News Summary
Generated by OK AI. Editorially reviewed.- नयाँ रिपोर्टअनुसार एप्पलले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरेको छ, जसमा प्रो मोडेल सन् २०२६ को सेप्टेम्बरमा आउन सक्छन् ।
- सामान्य आइफोन १८ सन् २०२७ को पहिलो त्रैमासिकसम्म धकेलिन सक्ने चर्चा छ, र यसको कारण मेमोरी चिप तथा सेमिकन्डक्टर आपूर्तिमा दबाब भनिएको छ ।
- रिपोर्टअनुसार एप्पलको सेप्टेम्बर कार्यक्रममा पहिलो फोल्डेबल आइफोन पनि आउन सक्छ, जसलाई कम्पनीभित्र आइफोन अल्ट्रा भनिएको दाबी गरिएको छ ।
३ भदौ, काठमाडौं । एप्पलले वर्षौँदेखि अपनाउँदै आएको एउटै समयमा नयाँ आइफोन सार्वजनिक गर्ने परम्परा यसपटक तोडिन सक्ने देखिएको छ ।
नयाँ रिपोर्टअनुसार कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यसको अर्थ, महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् भने सामान्य आइफोन १८ का लागि उपभोक्ताले सन् २०२७ सम्म कुर्नुपर्ने हुनसक्छ ।
तर यो कुरा अहिलेसम्म एप्पलले आधिकारिक रूपमा पुष्टि गरेको छैन । एप्पलका प्रमुख आपूर्तिकर्तामध्ये एक पेगाट्रोनको विवरण र त्यसमा आधारित रिपोर्टमालाई लिएर विश्वभर यसको चर्चा भईरहेको हो ।
आइफोन १८ दुई चरणमा आउने चर्चा
पेगाट्रोनका अधिकारीहरूले कम्पनीका ग्राहकहरूले स्मार्टफोनको ढुवानी तालिकामा परिवर्तन गरिरहेको बताएका छन् । यसैलाई आधार मान्दै विभिन्न समाचार एजेन्सीका रिपोर्टहरूले एप्पलले आइफोन १८ सिरिजलाई छुट्टाछुट्टै समयमा बजारमा उतार्ने तयारी गरेको उल्लेख गरेका छन् ।
उक्त रिपोर्टमा उल्लेखित तालिकाअनुसार आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्स सेप्टेम्बर २०२६ मै सार्वजनिक हुन सक्छन्, जुन नियमित समय हो । त्यही कार्यक्रममा एप्पलको पहिलो फोल्डेबल आइफोन पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ । तर सामान्य आइफोन १८ भने सन् २०२७ को पहिलो त्रैमासिक, अर्थात् जनवरीदेखि मार्चबीचमा बजारमा आउने सम्भावना देखिन्छ ।
किन ढिला लन्च हुँदैछ सामान्य मोडेल ?
रिपोर्टअनुसार यो परिवर्तनको मुख्य कारण मेमोरी चिप तथा अन्य महत्वपूर्ण सेमिकन्डक्टरको आपूर्तिमा देखिएको दबाब हो । पेगाट्रोनका अनुसार चिप अभावले स्मार्टफोन उत्पादन मात्र होइन, ढुवानीको समयतालिकामै परिवर्तन ल्याइरहेको छ ।
यसको अर्को कारण एआई सर्भरको बढ्दो माग पनि हो । एआई सञ्चालन गर्ने डेटा सेन्टरका लागि आवश्यक उच्च क्षमताका मेमोरी चिप र अन्य उन्नत कम्पोनेन्टमा माग बढ्दा स्मार्टफोन निर्माताहरूले आवश्यक सामग्री सहज रूपमा पाउन कठिनाइ भोगिरहेका छन् ।
यस्तो अवस्थामा कम्पनीहरूले सीमित कम्पोनेन्टलाई बढी नाफा दिने उत्पादनमा प्रयोग गर्ने गर्छन् । आइफोन १८ प्रो र प्रो म्याक्सको मूल्य सामान्य मोडेलभन्दा बढी हुने भएकाले एप्पलले उपलब्ध सामग्री पहिले प्रिमियम मोडेलमा प्रयोग गर्ने रणनीति अपनाएको हुनसक्ने विश्लेषण गरिएको छ ।
यसले एप्पललाई दुईवटा फाइदा दिनसक्छ । पहिलो, सीमित आपूर्तिबाट पनि महँगा मोडेल बिक्री गरेर आम्दानी कायम राख्न सकिन्छ । दोस्रो, सामान्य मोडेलको उत्पादन पछि सारेर आपूर्ति व्यवस्थापनका लागि थप समय प्राप्त हुन्छ ।
सेप्टेम्बरमा यी मोडल आउने सम्भावना
यदि हालका रिपोर्ट सही भएमा, एप्पलको सेप्टेम्बर कार्यक्रम यसपटक सामान्यभन्दा फरक हुनेछ । कार्यक्रममा आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्ससँगै कम्पनीको पहिलो फोल्डेबल आइफोन पनि सार्वजनिक हुनसक्छ । एप्पल स्वयंले यसबारे घोषणा गरिनसके पनि बजार विश्लेषणहरुमा यसको चर्चा भइरहेको छ ।
यो फोल्डेबल उपकरणलाई एप्पलभित्र आइफोन अल्ट्रा नामले सम्बोधन गरिएको दाबी गरिएको छ । रिपोर्टअनुसार यसमा बाहिरी भागमा करिब ५.५ इन्चको डिस्प्ले र खोल्दा ७.८ इन्चको भित्री डिस्प्ले हुन सक्छ । यसको डिजाइन किताबजस्तै खुल्ने प्रकारको हुने र स्क्रिनको बीचमा देखिने क्रिजलाई निकै कम बनाउने प्रयास गरिएको बताइएको छ ।
उपभोक्तालाई कस्तो असर पर्ला ?
यदि एप्पलले यस्तो विभाजित सार्वजनिक रणनीति अपनायो भने सामान्य आइफोन किन्न चाहने उपभोक्ताले यस वर्षको सेप्टेम्बरसम्म मात्र होइन, सन् २०२७ को सुरुवातसम्म कुर्नुपर्नेछ । नयाँ आइफोन तत्काल प्रयोग गर्न चाहने ग्राहकका लागि त्यसबेला प्रो वा प्रो म्याक्सजस्ता महँगा मोडेल मात्र विकल्प बन्न सक्छन् ।
यसले खरिदकर्तालाई निर्णय गर्न पनि कठिन बनाउन सक्छ । विगतमा नयाँ सिरिजका सामान्य र प्रो मोडेल एउटै समयमा सार्वजनिक हुन्थे । ग्राहकले मूल्य, क्यामेरा, पर्ममेन्स र डिजाइन तुलना गरेर तत्काल आफ्नो रोजाइ बनाउन सक्थे । तर अब सामान्य मोडेल केही महिनापछि मात्र आउने हो भने ग्राहकले अहिले उपलब्ध महँगो मोडेल किन्ने वा पुरानो आइफोनमै रहने भन्ने निर्णय गर्नुपर्ने हुन्छ ।
अर्कोतर्फ, यो रणनीतिले एप्पललाई बजारमा आफ्नो प्रिमियम छवि अझ बलियो बनाउन पनि मद्दत गर्न सक्छ । सेप्टेम्बरको ध्यान महँगा प्रो मोडेल र फोल्डेबल आइफोनमा केन्द्रित हुनेछ भने सामान्य तथा सस्तो मोडेलका लागि कम्पनीले सन् २०२७ मा छुट्टै प्रचार अभियान चलाउन सक्नेछ ।
मूल्य बढ्ने सम्भावना
मेमोरी चिपको अभाव र बढ्दो मूल्यले आगामी आइफोन महँगो हुन सक्ने अनुमान पनि गरिएको छ । पेगाट्रोनको विश्लेषणअनुसार मेमोरीको माग र आपूर्तिबीचको असन्तुलन तत्काल समाधान नहुन सक्छ । कारण, बजार सामान्य अवस्थामा फर्किन सन् २०२८ सम्म लाग्न सक्ने अनुमान गरिएको छ ।
एआई सर्भरका लागि आवश्यक चिपमा विश्वव्यापी माग तीव्र रूपमा बढिरहेका बेला स्मार्टफोन निर्माताले पनि उही आपूर्ति स्रोतमा निर्भर हुनुपरेको छ । उत्पादन लागत बढेमा त्यसको केही हिस्सा उपभोक्तामाथि सारिन सक्छ । त्यसैले आइफोन १८ प्रो, प्रो म्याक्स र सम्भावित आइफोन अल्ट्राको मूल्य अघिल्लो भन्दा माथि जाने सम्भावना देखिन्छ ।
एप्पलका लागि ठूलो रणनीतिक मोड
आइफोन ११ देखि आइफोन १७ सम्म एप्पलले सामान्य र प्रो मोडेललाई प्रायः एउटै सेप्टेम्बर चक्रमा सार्वजनिक गर्दै आएको थियो ।
सन् २०२० मा कोभिड–१९ महामारीका कारण आइफोन १२ को सार्वजनिक कार्यक्रम अक्टोबरसम्म सरेको थियो । तर पनि एउटै सिरिजका सामान्य र प्रिमियम मोडेललाई महिनौँको अन्तरमा सार्वजनिक गर्ने योजना भने एप्पलका लागि नयाँ अभ्यास हुनेछ ।
अहिले उपलब्ध जानकारीका आधारमा भन्दा, सामान्य आइफोन १८ किन्न चाहने उपभोक्ताले सन् २०२७ को पहिलो त्रैमासिकसम्म कुर्नुपर्ने सम्भावना बलियो देखिन्छ । तर अन्तिम निर्णय एप्पलको आधिकारिक घोषणा र सेप्टेम्बरमा हुने कार्यक्रमपछि मात्र स्पष्ट हुनेछ ।
प्रतिक्रिया 4