News Summary
Generated by OK AI. Editorially reviewed.- इटाली र युगान्डाले सन् २०२७ को आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटको प्लेअफमा स्थान पक्का गरेका छन् ।
- तान्जानियामा जारी आईसीसी च्यालेन्ज लिग बीमा शीर्ष दुईमा रहँदै दुवै टोलीले छनोट यात्राको अर्को चरणमा प्रवेश गरेका हुन् ।
- यस उपलब्धिबाट इटाली र युगान्डाले पहिलोपटक आधिकारिक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल खेल्ने अवसर पाउनेछन् ।
२ भदौ, काठमाडौं । इटाली र युगान्डाले सन् २०२७ को आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटको प्लेअफमा स्थान पक्का गरेका छन् । तान्जानियामा जारी आईसीसी च्यालेन्ज लिग बीमा शीर्ष दुईमा रहने पक्का भएसँगै दुवै टोलीले छनोट यात्राको अर्को चरणमा प्रवेश गरेका हुन् ।
च्यालेन्ज लिग बीमा एक खेल बाँकी रहँदा दुवै टोली शीर्ष दुईबाट बाहिरिन नसक्ने अवस्थामा पुगेका हुन् । यो ५० ओभरको अन्तर्राष्ट्रिय क्रिकेट संरचनाको तेस्रो तह हो ।
इटालीले हङकङलाई पराजित गरेपछि युगान्डाको पनि प्लेअफ यात्रा निश्चित भएको हो । युगान्डा सोमबार खेलविहीन रहेको अवस्थामा इटालीको जितसँगै उसलाई चुनौती दिन सक्ने हङकङको सम्भावना समाप्त भएको थियो ।
पहिले ब्याटिङ गरेको हङकङ ४९.५ ओभरमा १७४ रनमा अलआउट भएको थियो । जिशान अलीले ५७ तथा शाहिद वासिफले ५० रन बनाए पनि टोली ठूलो योगफल बनाउन असफल भयो ।
इटालीले ४६ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । मार्कस काम्पोपियानोले अविजित ७४ रन बनाए भने बेन मानेन्तीले ५० रन र ह्यारी मानेन्तीले ३९ रनको योगदान दिए ।
अब इटालीले अन्तिम खेलमा आयोजक तान्जानियासँग तथा युगान्डाले बहराइनसँग प्रतिस्पर्धा गर्नेछ । दुवै टोलीलाई शीर्ष दुई स्थान कायम राख्न अन्तिम खेल जित्नैपर्ने अवस्था भने छैन ।
च्यालेन्ज लिगबाट प्लेअफमा पुगेका इटाली र युगान्डाका लागि यो यात्रा ऐतिहासिक बन्नेछ । प्लेअफ प्रतियोगितामा उनीहरूले पहिलोपटक आधिकारिक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता प्राप्त खेल खेल्ने अवसर पाउनेछन् ।
आठ टोली सहभागी हुने प्लेअफमा च्यालेन्ज लिग ए का शीर्ष दुई टोली पनि जानेछन् भने क्रिकेट विश्वकप लिग २ मा पुछारमा रहने चार टोली पनि सहभागी हुनेछन् । प्लेअफबाट चार टोली क्रिकेट विश्वकप छनोट प्रतियोगितामा पुग्नेछन् ।
हाल लिग–२ को पुछारमा नामिबिया, क्यानडा, नेपाल र यूएई रहेका छन् । ओमान पनि शीर्ष चारबाट बाहिरिने जोखिममा रहे पनि उसलाई पछ्याइरहेका टोलीमध्ये गणितीय रूपमा चुनौती दिन सक्ने अवस्थामा छ ।
लिग २ मा स्कटल्यान्ड, अमेरिका र नेदरल्यान्ड्सले भने शीर्ष चारमा स्थान पक्का गरिसकेका छन् र उनीहरू विश्वकप छनोट प्रतियोगितामा पुग्नेछन् ।
च्यालेन्ज लिग ए बाट प्लेअफमा पुग्ने थप दुई टोलीको टुंगो भने प्रतियोगिताको अन्तिम चरणपछि लाग्नेछ । त्यसैगरी लिग २ का बाँकी खेलबाट पुछारका चार टोलीको पनि टुंगो लाग्नेछ ।
प्रतिक्रिया 4