News Summary
Generated by OK AI. Editorially reviewed.- ओपनएआईले १३ देखि १७ वर्ष उमेरका किशोरकिशोरीका लागि ‘च्याटजीपीटी फर टीन्स’ सार्वजनिक गर्दै अगस्ट १८ देखि विश्वव्यापी रूपमा उपलब्ध गराउन सुरु गरेको छ ।
- यो सेवामा ‘स्टडी मोड’, ‘क्विजेज’, ‘लर्निङ भिजुअलाइजेसन्स’ र ‘स्टडी आवर्स’ समावेश छन्, जसले गृहकार्यमा सीधा उत्तरभन्दा चरणबद्ध सहयोग गर्छ ।
- ओपनएआईले आत्महानि, हिंसा, यौन र अत्यधिक हिंसात्मक सामग्रीमा कडा नियन्त्रणसहित अभिभावकका लागि ‘प्यारेन्टल कन्ट्रोल’ सुविधा पनि दिएको छ ।
ओपनएआईले १३ देखि १७ वर्ष उमेरका किशोरकिशोरीका लागि ‘च्याटजीपीटी फर टीन्स’ सार्वजनिक गरेको छ ।
किशोरहरूलाई पढाइमा सहयोग गर्न, आलोचनात्मक सोच बढाउन र एआई सुरक्षित रूपमा प्रयोग गर्न सिकाउने उद्देश्यले यो सेवा ल्याइएको हो ।
यो सेवा अगस्ट १८ देखि नि:शुल्क र सशुल्क व्यक्तिगत खातामा विश्वव्यापी रूपमा उपलब्ध गराउन सुरु गरिएको छ ।
‘च्याटजीपीटी फर टीन्स’ मा ‘स्टडी मोड’ सुविधा राखिएको छ । यसले विद्यार्थीलाई गृहकार्यको सीधा उत्तर दिनुभन्दा प्रश्न सोध्दै र चरणबद्ध रूपमा समस्या समाधान गर्न सहयोग गर्छ ।
विद्यार्थीले गृहकार्य छिटो सक्नका लागि सिधा उत्तर खोजेको देखिएमा ‘रिस्पोन्सिबल होमवर्क रिमाइन्डर’ सुविधाले उसलाई फेरि ‘स्टडी मोड’ तर्फ लैजान्छ ।

यसमा अभ्यासका लागि ‘क्विजेज’, कठिन विषय बुझाउन ‘लर्निङ भिजुअलाइजेसन्स’ र नियमित पढाइका लागि ‘स्टडी आवर्स’ सुविधा पनि समावेश छन् ।
‘स्टडी आवर्स’ मा किशोर वा अभिभावकले निश्चित समय तोक्न सक्छन्, जसपछि नयाँ कुराकानी ‘स्टडी मोड’ बाट सुरु हुन्छ ।
किशोरकिशोरीहरूलाई हानिकारक सामग्रीबाट जोगाउन यो सेवामा थप सुरक्षा व्यवस्था गरिएको ओपनएआईले जनाएको छ । आत्महानि, हिंसा, ‘इटिङ डिसअर्डर्स’, खतरनाक गतिविधि तथा यौन वा अत्यधिक हिंसात्मक सामग्रीजस्ता विषयमा कडा नियन्त्रण लागु हुनेछ । लामो समयसम्म सेवा प्रयोग गर्दा विश्राम लिन सम्झाउने ‘ब्रेक रिमाइन्डर’ पनि देखाइनेछ । किशोरकिशोरीलाई निजी वा संवेदनशील तस्वीर अनलाइन सेयर नगर्न चेतावनी दिने ‘सेन्सिटिभ इमेज अपलोड रिमाइन्डर’ को व्यवस्था समेत गरिएको छ ।

अभिभावकले किशोरकिशोरीको खातासँग आफ्नो खाता जोडेर ‘प्यारेन्टल कन्ट्रोल’ प्रयोग गर्न सक्नेछन् । यसमार्फत उनीहरूले ‘क्वाइट आवर्स’ अर्थात् सेवा प्रयोग गर्न नपाउने समय तोक्न, केही सेटिङ व्यवस्थापन गर्न र गम्भीर सुरक्षा जोखिम देखिएमा सीमित ‘सेफ्टी नोटिफिकेसन’ प्राप्त गर्न सक्छन् । तर अभिभावकले किशोरकिशोरीका सबै कुराकानी पढ्न वा निगरानी गर्न भने पाउने छैनन् ।
किशोरकिशोरीले आफ्नो उमेर १३ देखि १७ वर्ष भएको बताएमा वा ओपनएआईको ‘एज प्रिडिक्सन’ प्रणालीले प्रयोगकर्ता १८ वर्षभन्दा कम उमेरको भएको अनुमान गरेमा ‘च्याटजीपीटी फर टीन्स’ स्वचालित रूपमा लागु हुनेछ ।
यस संस्करणमा च्याटजीपीटीले किशोरकिशोरीसँग रोमान्टिक भाषा प्रयोग नगर्ने, भावनात्मक निर्भरता बढाउने व्यवहार नगर्ने र आफूलाई मानिसजस्तो प्रस्तुत नगर्ने व्यवस्था गरिएको छ ।
ओपनएआईले किशोरकिशोरीलाई एआई प्रयोग गर्न मात्र नभई एआईले कसरी काम गर्छ, यसले गर्ने गल्ती कसरी पहिचान गर्ने र यसको उत्तरमाथि कहिले प्रश्न उठाउने भन्ने कुरा सिकाउन कोडएआईसँग साझेदारी पनि गरेको छ । कम्पनीका अनुसार, किशोरकिशोरीले एआईको सहयोगमा नयाँ सीप सिक्ने, आफ्नै उपकरण बनाउने र समुदायका समस्या समाधान गर्ने काममा सहभागी हुन सक्नेछन् ।
प्रतिक्रिया 4