+

लिंगमा पनि फिलर, के लिंगको आकार बढाउने चलन बढ्दैछ ?

२०८३ भदौ  ९ गते १६:०९ २०८३ भदौ ९ गते १६:०९
लिंगमा पनि फिलर, के लिंगको आकार बढाउने चलन बढ्दैछ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्यानचेस्टरका जेसनले हाइल्युरोनिक एसिड फिलर लगाएर लिंगको मोटाइ १६ प्रतिशत बढाएको र त्यसबाट आत्मविश्वास बढेको बताएका छन्।
  • विशेषज्ञहरूले फिलर र शल्यक्रियाबाट दुखाइ, संक्रमण, रक्तनली क्षति र तन्तु नष्ट हुने जोखिम रहने भन्दै कडा नियमन र राष्ट्रिय अभिलेखको माग गरेका छन्।

अहिले विश्वमा एउटा अनौठो ट्रेन्ड चल्तीमा छ, पुरुषहरूले लिंगलाई मोटो बनाउने ट्रेन्ड बढिरहेको छ । तर यो प्रक्रियामा जोखिम पनि उत्तिकै छ । जेसनलाई ‘कोक क्यान’ जस्तो लिंग चाहिएको थिएन । अत्यधिक फिलर प्रयोग गरेर लिंगलाई बाक्लो पेय पदार्थको क्यानजस्तै बनाइएकालाई कतिपयले ‘कोक क्यान’ भन्ने गर्छन् ।

म्यानचेस्टरमा भएको भेटमा जेसनले भने, ‘केही मानिसहरू हदभन्दा धेरै नै गर्छन् ।’ तर, लिंगमा फिलर प्रयोग गरेपछि उनको लिंगको मोटाइ १६ प्रतिशतले बढेको छ । यसबाट उनी र उनकी साथी दुवै खुसी नै छन् । उनी भन्छन्, ‘यसले आफ्नो आत्मविश्वास बढाएको छ ।

जेसनका अनुसार अहिले पनि सबै कुरा सामान्य रूपमा चलिरहेको छ । फरक यति हो, लिंग केही बाक्लो भएको छ ।

जेसनजस्ता कति पुरुषले लिंगमा फिलर लगाइरहेका छन् भन्ने स्पष्ट तथ्यांक छैन ।

ओठमा लगाइने फिलरजस्तो यसको लोकप्रियता सडकमा हिँड्दा सहजै अनुमान गर्न पनि सकिँदैन । प्रक्रियाको कुनै आधिकारिक अभिलेख पनि छैन, किनकि यस्तो प्रक्रिया जो–कोही शल्य चिकित्सकले गर्न सक्ने अवस्था छ ।

यद्यपि, पछिल्लो शीतकालीन ओलम्पिकका क्रममा एउटा अनौठो षड्यन्त्रको हल्ला चलेको थियो । पुरुष स्की जम्परहरूले आफ्नो पोसाकको अगाडिको भाग ठूलो देखाउन फिलर प्रयोग गरिरहेका छन्, जसका कारण उनीहरू अझ टाढासम्म जम्प गर्न सक्छन् भन्ने अफवाह फैलिएको थियो ।

लिंगमा फिलर लगाउने प्रक्रिया के हो ?

जेसनले आफ्नो परिचय गोप्य राख्दै यो विषयमा खुलेर कुरा गरे । उनी आफ्नो लिंगको लम्बाइसँग सन्तुष्ट थिए । तर आफूलाई अलि बढी बाक्लो आकार चाहिएको उनी बताउँछन्, ताकि लिंगको स्वरूप सन्तुलित देखियोस् ।

जेसन भन्छन्, ‘यदि तपाईंलाई आफ्नो लिंगमा केही कमी छ जस्तो लाग्छ भने त्यसलाई सुधार्न शल्यक्रिया किन नगर्ने ?’

उनले करिब एक वर्षसम्म विभिन्न विकल्पबारे विचार गरे । अन्ततः शल्यक्रिया गर्ने निर्णय बदले ।उनले अस्थायी प्रकृतिको हाइल्युरोनिक एसिड फिलर रोजे । यसको एउटा फाइदा के हो भने आफूलाई लिंगको स्वरूप मन नपरेमा फिलरलाई औषधिको माध्यमबाट घोलेर हटाउन सकिन्छ ।

जेसन आफूलाई ‘देखावटी पुरुषत्व’ बाट प्रभावित भएको मान्दैनन् ।

उनी भन्छन्, ‘तपाईंको लिंग कति ठूलो छ र तपाईं कति ठूलो पुरुष हुनुहुन्छ भन्ने सोचमा म विश्वास गर्दिनँ ।’ उनका अनुसार पुरुषको सौन्दर्यसम्बन्धी अपेक्षाहरू पनि परिवर्तन भइरहेका छन् ।

‘महिलाहरूले मात्र होइन, पुरुषहरूले पनि अगाडि बढ्न आवश्यक छ ।’ उनी भन्छन्, ‘समाजमा वास्तवमै परिवर्तन भइरहेको छ । सञ्चारमाध्यमले हरेक कुरालाई जसरी प्रस्तुत गर्छ, त्यसको हाम्रो दैनिक जीवनमा ठूलो प्रभाव पर्छ ।’

‘तपाईं जहाँ जानुहोस्, त्यहाँ अत्यन्तै आकर्षक र पूर्ण देखिने कुनै न कुनै पुरुष देखिनुहुन्छ जस्तो लाग्छ ।’ लिंगको आकार बढाउने सेवा दिने क्लिनिकका वेबसाइट हेर्दा उनीहरूले ‘के तपाईं आफ्नो लिंगको आकारलाई लिएर लज्जित हुनुहुन्छ ?’ जस्ता प्रश्न राखेर विज्ञापन गरेको देखिन्छ ।

यसबाट केही क्लिनिकहरूले पुरुषको असन्तुष्टिलाई कसरी आफ्नो व्यवसायका लागि प्रयोग गरिरहेका छन् भन्ने देखिन्छ । लिंगको आकार बढाउने विभिन्न विकल्प उपलब्ध छन् । यसमा शल्यक्रिया तथा शल्यक्रियाबिनाका उपचार दुवै पर्छन् । लिंगमा विभिन्न पदार्थ सुईमार्फत हाल्ने विधि पनि प्रयोगमा छन् ।

सबैभन्दा सामान्य विधि जेलजस्तो पदार्थ हाइल्युरोनिक एसिड लिंगमा सुईमार्फत हाल्नु हो । यही पदार्थ ओठमा लगाइने फिलरमा पनि प्रयोग हुन्छ । हाइल्युरोनिक एसिड शरीरमा प्राकृतिक रूपमा पाइने एक प्रकारको चिनी अणु हो । यसले पानी सोस्ने भएकाले यसलाई ‘नमी सोस्ने पदार्थ’का रूपमा पनि बुझिन्छ ।

म्यानचेस्टरको प्रेस्टविचस्थित आफ्नो क्लिनिकमा डा. जावेद हुसेनले एक वर्षभन्दा बढी समयदेखि लिंगमा फिलर लगाउने सेवा दिइरहेका छन् । हुसेनले चिकित्सकका रूपमा तालिम लिएर पछि सौन्दर्यसम्बन्धी उपचारमा काम गर्न थालेका हुन् । तर लिंगमा फिलर लगाउन विशेष चिकित्सकीय तालिम अनिवार्य नभएको उनी बताउँछन् ।

उनका अनुसार यस्तो उपचारको माग बढिरहेको छ । उनले विभिन्न उमेरका पुरुषको उपचार गरेका छन् । कतिपय २० देखि २५ वर्षका छन् भने उनका सबैभन्दा बढी उमेरका ग्राहक ७२ वर्षका छन् ।

यो प्रक्रियाको सुरुवात बिरामीको स्वास्थ्य अवस्था, प्रक्रिया गराउन चाहनुको कारण, अपेक्षित परिणाम र सम्भावित जोखिमबारे विस्तृत छलफलबाट हुन्छ । उनीहरूलाई फिलर लगाउन चाहनुको कारणसमेत सोधिन्छ ।

जोखिम कस्ता छन् ?

