् । रसिलाले ५० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता शेस्नाले २८ हजार ५ सय रुपैयाँ पाइन् । पुलिसकी निता लम्साल र एपीएफकी रिहाना शेरचन संयुक्त तेस्रो भए ।

शीर्ष आठबाहेकको पुरुष एकलमा नेपाल पुलिस क्लबका डेभिड थापा मगरले आफ्नै क्लबका कविर केसीलाई २१–७, २१–१८ ले पराजित गर्दै उपाधि जिते । इलामका दिवस शंकर र आर्मीका सुप्रिम पन्त संयुक्त तेस्रो भए । महिला एकलमा कास्कीकी दिलाशा रानाले फिटनेपाल स्पोर्ट्सप्लेक्सकी निभा राईलाई २१–१६, २१–१४ ले हराउँदै उपाधि जितिन् । पुलिसकी श्रेया बज्राचार्य र सुनसरी ब्याडमिन्टन एकेडेमीकी सविज्ञा दाहाल तेस्रो भए ।

महिला युगलतर्फ आर्मीकी अमिता गिरी र रसिला महर्जनको जोडी च्याम्पियन बन्यो । उक्त जोडीले सुषमा भुजेल र दिलाशा रानाको जोडीलाई २१–२३, २१–१८, २१–१३ ले पराजित गर्‍यो । निर्भिता शाही–निशा सिंह तथा निता लम्साल–शेस्ना श्रीपालीको जोडी संयुक्त तेस्रो भए ।

पुरुष युगलमा एपीएफका देवराज राना र प्रिन्स दाहालको जोडीले आर्मीका विधान अधिकारी र प्रफुल महर्जनको जोडीलाई २२–२०, २१–१७ ले पराजित गर्दै उपाधि जित्यो । क्षितिज खनाल–सुजन थापा तथा बालकुमारी रिमिक्सका सशिन डंगोल–सुमन शाक्यको जोडी संयुक्त तेस्रो भए ।

यू–११ पुरुष एकलमा नेपाल पुलिसका विराट बस्नेत, महिला एकलमा एपीएफकी रेन्शा श्रेष्ठ च्याम्पियन बने । यू–१५ पुरुषमा धन्यन्तरीका सुहम कार्की तथा महिला एकलमा निभा राईले उपाधि जिते । यू–१९ पुरुषमा पुलिसका कविर केसी र महिला एकलमा कास्कीकी दिलाशा राना विजेता बने ।

३५ वर्षमाथिको पुरुष युगलमा कास्कीका विशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडी च्याम्पियन बन्यो । ४५ वर्षमाथिको मास्टर्स युगलमा फिटनेस पार्कका भूमि बहादुर गुरुङ र विरेन थापाको जोडी तथा ५५ वर्षमाथिको मास्टर्स युगलमा भारतका ग्याल्सिन भुटिया र प्रणव दासको जोडी विजेता बने ।

नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा तथा यल स्पोर्ट्स एकेडेमीको सहआयोजनामा भएको प्रतियोगिता सात दिनसम्म सञ्चालन भएको थियो । प्रतियोगिताको कुल लागत करिब ४१ लाख ५ हजार २ सय रुपैयाँ रहेको आयोजकले जनाएको छ भने पुरस्कार राशि १० लाख ७८ हजार रुपैयाँ रहेको छ ।

प्रतियोगितामा लगातार तीन संस्करण उपाधि जित्ने खेलाडीलाई मोटरसाइकल वा स्कुटर प्रदान गर्ने व्यवस्था छ । यसअघि लगातार तीन संस्करण जित्दै प्रिन्स दाहालले मोटरसाइकल प्राप्त गरिसकेका छन् ।

प्रतियोगिताको समापनमा नेपाल सरकारका पूर्वमन्त्री तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले विजेता खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।

पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रिन्स दाहाल रसिला महर्जन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय