+
+
Shares

पाँच वर्षमा ४ खर्ब ७० अर्ब रुपैयाँका सवारीसाधन तथा पार्टपूर्जा आयात

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते १२:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले पछिल्ला पाँच आर्थिक वर्षमा करिब ४ खर्ब ७० अर्ब रुपैयाँका सवारीसाधन र सामग्री आयात गरी ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व संकलन गरेको नाडाले जनाएको छ।
  • पछिल्लो एक आर्थिक वर्षमा मात्रै अटोमोबाइल क्षेत्रबाट राज्यले ७५ अर्ब रुपैयाँभन्दा बढी राजस्व प्राप्त गरेको नाडाले जनाएको छ।
  • नाडाको स्वर्ण जयन्तीमा ‘मेड इन नेपाल तथा मेड फर नेपाल’ प्याभिलियनमार्फत विद्युतीय मोटरसाइकल, ब्याट्री, ल्युब्रिकेन्ट र हेलमेटलगायत उत्पादन प्रदर्शन गरिनेछ।

८ भदौ, काठमाडौं । नेपालले पछिल्ला पाँच आर्थिक वर्षमा करिब ४ खर्ब ७० अर्ब रुपैयाँ बराबरका सवारीसाधन तथा सम्बन्धित सामग्री आयात गरेको छ ।

यसबाट सरकारले करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व संकलन गरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । नाडाका अनुसार पछिल्लो एक आर्थिक वर्षमा मात्रै अटोमोबाइल क्षेत्रबाट राज्यले ७५ अर्ब रुपैयाँभन्दा बढी राजस्व प्राप्त गरेको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापना भएको दुई वर्षपछि सन् १९७७ मा नेपालमा वर्षभरिमा ८०१ वटा नयाँ सवारीसाधन दर्ता भएका थिए । अहिले देशमा दर्ता भएका सवारीसाधनको संख्या करिब ५५ लाख पुगेको छ । नयाँ दर्ता हुने सवारीसाधनमध्ये करिब ८४ प्रतिशत मोटरसाइकल रहेका छन् ।

पाँच दशकको अवधिमा नेपालमा सवारीसाधनको प्रयोग र अटोमोबाइल क्षेत्रको विस्तार उल्लेख्य रूपमा बढेको नाडाले जनाएको छ । आयात र राजस्वमा भएको योगदानसँगै यस क्षेत्रले देशभर डिलर सञ्जाल, पार्टपुर्जा तथा आफ्टरमार्केट आपूर्ति शृंखला, दक्ष मेकानिक तथा सर्भिस टेक्निसियन, अटो फाइनान्स र सवारी बीमाको विस्तारमा समेत भूमिका खेलेको छ ।

नाडाका अनुसार अटोमोबाइल क्षेत्रको विकाससँगै उत्सर्जन, सवारी सुरक्षा तथा करसम्बन्धी नीतिमा सरकारसँग निरन्तर संवाद हुँदै आएको छ । यी संरचना र सेवाको विकासमा दशकौं लागेको नाडाको भनाइ छ ।

यसैबीच, नाडाले आफ्नो स्वर्ण जयन्ती संस्करणमा ‘मेड इन नेपाल तथा मेड फर नेपाल’ प्याभिलियनमार्फत नेपालमै उत्पादन तथा एसेम्बल गरिएका सवारीसाधन र अटोमोबाइल सामग्री प्रदर्शन गर्ने भएको छ ।

उक्त प्याभिलियनमा विद्युतीय मोटरसाइकल, अटोमोटिभ ब्याट्री, ल्युब्रिकेन्ट र हेलमेटलगायतका उत्पादन प्रदर्शन गरिनेछ । करिब आठ नेपाली उत्पादक सहभागी हुने अपेक्षा गरिएको नाडाले जनाएको छ ।

नेपाल अझै अटोमोबाइल उत्पादनमा आत्मनिर्भर मुलुक भने नभइसके पनि पछिल्ला वर्षमा स्वदेशमै केही सवारीसाधन तथा अटोमोबाइल सामग्री उत्पादन र एसेम्बल गर्न थालिएको नाडाको भनाइ छ । यसलाई आयातमुखी अटोमोबाइल क्षेत्रबाट क्रमशः स्वदेशी उत्पादनतर्फ अघि बढिरहेको संकेतका रूपमा लिइएको छ ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपाल अब गाडी आयात गर्ने देशमा मात्र सीमित नरहेको बताए । ‘हामीले दिन खोजेको सन्देश यही हो—नेपाल अब गाडी आयात गर्ने देशमा मात्र सीमित छैन, हामी स्वदेशी उद्योगतर्फ बढिरहेका छौं,’ उनले भने ।

पचास वर्षअघि नेपालमा सवारीसाधन भित्र्याउने व्यवसायीहरूको प्रतिनिधित्व गर्ने उद्देश्यले स्थापना भएको नाडाले अहिले सवारीसाधन आयात, एसेम्बल, वित्तीय सुविधा, बीमा, सर्भिस, पार्टपुर्जा आपूर्ति तथा स्वदेशी उत्पादनमा संलग्न व्यवसायको समेत प्रतिनिधित्व गर्दै आएको छ ।

सुजुकी र टाटालगायतका ब्रान्डहरू दशकौंदेखि नेपाली सडकको हिस्सा बनेका छन् । कतिपय अवस्थामा एउटै परिवारका तीन पुस्तासम्मले एउटै डिलरबाट सवारीसाधन खरिद गरेको नाडाले जनाएको छ । यसले नेपालमा अटोमोबाइल बजारसँगै निर्माण भएको दीर्घकालीन व्यावसायिक संरचना र उपभोक्ता सम्बन्धलाई समेत देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?