+
फुटबल विशेष :

फुटबलको ट्रान्सफर इकोनोमी : एउटै खेलाडीको मूल्य करोडौं पाउन्ड कसरी तय हुन्छ ?

२०८३ भदौ  ४ गते ११:४६ २०८३ भदौ ४ गते ११:४६

फुटबलमा एउटा खेलाडीको मूल्य कहिलेकाहीँ एउटा सानो देशको वार्षिक बजेटजत्तिकै सुनिन्छ । के करोडौं पाउन्डमा अनुबन्ध भएका खेलाडीको वास्तविक मूल्य त्यति नै हुन्छ त ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चेल्सीले मोर्गन रोजर्सलाई करिब ११ करोड ७० लाख पाउन्डमा र म्यानचेस्टर सिटीले इलियट एन्डरसनलाई करिब ११ करोड ६० लाख पाउन्डमा ल्याउने सम्झौता गरेको छ।
  • ट्रान्सफर शुल्क खेलाडीको वास्तविक मूल्य होइन, किनकि यसमा प्रदर्शन, उमेर, सम्झौता अवधि, माग, आपूर्ति, एजेन्ट शुल्क र बोनस पनि जोडिन्छन्।
  • प्रिमियर लिगले २०२६/२७ सिजनदेखि पीएसआरको स्थानमा एससीआर र एसएसआर लागू गर्ने भएको छ, जसमा खेलाडी खर्च, पारिश्रमिक र ट्रान्सफर लागतको अमोर्टाइजेसन समेटिन्छ।

फुटबलमा एउटा खेलाडीको मूल्य कहिलेकाहीँ एउटा सानो देशको वार्षिक बजेट वा त्योभन्दा पनि बढी सुनिन्छ । यो समरमा इंग्लिस फुटबलमै मोर्गन रोजर्सका लागि चेल्सीले एस्टन भिल्लालाई करिब ११ करोड ७० लाख पाउन्ड तिर्ने सम्झौता गरेको छ ।

म्यान्चेस्टर सिटीले नटिङहम फरेस्टका इलियट एन्डरसनका लागि करिब ११ करोड ६० लाख पाउन्ड खर्च गरेको छ भने सान्ड्रो टोनालीको न्युक्यासलबाट टोटनह्याम यात्रा पनि १० करोड पाउन्डको हाराहारीमा पुगेको छ ।

प्रशान्त महासागरमा अवस्थित टापु देश टुभालुको सन् २०२१/२०२२ को कुल वार्षिक राष्ट्रिय बजेट करिब ८ करोड अमेरिकी डलरजति मात्रै थियो । अर्थात्, रोजर्सको अनुबन्ध रकम टुभालुको दुई वर्षको सम्पूर्ण राष्ट्रिय बजेटभन्दा पनि बढी छ ।

तर यहाँ एउटा रोचक प्रश्न उठ्छ- के रोजर्स वास्तवमै ११ करोड ७० लाख पाउन्डका खेलाडी हुन् ? के एन्डरसनको मूल्य पनि त्यति नै हो ? वा ट्रान्सफर बजारमा सुनिने रकमले खेलाडीको वास्तविक ‘मूल्य’भन्दा धेरै कुरा बताउँछ ?

वास्तवमा फुटबलमा खेलाडीको मूल्य निर्धारण गर्ने कुनै एउटै सूत्र हुँदैन । गोल, असिस्ट र प्रदर्शन त्यसको एउटा हिस्सा मात्रै हुन् । उमेर, सम्झौताको अवधि, खेलाडीको भूमिकाको दुर्लभता, बजारमा उपलब्ध विकल्प, क्लबको आर्थिक क्षमता, खेलाडीको भविष्यको सम्भावना र बेच्ने क्लबको आवश्यकता- यी सबैले मूल्यलाई माथि वा तल लैजान सक्छन् ।

मोर्गान रोजर्स

खेलाडीको मूल्य र ट्रान्सफर शुल्क एउटै कुरा होइन

सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा हो- खेलाडीको ‘मूल्य’ र क्लबले तिर्ने ‘ट्रान्सफर शुल्क’ एउटै होइन ।

ट्रान्सफर शुल्क दुई क्लबबीच हुने व्यापारिक सम्झौताको परिणाम हो । कुनै क्लबले खेलाडीका लागि १० करोड पाउन्ड माग्न सक्छ, अर्को क्लबले ७ करोड प्रस्ताव गर्न सक्छ र अन्ततः दुवै पक्ष ८ करोडमा सहमत हुन सक्छन् ।

त्यसैले कुनै खेलाडी १० करोड पाउन्डमा बिक्री भयो भन्दैमा बजारले उसको वास्तविक मूल्य ठ्याक्कै १० करोड तोकेको भन्ने हुँदैन ।

बरु त्यो रकमले त्यस समयका दुई क्लबबीचको माग, आपूर्ति, वार्ता र आर्थिक क्षमतालाई पनि प्रतिबिम्बित गर्छ ।

अझै महत्वपूर्ण कुरा, सार्वजनिक गरिने ट्रान्सफर रकममा बोनस, प्रदर्शनमा आधारित भुक्तानी, उपाधि जितेपछि थपिने रकम वा भविष्यका शर्तहरू पनि समावेश हुन सक्छन् ।

त्यसैले ‘१०० मिलियन पाउन्डको ट्रान्सफर’ सुन्दा पूरा रकम तत्कालै अर्को क्लबको खातामा गएको हो भन्ने पनि आवश्यक छैन ।

गोल र असिस्टभन्दा धेरै ठूलो हिसाब

फरवार्डको मूल्यांकन गर्दा गोल र असिस्ट स्वाभाविक रूपमा महत्वपूर्ण हुन्छन् । तर मिडफिल्डर वा डिफेन्डरको मूल्य त्यही आधारमा मात्रै निर्धारण गर्न सकिँदैन ।

पासिङ, प्रेसिङ, बल रिकभर गर्ने क्षमता, खेलको गति नियन्त्रण, एरियल एबिलिटी, वान भर्सेस् वानको क्षमता, चोटको इतिहास, ट्याक्टिकल बहुमुखी प्रतिभा र ठूलो खेलमा प्रदर्शन- यी सबैको मूल्य हुन्छ ।

त्यसमाथि एउटै पोजिसनमा विश्वस्तरीय खेलाडीको संख्या कम छ भने मूल्य अझ बढ्न सक्छ ।

उदाहरणका लागि, रक्षात्मक मिडफिल्डमा विश्वस्तरीय खेलाडी खोजिरहेको क्लबका लागि त्यही भूमिकामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको मूल्य गोल गर्ने विङ्गरको भन्दा फरक ढंगले निर्धारण हुन सक्छ ।

यसैले ‘उसले यति गोल गर्‍यो, त्यसैले यति मूल्य’ भन्ने हिसाब फुटबलको आधुनिक ट्रान्सफर बजारका लागि निकै सरल व्याख्या हुन्छ ।

एलियट एन्डरसन

उमेरले करोडौंको मूल्य किन बदल्छ ?

ट्रान्सफर मार्केटमा उमेर सबैभन्दा महत्वपूर्ण तत्वमध्ये एक हो ।

२१ वर्षको खेलाडी र २९ वर्षको खेलाडीले अहिले समान स्तरको प्रदर्शन गरे पनि उनीहरूको बजार मूल्य समान नहुन सक्छ ।

कारण सरल छ, क्लबले केवल आजको प्रदर्शन किन्दैन, भोलिको सम्भावना पनि किन्छ । युवा खेलाडीले लामो समयसम्म क्लबका लागि खेल्न सक्छ, उसको प्रदर्शन सुधारिन सक्छ र भविष्यमा महँगोमा पुनःबिक्री गर्न सकिने सम्भावना हुन्छ ।

यही कारणले युवा प्रतिभामा क्लबहरू ठूलो रकम जोखिममा राख्न तयार हुन्छन् ।

अर्कोतर्फ, अनुभवी खेलाडीले तत्काल प्रभाव दिन सक्ने सम्भावना बढी भए पनि उसको पुनःबिक्री मूल्य घट्दो हुन सक्छ ।

त्यसैले एउटै स्तरको प्रदर्शन गर्ने दुई खेलाडीमध्ये युवा खेलाडी महँगो हुनु अस्वाभाविक होइन ।