फिलर लगाएपछि लिंगलाई मसाज गरिन्छ, ताकि छालामुनि पदार्थ समान रूपमा फैलियोस् र स्वरूप एकनास देखियोस् । बिरामीलाई घरमै पनि केही समय मसाज जारी राख्न भनिन्छ ।

हुसेनका अनुसार करिब ३ हजार ५०० पाउन्डसम्म खर्च हुने यस्तो प्रक्रियाबाट पुरुषहरूले आगामी ६ देखि ९ महिनासम्म लिंगको मोटाइमा १० देखि २० प्रतिशतसम्म वृद्धि हुने अपेक्षा गर्न सक्छन् ।

यसमा जोखिम पनि छन् । सामान्य जोखिममा दुखाइ, नीलडाम र फिलर असमान रूपमा फैलिने समस्या पर्छन् । यसबाहेक संक्रमणजस्ता गम्भीर समस्या पनि हुन सक्छन् । फिलर प्रयोग गरिने अन्य प्रक्रियामा देखिने जोखिम पनि यहाँ लागू हुन्छन् । लिंगमा रहेका महत्वपूर्ण संरचना तथा रक्तनलीमा क्षति पुग्ने जोखिमसमेत हुन्छ । यी रक्तनली लिंगमा उत्तेजना कायम राख्न महत्वपूर्ण हुन्छन् ।

शल्य चिकित्सकहरूका लागि चिन्ताको विषय बन्न सक्ने प्रक्रिया आफूले किन गरिरहेको भन्ने प्रश्नमा हुसेनले आफूलाई यसबारेको चिन्ता पूर्ण रूपमा बुझ्ने बताए । उनी भन्छन्, ‘त्यस्तो डर स्वाभाविक हो । तर यसबारे प्रमाणहरू पनि क्रमशः बढिरहेका छन् र हामीले परिणामहरू पनि देखिरहेका छौँ । यसबाट पुरुषहरूलाई फाइदा हुन सक्छ भन्ने प्रमाणहरू आइरहेका छन् ।’

गलत परिणाम आएमा फिलरलाई तत्काल घोल्न सकिने औषधिसहित आफूले आपत्कालीन योजना बनाएको उनी बताउँछन् । ‘भाग्यवश, हामीलाई अहिलेसम्म त्यसको आवश्यकता परेको छैन ।’

यद्यपि, बीबीसीले उनको यो दाबी स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन । तर अन्यत्र यस्तो प्रक्रिया गराएपछि समस्या देखिएर आफ्नो सल्लाह लिन आएका एक बिरामी भने उनलाई याद छ । ती व्यक्तिका अनुसार गलत प्रकारको फिलर प्रयोग गरिएको थियो । फिलर लगाउने क्रममा लिंगका रक्तनलीमा क्षति पुगेपछि छालामा समेत समस्या आएको थियो । लिंगको अगाडिको भाग कालो हुँदै गएपछि उनलाई तत्काल आपत्कालीन उपचारका लागि अस्पताल लगिएको थियो ।

गलत शल्यक्रिया हुँदा के हुन्छ ?

म्यानचेस्टरमा राष्ट्रिय स्वास्थ्य सेवाका लागि काम गर्ने पुरुष प्रजननसम्बन्धी विशेषज्ञ तथा परामर्शदाता मूत्ररोग शल्य चिकित्सक प्राध्यापक वैभव मोदगिलले गलत तरिकाले लिंगको आकार बढाउने प्रक्रिया गराएका पुरुषहरूलाई अस्पतालमा उपचार गरेका छन् ।

उनी भन्छन्, ‘जब यस्तो हुन्छ, त्यसले बिरामीलाई गम्भीर क्षति पुर्‍याउन सक्छ ।’ उनले उपचार गरेका केही पुरुषको लिंगको तन्तु नै नष्ट भएको देखेका छन् । छालाको केही भाग मर्न सक्छ, त्यो निकै कालो हुन सक्छ र बिस्तारै झर्नसमेत सक्छ ।

उनी भन्छन्, ‘पुरुषहरू यस्तो उपचार गराउँदा निकै राम्रो परिणाम आउने अपेक्षासहित जान्छन् । तर कतिपय अवस्थामा उनीहरू पहिलेभन्दा अझ बढी असन्तुष्ट भएर फर्कन सक्छन् ।’

एलेक्स आफ्नो वास्तविक नाम प्रयोग गर्न चाहँदैनन् । लिंगको आकार बढाउने अर्को प्रकारको प्रक्रिया गराउन जर्मनी गएका थिए । उनी लिंगलाई लामो बनाउन चाहन्थे । त्यसका लागि लिंगलाई प्युबिक हड्डीसँग जोडेर राख्ने तन्तु काट्ने शल्यक्रिया गरियो । साथै, उनको आफ्नै शरीरबाट बोसो निकालेर लिंगमा हालिएको थियो ।

शल्यक्रियापछि होसमा आउँदा उनलाई यति धेरै पीडा भएको थियो कि उनी उभिनसमेत सकेनन् । उनी भन्छन्, ‘मलाई धेरै चोट लागेको थियो र मेरो पूरै तिघ्रा पहेँलो भएको थियो ।’

एलेक्सका अनुसार उनी करिब एक महिनासम्म राम्रोसँग हिँड्न सकेनन् । पछि उनले मोदगिलको क्लिनिकमा उपचार गराए र अन्ततः पूर्ण रूपमा स्वस्थ घोषित भए । उनी भन्छन्, ‘धेरै मानिसलाई यस्तो भाग्य प्राप्त हुँदैन । म भाग्यमानी रहेँ ।’

एलेक्सका अनुसार आफ्नो लिंग सानो छैन भन्ने कुरा उनलाई सुरुदेखि नै थाहा थियो । तर समाज र अश्लील सामग्रीले ठूलो लिंगलाई ‘पुरुषत्वको प्रतीक’ र ‘सबैभन्दा राम्रो’ भन्ने धारणा उनको मनमा बनाइदिएको थियो ।

बेलायती मूत्ररोग शल्य चिकित्सकहरूको सिफारिस

लिंगको आकार बढाउने प्रक्रियाको संख्याबारे आधिकारिक तथ्यांक नभए पनि मोदगिलका अनुसार अनलाइन खोजीको प्रवृत्ति, विज्ञापन र सामाजिक सञ्जालले यस्ता प्रक्रियाको संख्या बढिरहेको संकेत गर्छन् ।

यही कारण बेलायती मूत्ररोग शल्य चिकित्सकहरूको संस्थाले यस्ता प्रक्रियाबारे नयाँ सिफारिस जारी गरेको छ । मोदगिल भन्छन्, ‘हामीले हालै जारी गरेका दिशानिर्देशमा मूल रूपमा यस्ता कुनै पनि प्रक्रियाको सिफारिस गर्न नसकिने उल्लेख गरेका छौँ, किनकि यसका पक्षमा रहेका वैज्ञानिक प्रमाण निकै कमजोर छन् ।’

यससम्बन्धी ३ हजार ७५० पुरुषलाई समेटिएका ३६ वटा अध्ययनको विश्लेषण गरिएको थियो । तर यस्ता प्रक्रियाको सुरक्षा अझै स्पष्ट नभएको निष्कर्ष निकालिएको छ । यसको एउटा प्रमुख कारण लिंगमा फिलर प्रयोग गर्दा दीर्घकालीन रूपमा पर्ने प्रभावबारे पर्याप्त तथ्यांक उपलब्ध नहुनु हो।

यसका साथै, ओठमा लगाइने फिलरजस्तै लिंगमा फिलर लगाउन पनि विशेष योग्यता अनिवार्य नभएको विषयमा चिन्ता व्यक्त गरिएको छ । मोदगिलका अनुसार पूर्ण प्रतिबन्ध लगाउनु ‘सायद निकै कठोर’ निर्णय हुन सक्छ । तर यस्ता प्रक्रिया जारी रहने हो भने यो क्षेत्रमा कडा नियमन आवश्यक छ ।

उनले लिंगमा फिलर लगाउने प्रक्रियाको राष्ट्रिय अभिलेख बनाउनुपर्ने माग गरेका छन् । यस्तो अभिलेखमा कहिले, कहाँ र कस्तो प्रकारको प्रक्रिया गरिएको थियो भन्ने विवरण राख्न सकिने उनको भनाइ छ । साथै, दीर्घकालीन तथ्यांक संकलन गरेर पुरुषहरूले यसका जोखिम र फाइदाबारे पर्याप्त जानकारीका आधारमा निर्णय लिन सक्ने वातावरण बनाउनुपर्ने उनको तर्क छ ।

म्यानचेस्टर फर्केर हेर्दा जेसन भने आफ्नो उपचारको परिणामबाट खुसी छन् । हाल लगाइएको फिलरको प्रभाव समाप्त भएपछि फेरि त्यही प्रक्रिया गराउनेबारे आफूले सोचिरहेको उनी बताउँछन् ।

बीबीसीबाट

फिलर लिंग लिंगको आकार
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय