+

रसुवा बाढी : तयारी अवस्थामा रेडक्रस, रगतको मौज्दात के छ ?

२०८३ भदौ  १० गते १४:४८ २०८३ भदौ १० गते १४:४८

रेडक्रसले विपद् तथा आकस्मिक अवस्थामा रगतको माग बढ्ने भएकाले नियमित रक्तदानलाई निरन्तरता दिन पनि आग्रह गरेको छ ।

रसुवा बाढी : तयारी अवस्थामा रेडक्रस, रगतको मौज्दात के छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल रेडक्रस सोसाइटीले रसुवाको बाढीबाट घाइतेको उपचारका लागि रगतलगायत स्वास्थ्य सामग्री व्यवस्थापनमा तयारी अवस्थामा रहेको जनाएको छ।

१० भदौ, काठमाडौं । रसुवामा आएको बाढीका कारण घाइते तथा प्रभावितको उपचारमा आवश्यक पर्न सक्ने रगतलगायत स्वास्थ्य सामग्री व्यवस्थापनका लागि नेपाल रेडक्रस सोसाइटी तयारी अवस्थामा रहेको जनाएको छ ।

सम्भावित आकस्मिक अवस्थालाई ध्यानमा राख्दै रेडक्रसले अस्पताल तथा विभिन्न जिल्लास्थित रक्तसञ्चार केन्द्रसँग समन्वय गरिरहेको छ ।

नेपाल रेडक्रस सोसाइटी ब्लड बैंकका निर्देशक पवनकुमार गुप्ताका अनुसार हाल काठमाडौंस्थित केन्द्रमा करिब १ हजार युनिट रगत मौज्दात रहेको छ । देशका अन्य जिल्लामा रहेका रक्तसञ्चार केन्द्रमा पनि आवश्यकताअनुसार रगत पर्याप्त रहेको उनले जानकारी दिए ।

रसुवामा बाढीका कारण घाइते भएकाहरूको उपचारका क्रममा रगत आवश्यक पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै रेडक्रसले सम्बन्धित अस्पताल तथा स्वास्थ्य संस्थासँग समन्वय गरिरहेको गुप्ताले बताए । विशेषगरी आकस्मिक उपचार र ट्रमा सेवासँग सम्बन्धित अस्पतालका स्वास्थ्यकर्मी तथा सम्बन्धित युनिटसँग निरन्तर सम्पर्कमा रहेको उनको भनाइ छ ।

‘अहिले हामीसँग रगतको स्टक पर्याप्त छ । रसुवाको घटनालाई ध्यानमा राखेर अस्पतालहरूसँग पनि समन्वय भइरहेको छ’ गुप्ताले भने, ‘आवश्यकता परेको अवस्थामा तत्काल रगत उपलब्ध गराउन सक्ने गरी हामी तयारी अवस्थामा छौं ।’

उनका अनुसार विभिन्न जिल्लाका रक्तसञ्चार केन्द्रमा पनि आवश्यक स्टक रहेको छ । धादिङ र चितवनमा पनि पर्याप्त स्टक रहेको उनले जानकारी दिए ।

बाढीका कारण कुनै क्षेत्रमा एकैपटक धेरै घाइते भएमा तत्काल रगतको माग बढ्न सक्ने भएकाले रेडक्रसले जिल्लाबीच समन्वय गरेर आवश्यकताअनुसार रगत व्यवस्थापन गर्ने तयारी गरेको छ । कुनै जिल्लामा माग बढेमा त्यहाँ उपलब्ध रगत प्रयोग गर्ने तथा आवश्यक परे अन्य जिल्लाबाट समेत रगत ल्याएर आपूर्ति गर्ने व्यवस्था मिलाइने रेडक्रसले जनाएको छ ।

गुप्ताका अनुसार अहिले रगतको मौज्दातमा तत्काल समस्या छैन । तर विपद्का बेला घाइतेको संख्या अचानक बढ्न सक्ने भएकाले अस्पतालबाट आउने माग र रगतको आवश्यकतालाई निरन्तर निगरानीमा राखिएको छ ।

रसुवाको बाढीबाट प्रभावित तथा घाइतेको उपचारमा कुनै पनि प्रकारको रगत अभाव हुन नदिन सम्बन्धित अस्पताल, स्वास्थ्य संस्था र रेडक्रसका रक्तसञ्चार केन्द्रबीच समन्वयलाई प्राथमिकता दिइएको छ । आवश्यक परे तत्काल रगत उपलब्ध गराउने गरी रेडक्रसले आफ्नो संयन्त्रलाई सक्रिय राखेको जनाएको छ ।

रेडक्रसले विपद् तथा आकस्मिक अवस्थामा रगतको माग बढ्ने भएकाले नियमित रक्तदानलाई निरन्तरता दिन पनि आग्रह गरेको छ । अहिले पर्याप्त मौज्दात रहे पनि विपद्को अवस्था लामो समयसम्म रहन सक्ने भएकाले भविष्यको आवश्यकतालाई समेत ध्यानमा राखेर रक्तदान र रक्तसञ्चार व्यवस्थापनलाई निरन्तरता दिनुपर्ने रेडक्रसको भनाइ छ ।

रसुवाको बाढीबाट घाइते भएकाहरूको उपचारमा रगतको अभाव हुन नदिने गरी रेडक्रस तयारी अवस्थामा रहेको र आवश्यकताअनुसार तत्काल रगत व्यवस्थापन गर्न सकिने अवस्था रहेको गुप्ताले स्पष्ट पारे ।

रगत संकलनका लागि स्वयंसेवि रक्तदाता समाज नेपाल, ब्लड डोनर्स एसोसिएसन नेपाल, रक्तदान गर्ने विभिन्न संघ संस्था तथा अन्य रक्तदाता सँग सहकार्यका लागि सम्वन्वय भइरहेको उनले जानकारी दिए ।

घाइते रसुवा वाढी रेडक्रस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय