News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल विद्यालय खेलकुद महासंघ र नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनबीच विद्यालयस्तरदेखि क्लाइम्बिङ खेल विकास गर्न सहकार्य सम्झौता भएको छ।
- सम्झौतामा विद्यालयस्तरमा क्लाइम्बिङको प्रवर्द्धन, विकास र विस्तार गर्दै आईएसएफअन्तर्गतका प्रतियोगितामा नेपाली खेलाडीको सहभागिता प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
- अध्यक्ष विनोद श्रेष्ठले यो सम्झौता विद्यालय तहदेखि क्लाइम्बिङलाई व्यवस्थित रूपमा विकास गर्ने महत्वपूर्ण सुरुवात भएको बताए।
१० भदौ, काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) र नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन (एनसीएसए) बीच विद्यालयस्तरदेखि क्लाइम्बिङ खेलको विकास गर्ने उद्देश्यसहित सहकार्य सम्झौता भएको छ ।
बुधबार भएको कार्यक्रममा एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठ र नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनका अध्यक्ष रमेशकुमार पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार विद्यालयस्तरमा क्लाइम्बिङ खेलको प्रवर्द्धन, विकास र विस्तार गर्दै एनएसएसएफ तथा अन्तर्राष्ट्रिय स्कुल स्पोर्ट फेडेरेसन (आईएसएफ) अन्तर्गतका प्रतियोगितामा नेपाली खेलाडीको सहभागिता थप प्रभावकारी बनाइने लक्ष्य राखिएको छ ।
अध्यक्ष विनोद श्रेष्ठले यो सम्झौता केवल औपचारिक हस्ताक्षर नभई विद्यालय तहदेखि क्लाइम्बिङलाई व्यवस्थित रूपमा विकास गर्ने महत्वपूर्ण सुरुवात भएको बताए । उनले यस खेलमार्फत नेपालको साहसिक खेल र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनका अध्यक्ष रमेशकुमार पौडेलले नेपालमा क्लाइम्बिङको सम्भावना व्यापक रहेको उल्लेख गर्दै विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्न एनएसएसएफसँगको सहकार्य महत्वपूर्ण हुने बताए ।
एनएसएसएफका महासचिव राजकुमार कार्कीले ग्रासरुट तहमा सञ्चालन भइरहेका क्लाइम्बिङ गतिविधिलाई पहिचान गरी भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा यो सहकार्यले टेवा पुग्ने बताए ।
प्रतिक्रिया 4