+
+
Shares

डङ्की : कहालीलाग्दो बाटोको कथा

डङ्कीका मुख्य तीन पात्रमा को–को अमेरिका पुग्छन्, उनीहरूको अवस्था के हुन्छ भन्ने विवरणले कथालाई रोमाञ्चकारी बनाएको छ ।

महेश्वर आचार्य महेश्वर आचार्य
२०८३ भदौ ६ गते १२:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वनविज्ञ डा. चन्द्र गिरीद्वारा लिखित ‘डङ्की : सपनाको कालबाटो’ उपन्यासले अवैधानिक रूपमा तल्लो बाटो हुँदै अमेरिका जाने आप्रवासीहरूको पीडादायी कथा समेटेको छ।

नेपाली भाषी धेरै भएका भारतका शहरहरूमा नेपालका पहाडी क्षेत्रबाट ज्याला मजदुरी गर्न थुप्रै नेपालीहरू जान्थे । उनीहरूको दारुण अवस्थाले उपन्यासकार लीलबहादुर क्षेत्रीलाई ‘बसाइँ’ लेख्न प्रेरित गरेको थियो । ‘बसाइँ’ प्रकाशित भएको ७० वर्षपछि अमेरिका बसोबास गर्दै आएका वनविज्ञ डा. चन्द्र गिरीले पनि बसाइँ हिँड्नेहरूकै कथालाई उपन्यासमा उतारेका छन् ।

कुनै सन्दर्भमा कोलम्बियाको सीमान्त शहर नोकोक्ली पुगेका गिरीलाई अमेरिका जान हिँडेका आप्रवासीहरूको दारुण अवस्थाले आघात पारेपछि ‘डङ्की : सपनाको कालबाटो’ तयार भएको हो ।

डङ्की शब्द पञ्जावी भाषाको ‘डुमकी’ बाट आएको बुझिन्छ, जसको अर्थ हुन्छ, ‘छल गरेर अघि बढ्नु, डुबकी लगाउनु वा एक ठाउँबाट अर्को ठाउँमा लुकेर जानु’ । यही शब्दको आलोकमा लुकीछिपी एक देशबाट अर्को देशमा गैरकानुनी रूपमा जानुलाई संसारभर ‘डङ्की’ शब्द प्रयोग हुन थाल्यो । डङ्की उपन्यासले पनि तल्लो बाटो हुँदै अमेरिका जानेहरू कसरी अमेरिका पुग्छन् भन्ने कथा बताएको छ ।

कुनै उपाय लगाएर सभा, सेमिनार, गोष्ठी, अनुसन्धान लगायतको बहानामा उडानमार्फत अमेरिका जानुलाई ‘माथ्लो बाटो’ भनिँदो रहेछ । तर, अनेक मुलुक हुँदै हिँडेरै अवैधानिक रूपमा अमेरिका छिर्ने मार्गलाई ‘तल्लो बाटो’ भनिँदो रहेछ । जुनसुकै देशबाट गए पनि उसलाई आफ्नो देशमा असुरक्षा छ भन्ने लागेमा अमेरिकाले शरण दिँदोरहेछ । त्यही भएर धेरै देशका धेरैजना सुरक्षित आश्रयको आशामा अमेरिकी भूमिमा टेक्ने प्रयासमा हुँदा रहेछन् ।

‘डङ्की’ उपन्यासमा पनि नेपालबाट अमेरिका हिँडेकाहरूको कथा छ । पूर्वी पहाडको एउटा गाउँबाट तल्लो बाटो हुँदै अमेरिका जाने क्रममा मुख्य पात्र पशुपतिले बिर्खे र पण्डितलाई भेट्न पुग्छ । पशुपति कथावाचक रहेको उपन्यासमा बिर्खे र पण्डितका कथा पनि प्रसंगअनुसार आउँछन् । साथै, बाटोमा भेटिने अरू देशबाट हिँडेकाहरूको कथा पनि उपन्यासको सहायक कथानक भएको छ । उनीहरूको यात्रा विवरण नै उपन्यासको मुख्य कथा हो ।

ती सबै अमेरिका पुगेर नयाँ जीवनको सुरुवात गर्ने आशामा छन् । यात्राका क्रममा मुख्य पात्रले आम नेपालीको सुखदुःखको कथा बताउँछ र ऊ किन आफ्नो गाउँठाउँको इज्जतिलो जीवन त्यागेर पाताल भासिन खोज्छ भन्ने पुष्टि गर्ने प्रयास गर्छ । ‘बसाइँ’ को धनेलाई सम्झाउने गरी ‘डङ्की’ को पशुपति पाताल भासिन खोजेको छ । उसले साहुको ऋण, घरबार उठ्नुपर्ने बाध्यताको सामना गरेको छैन, यद्यपि ऊ यहाँ अडिन चाहँदैन । ऊ जस्तै अन्य दुई पात्र पनि पाताल भासिन खोजेका छन् । यो क्रममा उपन्यासले उधिन्ने कथाले समकालीन नेपाली समाजको भासलाई उतार्न खोजेको छ ।

