+
+
Shares
ब्रिफिङ :

भोटेकोशीको बाढीले तीन जिल्लामा ठूलो मानवीय क्षति, अर्बौंको भौतिक नोक्सानी

हालसम्म १५७ जनाको शव फेला, सयौं बेपत्ता

बस्ती नै बगाउँदा कति मानिसको अवस्था के छ भन्ने अझै यकिन भइसकेको छैन । सयौं मानिसहरू हराइरहेको सूचनाहरू आइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते २३:५०

१० भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ । नेपाल प्रहरीको पछिल्लो अपडेट अनुसार हालसम्म १५७ जनाको शव फेला परिसकेको छ ।

रसुवा,धादिङ र नुवाकोट तीन जिल्लाका नदी किनारका बस्तीमा ठूलो क्षति भएको छ । कतै बस्तीहरू नै बगेका छन् ।

बस्ती नै बगाउँदा कति मानिसको अवस्था के छ भन्ने अझै यकिन भइसकेको छैन । सयौं मानिसहरू हराइरहेको सूचनाहरू आइरहेका छन् ।

प्रहरीका अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ।

बेपत्ता हुनेमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजमती कर्मचारी देखि विभिन्न विद्युत आयोजनामा काम गर्ने व्यक्तिहरू पनि छन् ।

नेपाल प्रहरीले अहिलेसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कमा नआएको पनि जनाएको छ।

बाढीबाट घाइते भएकाहरू मध्ये २० जना त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं, ४ जना ट्रमा सेन्टर, ३ जना वीर अस्पताल, १ जना वीरेन्द्र सैनिक अस्पताल छाउनी, ३ जना नर्भिक अस्पतालमा र ९ जना त्रिशूली अस्पतालमा उपचाररत छन्।

सुवा बाढीका कारण ४ सय ३ पर्यटक सम्पर्कविहीन भएका छन्, जसमा ३ सय ४१ विदेशी र ६२ नेपाली छन् ।

सम्पर्कविहीनमध्ये २ सय ३ पुरुष र २ सय महिला छन् ।

सबैभन्दा धेरै १ सय ३३ भारतीय पर्यटक बेपत्ता भएका छन्, त्यसपछि अमेरिकी ४७, अस्ट्रेलिया ३४ र बेलायती ३३ जना छन् ।

विदेशी र स्वदेशी पर्यटकहरू सम्पर्कविहीन

रसुवा बाढीका कारण सम्पर्कविहीन भएका पर्यटक ४ सय ३ पुगिसकेको छ । नेपाल पर्यटन बोर्डका अनुसार ३ सय ४१ विदेशी र ६२ नेपाली पर्यटक सम्पर्कविहीन भएका छन् । जसमा २ सय ३ पुरुष र २ सय महिला छन् ।

सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतीय छन् । कुल १ सय ३३ भारतीय पर्यटक बेपत्ता छन् । अमेरिकी ४७ जना बेपत्ता छन् ।

बेलायती ३३, अस्ट्रेलिया ३४, क्यानडा २४, मलेसिया १९, युक्रेन ७ र दक्षिण अफ्रिकका ६ पर्यटक बेपत्ता छन् ।

त्यसैगरी सिंगापुरका ६, न्यूजिल्यान्ड र जापान ५/५, जर्मनी ४, फ्रान्स ३ र स्पेनका २ पर्यटक सम्पर्कविहीन छन्

अर्थतन्त्रमा २ खर्बमाथिको क्षतिको प्रारम्भिक अनुमान

सरकारको प्रारम्भिक अनुमान अनुसार बुधबारको बाढीले अर्थतन्त्रमा २ खर्बमाथिको क्षति गरेको छ । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालका अनुसार पूर्वाधार क्षेत्रमा मात्रै २ खर्बमाथिको क्षति अनुमान गरिएको छ ।

उनका अनुसार बाढीले पूर्वाधारमा व्यापक क्षति गरेको छ । सरकारले पुल र सडक निर्माणलाई प्राथमिकता दिने उनले बतए । बाढीले सडक र पुलबाहेक ऊर्जा र पर्यटनमा अकल्पनीय क्षति गरेको छ ।

विपत जोखिम प्राधिकरणको बुधबार राती साढे ११ बजेसम्मको अपडेट अनुसार ३५ वटा पक्की पुल र ४५ वटा झोलुङ्गे पुल बगाएको छ ।

बेत्रावतीदेखि रसुवागढीसम्मको ४० किलोमिटर सडक बाढीले पूर्णरूपमा बगाएको छ । उता रसुवागढी भन्सार पूर्णरूपमा क्षतिग्रस्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार रसुवागढी भन्सारको भौतिक संरचना पूर्णरूपमा क्षतिग्रस्त भएको छ । केही कर्मचारी अझै पनि सम्पर्कविहीन छन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघ अनुसार बाढीका कारण मालवाहक सवारीसाधन, यातायात व्यवसायी र मजदुर प्रभावित भएका छन् ।

बाढीले रसुवागढी भन्सार क्षेत्र (टिमुरे) मा अहिलेसम्मकै ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।

नजिकिँदै गरेका ठूला चाडपर्व तिज, दसैं, तिहार र छठ लक्षित गरी चीनबाट आयात गरिएका अर्बौं मूल्य बराबरका मालसामान, सयौँ मालवाहक कन्टेनर र त्यहाँ कार्यरत व्यवसायी, भन्सार एजेन्ट तथा यातायात मजदुर बाढीको चपेटामा परेका छन् ।

भन्सार यार्डमा रहेका रेडिमेड सामानसँगै ठूलो संख्यामा आयात गरिएका महँगा विद्युतीय सवारीसाधन (ईभी) समेत बाढीले बगाएको छ । व्यवसायीका अनुसार ५–७ सय संख्यामा सवारी बाढीले बगाएको छ ।

नेपाल हिमालय सीमापार वाणिज्य संघ अध्यक्ष रामहरि कार्कीका अनुसार रसुवागढी नाकामा सामान ढुवानीका लागि पुगेका २ सयभन्दा धेरै ट्रक बाढीले बगाएको अनुमान छ ।

प्रसारण लाइन अवरुद्ध

रसुवा भीषण बाढीबाट ६ वटा प्रसारण लाइन अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार त्रिशूलीको २२० केभी सबस्टेसन पूर्णरूपमा क्षति भएको छ भने अन्य प्रसारण लाइनमा क्षति हुँदा विद्युत् प्रवाह अवरुद्ध बनेको हो । त्रिशूलीस्थित २२० केभी ३ बी हब सबस्टेसन पूर्णरूपमा क्षति पुगेको छ ।

चिलिमे २२० केभी हब टावर अवरुद्ध भएका कारण बन्द भएको छ । समुद्रटार–त्रिशूली १३२ केभी प्रसारण लाइन अवरुद्ध भएको छ । चिलिमे–त्रिशूली ६६ केभी प्रसारण लाइन अवरुद्ध छ ।

चिलिमे हब–त्रिशूली ३ बी हब–मातातिर्थ २२० केभी प्रसारण लाइन अवरुद्ध छ । त्रिशूली–बालाजु ६६ केभी प्रसारण लाइन अवरुद्ध छ । अन्य केही प्रसारण लाइनको टावरमा समस्या रहेको प्राधिकरणले जनाएको छ ।

३ जिल्ला संकटग्रस्त

सरकारले बाढीप्रभावित तीन जिल्लालाई संकटग्रस्त घोषणा गरेको छ । ती जिल्लामा मानवीय र भौतिक लगायतका सहयोग गर्नका लागि सरकारले अपिल पनि गरेको छ ।
कतिपय दातृ निकायले नेपाललाई बाढीमा सहयोग गर्ने घोषणा गरेका छन् । भारतले १० टन मानवीय सहायता सामग्री सहयोगस्वरुप नेपाल पठाएको छ ।

बाढीका कारण ठूलो संकट आएपछि सबै राजनीतिक दलहरूले सरकारको कामलाई सहयोग गरी अघि बढ्न सबैलाई अपिल पनि गरेका छन् । संसद् सबै दलका प्रतिनिधिहरूले एकस्वरमा सरकारलाई सघाउने प्रतिबद्धता गरेका थिए । भोली बिहीबार विपत्‌कै विषयमा छलफल गर्ने सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?