सम्झौताको अवधि पनि मूल्य हो

कुनै खेलाडीको सम्झौता अर्को वर्ष सकिँदैछ भने उसको बेच्ने क्लबको वार्ताशक्ति कमजोर हुन सक्छ । तर पाँच वर्षको सम्झौता बाँकी छ भने क्लबसँग बलियो स्थिति हुन्छ ।

त्यसैले एउटै खेलाडीलाई सम्झौता सकिनुअघि र सम्झौता सकिन केही महिनाअघि बेच्दा आउने रकममा ठूलो अन्तर हुन सक्छ ।

यही कारणले ट्रान्सफर बजारमा ‘कन्ट्रयाक्‍ट सिचुएसन’ एउटा महत्त्वपूर्ण शब्द हो ।

क्लबले खेलाडी गुमाउने जोखिम, खेलाडीले सम्झौता नवीकरण गर्ने वा नगर्ने अवस्था र बजारमा उसको मागलाई हेरेर बिक्री गर्ने निर्णय गर्छ ।

क्लब धनी भयो भने खेलाडी पनि महँगो हुन्छ ?

यसको उत्तर धेरै हदसम्म ‘हो’ नै हुन्छ ।

म्यान्चेस्टर सिटी, चेल्सी, आर्सनल, म्यान्चेस्टर युनाइटेड वा लिभरपुलजस्ता क्लबको आर्थिक क्षमता र सानो बजारका क्लबको आर्थिक क्षमता समान हुँदैन ।

एउटा क्लबका लागि १० करोड पाउन्ड खर्च ठूलो जोखिम हुन सक्छ भने अर्को क्लबले त्यही रकमलाई आफ्नो दीर्घकालीन योजनाको हिस्सा बनाउन सक्छ ।

तर धनी क्लब भएको मात्र कारणले जुनसुकै खेलाडीको मूल्य १० करोड पुग्दैन । यहाँ बेच्ने क्लबको आवश्यकता पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

खेलाडी बेच्नै नपर्ने क्लबले ‘मूल्य यति हो’ भनेर अडान लिन सक्छ । तर आर्थिक समस्या भएको वा नयाँ खेलाडी किन्न बिक्रीबाट रकम जुटाउनुपर्ने क्लबले कम रकममा पनि सम्झौता गर्न सक्छ ।

त्यसैले ट्रान्सफर बजारमा एउटै खेलाडीको मूल्य फरक क्लबका लागि फरक हुन सक्छ ।

एउटै खेलाडीका लागि दुई क्लबबीच करोडौंको अन्तर

ट्रान्सफर बजारमा खेलाडीको मूल्य खुला बजारको जस्तो स्थिर हुँदैन ।

मानौं, कुनै खेलाडीका लागि एउटा क्लबले ६ करोड पाउन्ड प्रस्ताव गर्‍यो। तर अर्को क्लब पनि त्यही खेलाडीका लागि प्रतिस्पर्धामा आयो भने बेच्ने क्लबको वार्ताशक्ति बढ्छ।

त्यहाँबाट मूल्य बढ्न सक्छ । कहिलेकाहीँ क्लबले खेलाडीलाई तुरुन्तै चाहेको हुन्छ । अर्को विकल्प उपलब्ध हुँदैन । सिजन सुरु हुन लागेको हुन्छ। प्रशिक्षकले त्यही खेलाडीलाई आफ्नो योजनाको मुख्य हिस्सा बनाएको हुन्छ ।

त्यस्तो अवस्थामा क्लबले सामान्य बजारमूल्यभन्दा धेरै रकम तिर्न तयार हुन सक्छ ।

यसलाई सामान्य भाषामा ‘अर्जेन्सी प्रिमियम’ भन्न सकिन्छ, अर्थात् तत्काल आवश्यकता पूरा गर्न तिरिएको अतिरिक्त मूल्य ।

एजेन्टले पनि हिसाब बदल्छ

फुटबल ट्रान्सफर दुई क्लबबीचको शुल्कमा मात्रै सकिँदैन । खेलाडीका एजेन्ट वा प्रतिनिधिले पनि सम्झौतामा भूमिका खेल्छन् र त्यससँग सम्बन्धित शुल्क हुन सक्छ ।

