+

इमरान खानको स्वास्थ्यबारे क्रिकेटका २१ पूर्वकप्तानले लेखे पाकिस्तानी प्रधानमन्त्रीलाई पत्र

२०८३ भदौ  ८ गते १०:३८ २०८३ भदौ ८ गते १०:३८
इमरान खानको फाइल तस्वीर ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्रिकेट जगतका २१ पूर्वकप्तानले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफलाई पत्र लेखेर इमरान खानलाई उचित स्वास्थ्य उपचार र चिकित्सा सुविधा उपलब्ध गराउन माग गरेका छन्।
  • पूर्वकप्तानहरूले सर्वोच्च अदालतको आदेशअनुसार इमरानलाई अस्पताल लगेर मेडिकल बोर्डबाट परीक्षण गरिनुपर्ने भए पनि सरकारले नियुक्त टोलीले स्वास्थ्य परीक्षण गरेको दाबी गरेका छन्।
  • पूर्वकप्तानहरूले इमरानलाई केही घण्टामात्र अस्पताल राखेर ‘चिकित्सकीय रूपमा स्वस्थ’ भन्दै पुनः अदियाला जेल पठाइएको बताएका छन्।

८ भदौ, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर क्रिकेट जगतका २१ जना पूर्वकप्तानले प्रधानमन्त्री शहबाज शरीफलाई पत्र लेखेका छन् ।

पूर्वकप्तानहरूले प्रधानमन्त्री शहबाजलाई पत्र लेखेर क्रिकेटरसमेत रहिसकेका पूर्वप्रधानमन्त्री इमरान खानलाई उचित स्वास्थ्य उपचार तथा आवश्यक चिकित्सा सुविधा उपलब्ध गराउन माग गरेका छन् ।

‘क्रिकइन्फो’का अनुसार पत्रमा पाकिस्तानको सर्वोच्च अदालतले इमरान खानलाई अस्पताल लगेर मेडिकल बोर्डमार्फत स्वास्थ्य परीक्षण गराउन निर्देशन दिएको उल्लेख गरिएको छ ।

उक्त मेडिकल बोर्डमा इमरान खानका निजी चिकित्सकहरूका साथै उनकी बहिनी डा. उज्मा खानलाई पनि समावेश गर्नुपर्ने अदालतको आदेश थियो । अदालतले इमरानको परिवारसँग साप्ताहिक भेटघाटको व्यवस्था पुनः सुरु गर्नसमेत आदेश दिएको थियो ।

पूर्वकप्तानहरूले इमरानलाई अस्पतालमा केही घण्टामात्र राखिएको र अदालतको आदेशअनुसार गठन गरिएको मेडिकल बोर्डबाट नभई सरकारले नियुक्त गरेको टोलीबाट उनको स्वास्थ्य परीक्षण गरिएको दाबी गरेका छन् ।

उक्त टोलीले उनलाई ‘चिकित्सकीय रूपमा स्वस्थ’ घोषणा गर्दै पुनः अदियाला जेल पठाएको पूर्वकप्तानहरूको भनाइ छ ।

प्रधानमन्त्री शहबाजलाई पूर्वकप्तानहरूले पठाएको यो दोस्रो पत्र हो । यसअघि १४ फेब्रुअरीमा १४ जना पूर्वकप्तानले इमरानको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै पत्र लेखेका थिए ।

त्यतिबेला इमरानको परिवारले आँखाको समस्याका कारण उनको एउटा आँखाको दृष्टि लगभग पूर्ण रूपमा गुमेको र जेलमा उचित उपचार नपाएको दाबी गरेको थियो ।

पत्र लेख्ने २१ पूर्वकप्तान

माइकल एथर्टन
एलेक्स ब्ल्याकवेल
एलन बोर्डर
माइकल ब्रियरली
ग्रेग च्यापेल
इयान च्यापेल
बेलिन्डा क्लार्क
एलेस्टर कुक
सुनील गावस्कर
ली जर्मन
एडम गिलक्रिस्ट
डेभिड गावर
किम ह्युजेस
नासिर हुसेन
क्लाइभ लोयड
कपिल देव
अर्जुना रणतुंगा
एन्ड्र्यु स्ट्रस
दिलीप भेङ्सरकर
स्टिभ व
जोन राइट

इमरान खान क्रिकेट कप्तान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय