News Summary
Generated by OK AI. Editorially reviewed.- जापानको आइची-नागोयामा १९ सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म हुने २०औं एसियन गेम्स सुरु हुन अब एक महिना मात्र बाँकी छ ।
- ओसीएका अनुसार १६ दिन चल्ने प्रतियोगितामा ४५ देशका ११ हजारभन्दा बढी खेलाडी र ६ हजार पदाधिकारी सहभागी हुनेछन् ।
- २०औं एसियन गेम्समा ४३ खेलका ७१ विधा, ४६९ स्पर्धा र १ हजार ४०७ पदक रहनेछन् ।
४ भदौ, काठमाडौं । जापानको आइची-नागोयामा आयोजना हुने एसियाकै सबैभन्दा ठूलो खेलकुद मेला २०औं एसियन गेम्स (एसियाड) सुरु हुन अब एक महिना बाँकी छ ।
ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) र आइची–नागोया एसियन गेम्स आयोजक समिति (एएनएजीओसी)ले सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने एसियाको सबैभन्दा ठूलो बहु–खेलकुद प्रतियोगिता २०औँ एसियन गेम्स सुरु हुन अब एक महिना मात्र बाँकी रहेको अवसरमा उत्सव मनाएका छन् ।
१६ दिनसम्म चल्ने यस खेलकुद प्रतियोगितामा एसियाका ४५ देशका ११ हजारभन्दा बढी खेलाडी र ६ हजार पदाधिकारी सहभागी हुने ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले जनाएको छ ।
२०औं एसियन गेम्समा ४३ खेलमा ७१ विधा समावेश छन् । जसमा कुल ४६९ स्पर्धा समावेश छ भने १ हजार ४०७ पदक प्रदान गरिनेछ ।
यसले एसियाली खेलकुदको इतिहासमा एउटा ऐतिहासिक उत्सवको रूप लिने अपेक्षा गरिएको ओसिएले जनाएको छ।
‘इम्याजिन वन एसिया’ आधिकारिक नारासहित आइची–नागोया एसियन गेम्स जापानले आयोजना गर्दैछ । जापानले एसियन गेम्स आयोजना गर्न लागेको यो तेस्रो पटक हो । यसअघि जापानले दुई पटक टोकियो (१९५८) र हिरोसिमा (१९९४) एसियन गेम्स सफलतापूर्वक आयोजना गरेको थियो ।
आइची–नागोया २०२६ एसियाको प्रमुख बहु–खेलकुद महोत्सवका रूपमा महादेशलाई एकताबद्ध गर्ने महत्वपूर्ण अवसर बन्नेछ । जहाँ १० हजार २०० स्वयंसेवकले सहयोग गर्नेछन् भने ५ हजार ३०० मान्यता प्राप्त सञ्चारकर्मीले प्रतियोगिताको समाचार तथा गतिविधि विश्वभर पुर्याउने ओसिएले जनाएको छ । विश्वभरका करोडौँ दर्शकले प्रत्यक्ष तथा विभिन्न माध्यमबाट प्रतियोगिताको प्रसारण हेर्ने अपेक्षा गरिएको छ । जापान एसियाका खेलाडीलाई अविस्मरणीय खेलकुद महोत्सव प्रदान गर्न तयार अवस्थामा पुगेको छ ।
ओसीएका अध्यक्ष शेख जोआन बिन हमाद अल थानीले ओलम्पिक परिवारभित्रको सबैभन्दा ठूलो र सबैभन्दा धेरै विविधा भएको महादेशको प्रतिनिधित्व गर्ने यी खेलहरूले एसियालाई एकताबद्ध गर्ने शक्ति, ऐक्यबद्धता र साझा दृष्टिकोणको वास्तविक सामर्थ्य प्रस्तुत गर्ने बताएका छन् ।
‘जापानसँग प्रमुख अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने विश्वस्तरीय अनुभव छ । त्यसैले आइची–नागोया २०२६ ले आगामी संस्करणका लागि नयाँ मापदण्ड स्थापित गर्नेमा म विश्वस्त छु । यसले युवालाई सशक्त बनाउनेछ र एसियाली खेलकुदको आगामी पुस्तालाई प्रेरणा दिनेछ ।’
यस्तै ओसीएका महानिर्देशक हुसेन अल-मुसल्लमले आइची–नागोया २०२६ सुरु हुन एक महिना बाँकी रहेको अवसरमा एसियाका खेलाडीका लागि सबैभन्दा ठूलो मञ्च तयार पार्न सहयोग गर्ने जापानलाई धन्यवाद दिए । ‘यी खेलहरूले जापानमा मात्र नभई सम्पूर्ण एसियाका लाखौँ मानिसका लागि अविस्मरणीय क्षण सिर्जना गर्नेछन् । खेलकुदमार्फत जीवनभर कायम रहने मित्रता स्थापित हुनेछ, विविधतामार्फत शान्तिको प्रवर्द्धन हुनेछ र हाम्रो विशाल महादेशको हरेक कुनासम्म पुग्ने विरासत निर्माण हुनेछ ।’
आइची–नागोया २०२६ को उद्घाटन समारोह १९ सेप्टेम्बरमा भव्य रूपमा हुनेछ भने ४ अक्टोबरमा समापन समारोहसँगै प्रतियोगिता सम्पन्न हुनेछ । दुई साता भन्दा बढी चल्ने विश्व स्तरको यो खेल मेलाका लागी एसियाली राष्ट्रहरु तयारी अवस्थामा छन् ।
COVER PHOTO: OCA
प्रतिक्रिया 4