कथामा विदेश जानेहरू मिटरव्याजीसँग आफ्नो हैसियतभन्दा बढीको ऋण लिएर हिँडेका छन् । सार्वजनिक समारोहमा ‘देशमै रोजगारी सिर्जना गर्छु’ र ‘विदेशिएका युवालाई देशमा आकर्षित गर्नुपर्छ’ भन्दै कुर्लिने नेताहरू नै विदेश जान तारतम्य मिलाइदिने एजेन्ट छन् । तीमार्फत उपन्यासले नेपाली समाजको दोहोरो चरित्रलाई उदाङ्ग पारेको छ । सोझा र निमुखा गाउँलेलाई पाइला पाइलामा निचोर्ने धुर्त र कपटी दलाल तिनै नेताको संरक्षणमा छन् ।

मान्छे कि त आफ्नो थातथलोमा बस्नै नसकेर बसाइँ जान्छ, कि त बसाइँ जाने ठाउँको रामरमिताले तानिएर बसाइँ जान्छ । तर बसाइँ जाने यो बाटो भने कठिन छ । पुस्तकको प्रभावकारी तर दु:खद् पक्ष भनेको भयंकरको ‘डेरियन ग्याप’ को यात्रा वर्णन हो । अमेरिकाको अलास्कामा पर्ने पुर्डो खाडीदेखि अर्जेन्टिनाको टिएरा डेल फुगोसम्म फैलिएको प्यान–अमेरिकन राजमार्गको पानामा र कोलम्बिया सीमाक्षेत्रको करिब १०० किलोमिटरको सडक नजोडिएको क्षेत्रलाई ‘डेरियन ग्याप’ भनिन्छ ।

यहाँको कठिन प्राकृतिक अवस्थाले नै यहाँ बाटो बन्न गाह्रो छ । साथमा यो क्षेत्र कसरी खतरनाक बनेको छ भने यहाँ आपराधिक समूहहरूले आश्रय लिएका छन् । यहाँ लागूपदार्थ ओसारपसार गर्ने कोलम्बियाको ठूलो समूह क्लान पारा मिलिटरी ग्रुप, कोलम्बियाको सशस्त्र छापामार समूह फार्कलगायत अन्य सशस्त्र समूहको उपस्थिति छ । सो जंगल क्षेत्र पार गर्न पाँचदेखि १० दिनसम्म हिँड्नुपर्छ । बाटोमा खाना, बस्न, भइपरी आउँदा आधारभूत उपचारको कुनै सुविधा छैन । विषालु सर्प र कीरा, चितुवा तथा अन्य वन्यजन्तुको डर उस्तै । साथमा मलेरिया र डेंगीजस्ता रोगको जोखिम ।

ज्यान हत्केलामा राखेर गरिने यात्रा वर्णन पढिरहँदा आखिर मान्छे किन यो नर्कको बाटोमा जान चाहन्छन् भन्ने प्रश्नले मनमा घरीघरी नमज्जाले घोचिरहन्छ । डेरियन ग्यापका दृश्य तथा घटनाक्रमले मान्छे कतिसम्म पीडामा रहेछन् र सुखको खोजीमा ज्यान नै बाजी मारेर हिँडेका भन्ने सोच्न बाध्य बनाउँछ । तीनले सामना गर्ने अवस्थाले पाठकलाई सिरिङ बनाउँछ ।

एक ठाउँमा आएको छ– ‘पानीको उर्लंदो बहावसँग संघर्ष गर्दै अगाडि बढिरहेको थिएँ । खोलाको बीच भागमा पुगेपछि अचानक १०–१५ फिट माथिबाट एउटा सानो आकृति बग्दै हामीतिर आउँदै गरेको देखें । करिब छ–सात वर्षकी सानी केटीलाई बाढीले आफ्नो पकडमा लिइसकेको रहेछ । त्यो दृश्यले म स्तब्ध भएँ । एकछिनका लागि आफ्नै छोरी सम्झिएँ, बगिरहेकी ती बालिका मेरै छोरी प्राची हुन् कि जस्तो लाग्यो । पछाडिबाट कसैले चिच्याउँदै भनिरहेको थियो, ‘माई डटर ! माई डटर ! ’’ (पृ. १७२)

जो भर्खर स्कुल जान थालेकी आफ्नी छोरीलाई छोडेर विदेशिएको छ उसले यस्तो अवस्थाको सामना गर्दा ऊ लग्याकलुलुक हुन पुग्छ । र, दुःखको कुरा त्यो एउटा प्रसंगले यात्राको यातना सकिँदैन । त्यस्ता विरहका किस्सा उपन्यासभरी बग्रेल्ती आएका छन् । त्यो बाटो त्यसै कालबाटो भएको होइन रहेछ भन्ने पाठकले बुझ्छन् ।

तल्लो बाटो अमेरिका जाँदाको जोखिम अर्को ठाउँमा यसरी व्यक्त भएको छ– ‘राति एक बजेतिर एजेन्टले हामीलाई जाऊँ भनेर बोलाए अनि पानीको छेउमा लगेर एउटा सानो डुङ्गा चढाए । ती एजेन्टले हामीलाई अर्को एजेन्टको जिम्मा लगाए । १० जना अट्ने डुङ्गामा १७ जना कोचियौं । तीव्र गतिमा अघि बढिरहेको डुङ्गालाई समुद्रको छालले बेलाबेला बेजोडले ठक्कर दिन्थ्यो । त्यो बेला मुटुको धड्कनले पनि मलाई बेचैन बनाउँथ्यो । हरेक झट्काले डुङ्गालाई हावामा उचालेर फेरि समुद्रमा फालेजस्तो लाग्थ्यो । म डुङ्गालाई दह्रोसँग समातेर बसेको थिएँ । पौडी खेल्न नआउने हुँदा समुद्रमा खसिएला कि भन्ने डरले आक्रान्त भइरहें । सानोमा मेचीखोलामा पौडी खेलेकाले अलि–अलि तैरिन मात्र आउँथ्यो । डुङ्गाको तीव्र गति र समुद्रको असीम शक्तिले हामीलाई कुनै पनि क्षण निल्न सक्ने डर थियो । मैले भगवान्सँग प्रार्थना गरें, ‘भगवान् म यसरी समुद्रमा विलीन हुन चाहन्नँ, मलाई बचाऊ ।’ (पृ. १३४)

तल्लो बाटोबाट कसरी अमेरिका गइन्छ भन्ने कथा बताउने ‘डङ्की’ले दुःखको कथा भनेको छ । अमेरिका पुगेपछि संघर्ष गरेर एउटा तहमा पुग्दा त ठिकै होला तर त्यो हासिल गर्न अवैधानिक बाटोमा ज्यानको बाजी मारेर आफू आएको बाटो भत्काउँदै अघि बढ्नुपर्ने जुन पीडादायी यथार्थ छ, त्यो पक्कै पनि मिठो कथा होइन । तर पनि उपन्यासले नमिठो कथालाई मिठो गरी भन्ने प्रयास गरेको छ ।

उपन्यासको विषयवस्तुका कारणले पनि होला, पढेपछि अब के होला भन्ने जिज्ञासाले अन्त्यसम्म तान्छ जुन पुस्तकको सकारात्मक पाटो हो । सबैभन्दा प्रभावकारी पक्ष यसको अन्त्य देखिन्छ । जुन ढंगले कथाको अन्त्य भएको छ, यसले पाठकलाई यसका कमजोरीबाहेक पनि राम्रै सान्त्वना दिनेछ । आफ्नै छोरीजस्तै बालिका बाटोमा पर्ने नदीको बाढीमा बगेको देखेका पुशपतिकी छोरी प्राचीको भविष्य के होला ? भन्ने जिज्ञासा उपन्यासको अन्त्यसम्म जीवित रहन्छ । 

यसअघि प्रकाशित ‘मैले नदेखेको सपना’ शीर्षकको आत्मकथा तथा ‘संसारको सेरोफेरो’ नियात्रापछि यस तेस्रो कृतिमा आइपुग्दा डा. गिरी उपन्यासकार भएका छन् । पुस्तकमा केही कमजोरी पनि छन् । मुख्य कमजोरी लेखकको व्यक्तित्वले पात्रलाई छपक्कै छोपेको छ । कतिपय संवादहरू अस्वभाविक र अप्राकृतिक लाग्छन् । नियात्रा लेख्दै आएका लेखकको आख्यानमा यात्रा साहित्यको प्रभाव पाउनेछन् ।

नेपाली साहित्यमा बसाइँ हिँडेकाहरूका कयौं कथा लेखिए र त्यो क्रम अझै जारी छ । अहिले त आधुनिकताले बसाइँसराइलाई सघन बनाएको छ । डङ्कीका मुख्य तीन पात्रमा को–को अमेरिका पुग्छन्, उनीहरूको अवस्था के हुन्छ भन्ने विवरणले कथालाई रोमाञ्चकारी बनाएको छ ।

तल्लो बाटो अमेरिका जाने बाटोको विवरण पुस्तकमा आएको हुँदा यो उपन्यास तल्लो बाटो अमेरिका जाने यात्राको ‘गाइड बुक’ जस्तो पनि लाग्छ । उपन्यास तल्लो बाटो अमेरिका जाने सोच बनाएका वा जानका लागि खुट्टा उचालेकाहरूले पढ्नु लाभदायक देखिन्छ । तर उपन्यास पढिसकेपछि यदि एक जना मात्रले पनि तल्लो बाटो अमेरिका नजाने निर्णय गरे भने त्यो लेखकको सफलता हुनेछ ।

०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?