फिफाको हालको एजेन्ट नियमअनुसार निश्चित अवस्थाहरूमा एजेन्टको सेवाशुल्कमा सीमा तोकिएको छ । उदाहरणका लागि २ लाख अमेरिकी डलरभन्दा बढी वार्षिक पारिश्रमिक पाउने खेलाडीको प्रतिनिधित्व गर्दा खेलाडी वा क्लबको प्रतिनिधित्व गर्ने एजेन्टका लागि ३ प्रतिशतसम्म र अनुमति प्राप्त दोहोरो प्रतिनिधित्वमा ६ प्रतिशतसम्मको सीमा तोकिएको छ ।

रिलिज गर्ने क्लबको प्रतिनिधित्व गर्दा ट्रान्सफर क्षतिपूर्तिको १० प्रतिशतसम्मको सीमा उल्लेख छ ।

यसको अर्थ १०० मिलियन पाउन्डको ट्रान्सफर घोषणा भयो भन्दैमा त्यो सम्पूर्ण रकम खेलाडीको नयाँ क्लबले पुरानो क्लबलाई मात्र तिरेको हो भन्ने हुँदैन । सम्झौतामा एजेन्ट शुल्क, बोनस र अन्य सर्तहरू पनि हुन सक्छन् ।

‘अमोर्टाइजेसन’ले क्लबको खातामा ठूलो फरक पार्छ

फुटबलको ट्रान्सफर बजार बुझ्न सबैभन्दा रोचक शब्दमध्ये एउटा हो- अमोर्टाइजेसन

सामान्य समर्थकका लागि कुनै खेलाडी १० करोड पाउन्डमा किन्नु भनेको क्लबले १० करोड पाउन्ड तत्काल खर्च गर्नुजस्तो देखिन्छ ।

लेखांकनमा भने ट्रान्सफर शुल्कलाई खेलाडीको सम्झौताको अवधिभर खर्चका रूपमा बाँड्न सकिन्छ ।

उदाहरणका लागि, कुनै क्लबले खेलाडीलाई १० करोड पाउन्डमा पाँच वर्षको सम्झौतामा ल्यायो भने साधारण हिसाबमा वार्षिक अमोर्टाइजेसन २ करोड पाउन्ड हुन्छ ।

प्रिमियर लिगले पनि नयाँ वित्तीय प्रणालीमा अमोर्टाइजेसनलाई खेलाडीको ट्रान्सफर लागतलाई सम्झौताको अवधिमा बाँड्ने प्रक्रियाका रूपमा व्याख्या गरेको छ ।

यही कारणले क्लबहरूका लागि सम्झौताको अवधि केवल खेलाडीलाई कति वर्ष राख्ने भन्ने प्रश्न होइन, वित्तीय व्यवस्थापनको विषय पनि हो ।

यद्यपी लेखांकनका नियम र वित्तीय नियमनमा विभिन्न सीमा र प्रावधान हुन्छन् । यूईएफएको २०२६ नियमले खेलाडीको दर्ता लागतलाई सम्झौताको अवधिमा व्यवस्थित रूपमा अमोर्टाइज गर्ने व्यवस्था गरेको छ, अधिकतम पाँच वर्षसम्म ।

अब प्रिमियर लिगमा पुरानो पीएसआर मात्रै छैन

यसपटकदेखि अर्को महत्वपूर्ण परिवर्तन आएको छ । २०२६/२७ सिजनदेखि प्रिमियर लिगले प्रोफिटेबिलिटी एन्ड सस्टेनिबिलिटी रुल्स (पीएसआर) को स्थानमा नयाँ स्क्वाड कस्ट रेसियो (एससीआर) र सस्टेनिबिलिटी एन्ड सिस्टेमिक रेजिलियन्स (एसएसआर) प्रणाली लागू गरेको छ ।

एससीआर अन्तर्गत क्लबको खेलसम्बन्धी खर्चलाई फुटबलबाट प्राप्त आम्दानी र खेलाडी बिक्रीबाट भएको नाफा/घाटासँग जोडेर हेरिन्छ । नयाँ प्रणालीमा आधार सीमा ८५ प्रतिशत छ र क्लबहरूलाई निश्चित बहुवर्षीय अतिरिक्त ‘हेडरुम’ पनि दिइएको छ ।

यसमा खेलाडीको पारिश्रमिकसँगै एजेन्ट शुल्क र ट्रान्सफर शुल्कको अमोर्टाइजेसनसमेत समावेश हुन्छ ।

अर्थात्, आजको प्रिमियर लिगमा ‘क्लबसँग पैसा छ कि छैन ?’ मात्रै प्रश्न होइन । क्लबले त्यो पैसा वित्तीय नियमभित्र रहेर कसरी खर्च गर्छ ? भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ ।

पासपोर्ट र बजारको आकारले पनि प्रभाव पार्छ

खेलाडीको राष्ट्रियता आफैंमा मूल्य निर्धारण गर्ने वैज्ञानिक सूत्र होइन । तर पासपोर्टले अप्रत्यक्ष रूपमा मूल्यमा प्रभाव पार्न सक्छ ।

भिसा, वर्क परमिट, विदेशी खेलाडीसम्बन्धी नियम, घरेलु खेलाडीको स्थिति र प्रतियोगिताको दर्ता नियमले क्लबको निर्णय बदल्न सक्छ ।

त्यस्तै, खेलाडीको बजार पनि महत्वपूर्ण हुन्छ । ठूलो सामाजिक सञ्जाल पछ्याउने संख्या, प्रायोजन सम्भावना, जर्सी बिक्री, नयाँ बजारमा क्लबको पहुँच र खेलाडीको व्यक्तिगत ब्रान्डले व्यावसायिक मूल्य थप्न सक्छ ।

तर यहाँ पनि एउटा सावधानी आवश्यक छ- क्लबले खेलाडीलाई महँगो किनेको प्रमाण उसको ब्रान्ड मूल्य मात्रै होइन, मैदानमा प्रदर्शन नै अन्ततः सबैभन्दा ठूलो परीक्षा हो ।

प्रशिक्षण गर्ने क्लबले पनि पाउँछ हिस्सा

कुनै खेलाडी ठूलो रकममा बिक्री हुँदा त्यसको सबै पैसा बेच्ने क्लबमै रहँदैन ।

फिफाको प्रणालीअन्तर्गत खेलाडी हुर्काउन योगदान गरेका प्रशिक्षण क्लबहरूले पनि निश्चित अवस्थामा प्रशिक्षण क्षतिपूर्ति वा ‘सोलिडारिटी कन्ट्रिब्युसन’ प्राप्त गर्न सक्छन् । फिफा क्लियरिङ हाउसले यस्ता रकम सम्बन्धित प्रशिक्षण क्लबहरूमा वितरण गर्ने प्रणाली सञ्चालन गर्छ ।

अर्थात्, एउटा खेलाडीको करोडौं पाउन्डको ट्रान्सफरले उसको हालको क्लबलाई मात्र होइन, उसको विकासमा योगदान गरेका पुराना क्लबलाई पनि आर्थिक लाभ दिन सक्छ ।

यही कारणले आधुनिक फुटबलमा खेलाडी विकास आफैंमा आर्थिक लगानी बनेको छ ।

रोड्री

रोड्रीको उदाहरण

हालै म्यान्चेस्टर सिटीबाट बार्सिलोना पुगेका रोड्रीको उदाहरण पनि रोचक छ ।

स्पेनिस मिडफिल्डर सिटी पुगेको सात वर्षपछि क्लबबाट बाहिरिएका हुन् । उनको सिटी करिअरमा २९८ खेल, २८ गोल र १४ प्रमुख उपाधि छन् । उनले प्रिमियर लिगका चार उपाधि, च्याम्पियन्स लिग र दुई एफए कप जिते भने २०२४ मा बालोन डी’ओर पनि जिते ।

बार्सिलोनासँगको उनको ट्रान्सफरको रकम रिपोर्टअनुसार करिब ६ करोड ५४ लाख पाउन्ड पुगेको छ ।

रोड्रीको मूल्य बुझ्दा उनको गोल संख्या मात्रै हेर्न सकिँदैन । उनको पोजिसन, खेल नियन्त्रण गर्ने क्षमता, अनुभव, नेतृत्व, अन्तर्राष्ट्रिय सफलता र विश्वकै उत्कृष्ट डिफेन्सिभ मिडफिल्डरमध्ये एकको रूपमा स्थापित छवि सबै जोडिन्छन् ।

तर उनको उमेर पनि हेर्नुपर्छ- उनी ३० वर्षका छन् र उनको सिटीसँगको सम्झौता २०२७ सम्म मात्र बाँकी थियो ।

त्यसैले रोड्रीको उदाहरणले एउटा कुरा देखाउँछ- महान खेलाडी हुनु र महँगोमा बिक्री हुनु एउटै कुरा होइन ।

सम्झौताको अवधि, उमेर र बेच्ने क्लबको अवस्था पनि मूल्यको हिस्सा हुन् ।

भविष्यको मूल्य किन यति ठूलो ?

यस समरका दुई ठूला उदाहरण मोर्गन रोजर्स र इलियट एन्डरसन हुन् ।

रोजर्सलाई एस्टन भिल्लाबाट चेल्सी लैजान करिब ११७ मिलियन पाउन्डको सम्झौता भएको छ । एन्डरसनका लागि म्यानचेस्टर सिटीले नटिङहम फरेस्टलाई करिब ११६ मिलियन पाउन्ड तिरेको रिपोर्ट छ ।

दुवैमा समान कुरा के छ भने उनीहरू आफ्नो करिअरको अन्तिम चरणमा पुगेका खेलाडी होइनन् । क्लबले उनीहरूको आजको प्रदर्शनसँगै भविष्यका धेरै वर्ष पनि किनेको छ ।

एन्डरसन आफैंले पनि आफ्नो मूल्यलाई प्रमाणित गर्ने दबाब महसुस गरेको बताएका छन् । २३ वर्षीय मिडफिल्डरले यति ठूलो रकमको अपेक्षा आफूले बुझेको र त्यसलाई उपाधि जितेर सही साबित गर्न चाहेको बताएका छन् ।

यही हो आधुनिक ट्रान्सफर बजारको अर्को वास्तविकता- कहिलेकाहीँ क्लबले खेलाडीको विगतभन्दा बढी उसको भविष्यका लागि पैसा तिर्छ ।

***

त्यसो भए १०० मिलियन पाउन्डको खेलाडी वास्तवमै त्यति नै मूल्यका हुन्छन् त ? आवश्यक छैन ।

१०० मिलियन पाउन्ड कुनै खेलाडीको शरीर, क्षमता वा प्रतिभाको वैज्ञानिक मूल्यांकन होइन । त्यो दुई क्लबबीच भएको व्यापारिक सम्झौताको रकम हो ।

त्यसमा खेलाडीको प्रदर्शन, उमेर, सम्झौता, चोटको जोखिम, पोजिसन, भविष्यको सम्भावना, बजारमा माग, प्रतिस्पर्धी क्लब, बेच्ने क्लबको आर्थिक अवस्था, किन्ने क्लबको आर्थिक क्षमता र वित्तीय नियमसम्म जोडिन्छन् ।

त्यसैले कुनै खेलाडी १०० मिलियन पाउन्डमा सफल हुन सक्छ, अर्को ३० मिलियन पाउन्डमा विश्वस्तरीय बन्न सक्छ र १०० मिलियन पाउन्डको खेलाडी पनि असफल हुन सक्छ ।

ट्रान्सफर शुल्कले भविष्यको ग्यारेन्टी होइन, अपेक्षाको मूल्य बताउँछ । अन्ततः फुटबलमा खेलाडीको सबैभन्दा महँगो मूल्य ट्याग भनेको उसको प्रदर्शनले प्रमाणित गर्नुपर्ने अपेक्षा हो ।

क्लबले करोडौं पाउन्डमा खेलाडी किन्न सक्छ । लेखामा त्यसलाई वर्षौंमा बाँड्न सक्छ । बोनस र एजेन्ट शुल्कले सम्झौताको संरचना बदल्न सक्छ । वित्तीय नियमले खर्चको सीमा तोक्न सक्छ ।

तर मैदानमा भने हिसाब सरल छ । गोल, असिस्ट, बचाउ, उपाधि र टोलीमा प्रभाव ।

त्यहीँ पुगेर मात्रै माथिको प्रश्नको वास्तविक उत्तर आउँछ।

ट्रान्सफर इकोनोमी ट्रान्सफर शुल्क फुटबल खेलाडी
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय