+

म्यान्चेस्टर सुपर जायन्ट्सले पहिलोपटक जित्यो द हन्ड्रेडको उपाधि

२०८३ भदौ  १ गते ८:३५ २०८३ भदौ १ गते ८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्यानचेस्टर सुपर जायन्ट्सले ट्रेन्ट रकेट्सलाई ५ विकेटले पराजित गर्दै पहिलो पटक द हन्ड्रेड पुरुष प्रतियोगिताको उपाधि जितेको छ।
  • टिम सेफर्टले ३८ बलमा ७२ रन बनाउँदै टोलीलाई १५९ रनको लक्ष्य पूरा गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्।
  • समूह चरणमा लगातार तीन खेल हारेको सुपर जायन्ट्सले पुनरागमन गर्दै उपाधि चुम्न सफल भएको छ।

१ भदौ, काठमाडौं । टिम सेफर्टको विस्फोटक अर्धशतकप्रेरित म्यानचेस्टर सुपर जायन्ट्सले द हन्ड्रेड पुरुष प्रतियोगिताको उपाधि जितेको छ । लर्ड्समा भएको फाइनलमा सुपर जायन्ट्सले ट्रेन्ट रकेट्सलाई २ बल बाँकी छँदै ५ विकेटले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो ।

रकेट्सले दिएको १५९ रनको लक्ष्य सुपर जायन्ट्सले ९८ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । सेफर्टले ३८ बलमा ७ छक्कासहित ७२ रन बनाए । उनको यो प्रदर्शन फाइनलमा संयुक्त रूपमा सर्वाधिक व्यक्तिगत स्कोरसमेत बन्यो ।

लक्ष्य पछ्याउने क्रममा सेफर्ट र पल वाल्टरले आक्रामक सुरुवात गर्दै ३१ बलमा ६६ रनको साझेदारी गरे । वाल्टरले १४ बलमा २२ रन बनाए । सेफर्ट आउट भएपछि सुपर जायन्ट्स केही दबाबमा आए पनि लियाम डसनले निर्णायक समयमा छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए ।

सुपर जायन्ट्सका लागि यो उपाधि विशेष रह्यो । समूह चरणमा लगातार तीन खेल हारेपछि टोली प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको थियो । त्यसपछि लगातार पाँच खेल जित्दै टोलीले उपाधि आफ्नो नाममा गरेको हो ।

टोलीको पुनरागमनमा जस बट्लरको कप्तानी परिवर्तन पनि महत्वपूर्ण रह्यो । एइडेन मार्करम व्यक्तिगत कारणले स्वदेश फर्किएपछि बट्लरले कप्तानी सम्हालेका थिए । यस क्रममा सेफर्टले प्रतियोगितामा चार अर्धशतकसहित उत्कृष्ट प्रदर्शन गरे र सिजनका दोस्रो सर्वाधिक रन बनाउने ब्याटर बने ।

मार्करमको अनुपस्थितिमा पल वाल्टरलाई शीर्ष क्रममा खेलाउने निर्णय पनि सुपर जायन्ट्सका लागि प्रभावकारी बन्यो । वाल्टरले पाँच इनिङ्समा २४७ रन बनाउँदै १७९ को स्ट्राइक रेट कायम गरे ।

यसअघि पहिले ब्याटिङ गरेको ट्रेन्ट रकेट्सले निर्धारित १०० बलमा ८ विकेट गुमाएर १५८ रन बनाएको थियो । नूर अहमदले फाइनलमा प्रभावशाली बलिङ गर्दै रकेट्सको शीर्ष क्रमलाई समस्यामा पारे । उनले आठ समूह खेल र एलिमिनेटरमा जम्मा पाँच विकेट लिए पनि फाइनलमा महत्वपूर्ण विकेट निकाल्दै खेलको दिशा परिवर्तन गरेका थिए ।

रकेट्सका लेविस ग्रेगरीले १६ बलमा ३२ रन बनाए भने मिचेल सान्टनरले १६ बलमा २० रन बनाए । उनीहरूको आक्रामक ब्याटिङले रकेट्सलाई १५० रन पार गराए पनि अन्ततः त्यो स्कोर पर्याप्त हुन सकेन ।

उपाधिसँगै सुपर जायन्ट्सले म्यान्चेस्टरका पुरुष तथा महिला दुवै टोलीमध्ये पहिलो पटक द हन्ड्रेडको ट्रफी जित्ने इतिहास बनाएको छ । यो उपाधिले फ्रेन्चाइजको सात आईपीएल सिजन र चार एसए२० सिजनदेखि चलेको उपाधिविहीन यात्रासमेत अन्त्य गरेको छ ।

द हन्ड्रेड द हन्ड्रेड क्रिकेट म्यान्चेस्टर सुपर जायन्ट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय