+

विपद्को घडीमा मन सम्हाल्ने सहारा : मनोवैज्ञानिक प्राथमिक सहायता

२०८३ भदौ  १५ गते १४:१३ २०८३ भदौ १५ गते १४:१३

प्राकृतिक विपद्ले घर भत्काउन सक्छ, सडक बगाउन सक्छ र सम्पत्ति नष्ट गर्न सक्छ । तर यसले हाम्रो मानवता भत्काउन सक्दैन ।

Shares
विपद्को घडीमा मन सम्हाल्ने सहारा : मनोवैज्ञानिक प्राथमिक सहायता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २६ अगस्टमा नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा आएको बाढीले बस्ती, सडक, पुल र अन्य संरचनामा ठूलो क्षति पुर्‍याएको छ।
  • बाढीमा घर, सम्पत्ति, जीविकोपार्जनका साधन र प्रियजन गुमाएकाहरूले मनोवैज्ञानिक प्राथमिक सहायताको आवश्यकता भएको लेखले जनाएको छ।
  • लेखले पीडितलाई सुरक्षित आश्रय, सही सूचना, ध्यानपूर्वक सुन्ने व्यवहार र मानसिक स्वास्थ्य विशेषज्ञको सहयोग आवश्यक हुन सक्ने उल्लेख गरेको छ।

२६ अगस्टमा नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा आएको विनाशकारी बाढीले देशलाई स्तब्ध बनाएको छ । क्षणभरमै आएको पानी, हिलो, ढुंगा र अन्य भग्नावशेषको विनाशकारी भेलले बस्ती, सडक, पुल तथा अन्य संरचनामा ठूलो क्षति पुर्‍यायो ।

धेरै मानिसले आफ्ना घर, सम्पत्ति, जीविकोपार्जनका साधन तथा आफ्ना प्रियजन गुमाएका छन् । कैयौँ व्यक्ति आफ्ना हराइरहेका परिवारका सदस्यहरूको सुभ खबरको प्रतीक्षामा छन् ।

प्राकृतिक विपद्को विनाश केवल आँखाले देख्न सकिने भौतिक क्षतिमा सीमित हुँदैन । भत्किएका घर, बगेका पुल र क्षतिग्रस्त सडकसँगै मानिसको मनमा पनि गहिरा र अदृश्य घाउ बन्न सक्छन् । आजको यस्तो परिस्थितिमा उद्धार टोलीले मानिसलाई बाढीबाट बाहिर निकालिरहेको छ, राहतकर्मीले खाना र आश्रय उपलब्ध गराइरहेका छन्, स्वास्थ्यकर्मीले घाइतेहरूको उपचार गरिरहेका छन् । तर त्यही समयमा अर्को उद्धार पनि आवश्यक छ—”आतंकित मनलाई सम्हाल्ने उद्धार ।”

यही सन्दर्भमा “मनोवैज्ञानिक प्राथमिक सहायताको महत्व अत्यन्त बढेर आउँछ । विपद्पछि मनमा उठ्ने आँधी अचानक आएको बाढीमा फसेका वा आफ्नो घरपरिवार गुमाएका मानिसले विभिन्न मानसिक तथा भावनात्मक प्रतिक्रिया अनुभव गर्न सक्छन् । कसैको दिमागमा बारम्बार बाढीको दृश्य आएर बेचैनी बनाउन सक्छ । कसैलाई ठूलो आवाज सुन्दा फेरि त्यही घटना दोहोरिएजस्तो लाग्न सक्छ । कसैलाई निद्रा नलाग्न सक्छ भने कसैलाई सुरक्षित ठाउँमा पुगिसकेपछि पनि लगातार डर लागिरहन सक्छ ।

“म बाँचें, तर मेरो परिवार कहाँ छ ?” “मेरो घर अब कहाँ छ ?” “फेरि यस्तो भयो भने के गर्ने ?” यस्ता प्रश्नहरूले पीडितको मनलाई निरन्तर सताइरहेको हुन सक्छ । डर, चिन्ता, रोइरहनु, रिस उठ्नु, स्तब्ध हुनु, बोल्न मन नलाग्नु, निद्रा नलाग्नु वा घटनाको दृश्य बारम्बार सम्झिनु—यी विपद्पछि देखिन सक्ने स्वाभाविक मानवीय प्रतिक्रियाहरू हुन् ।

सबै मानिसले एउटै प्रकारले प्रतिक्रिया जनाउँदैनन् । कोही धेरै रोएर आफ्नो पीडा व्यक्त गर्छन् भने कोही पूर्ण रूपमा मौन हुन सक्छन् । त्यसैले पीडितको प्रतिक्रिया हेरेर “तपाईं किन यति कमजोर हुनुभयो ?” वा “अब त सामान्य हुनुपर्छ” भन्नु उचित हुँदैन।

मनोवैज्ञानिक प्राथमिक सहायता भनेको के हो ?

मनोवैज्ञानिक प्राथमिक सहायता भनेको विपद् वा संकटपछि मानिसलाई तुरुन्तै मानसिक रोगको उपचार गर्नु होइन । यो पीडामा रहेका व्यक्तिलाई सुरक्षित महसुस गराउने, उसको आधारभूत आवश्यकता बुझ्ने, ध्यानपूर्वक सुन्ने, आवश्यक सहयोग उपलब्ध गराउने र सही सेवा तथा सहयोगसँग जोड्ने प्रारम्भिक मानवीय सहयोग हो ।

जसरी घाइते व्यक्तिलाई प्राथमिक उपचार आवश्यक पर्छ, त्यसरी नै भय, शोक र अनिश्चिततामा रहेका व्यक्तिलाई पनि प्रारम्भिक मानसिक तथा भावनात्मक सहयोग आवश्यक पर्छ । मनोवैज्ञानिक प्राथमिक सहायताको मूल भावना सरल छ– हेरौँ, सुनौँ र सहयोगसँग जोडौँ ।

पहिलो आवश्यकता: सुरक्षा र आधारभूत आवश्यकता

बाढीबाट बाँचेर आएका व्यक्तिका लागि “अब म सुरक्षित छु” भन्ने अनुभूति अत्यन्त महत्वपूर्ण हुन्छ । सुरक्षित आश्रय, खाना, स्वच्छ पानी, न्यानो कपडा, आवश्यक औषधि तथा परिवारका सदस्यको अवस्थाबारे जानकारी उपलब्ध गराउनु मानसिक राहतसँग पनि प्रत्यक्ष रूपमा जोडिएको हुन्छ।

भोकाएको, असुरक्षित वा आफ्नो परिवार कहाँ छ भन्ने थाहा नभएको व्यक्तिलाई “चिन्ता नगर्नुहोस्” भन्नु मात्र पर्याप्त हुँदैन । कहिलेकाहीँ सबैभन्दा ठूलो मनोवैज्ञानिक सहायता भनेको उसको वास्तविक समस्या समाधान गर्न सहयोग गर्नु हो । सुन्नु पनि सहयोग हो विपद्पछि धेरै मानिस आफ्नो अनुभव कसैलाई सुनाउन चाहन्छन् ।

उनीहरूलाई धैर्यपूर्वक, बिना आलोचना र बिना हतार सुन्नु महत्वपूर्ण हुन्छ । तर एउटा कुरा सम्झनुपर्छ—कसैलाई आफ्नो पीडादायक अनुभव सुनाउन बाध्य पार्नु हुँदैन । “सबै कुरा विस्तारमा भन्नुहोस्” भनेर दबाब दिनुभन्दा “तपाईं बोल्न चाहनुहुन्छ भने म सुन्न तयार छु” भन्नु बढी मानवीय हुन्छ।

कहिलेकाहीँ पीडितलाई लामो उपदेश आवश्यक पर्दैन । उसको छेउमा बसेर, आँखा जुधाएर, शान्त स्वरमा “तपाईं एक्लै हुनुहुन्न, हामी तपाईंको साथमा छौँ” भन्नु नै ठूलो सहयोग हुन सक्छ । सही सूचना पनि मानसिक राहत हो विपद्को समयमा मानिस सबैभन्दा बढी अनिश्चितताबाट डराउँछन्।

परिवारको सदस्य कहाँ छ? राहत कहाँ पाइन्छ ? सुरक्षित स्थान कुन हो ? अर्को जोखिम छ कि छैन ? गलत सूचना र अफवाहले पीडितको डर झन् बढाउन सक्छ ।

त्यसैले सही, स्पष्ट र विश्वसनीय जानकारी उपलब्ध गराउनु मनोवैज्ञानिक प्राथमिक सहायताको महत्वपूर्ण पक्ष हो । “मलाई थाहा छैन” भन्नुपर्ने अवस्थामा गलत आश्वासन दिनुभन्दा “म सही जानकारी पत्ता लगाउन प्रयास गर्छु” भन्नु राम्रो हुन्छ । बालबालिकाको मनलाई विशेष ध्यान बाढीको भयावह दृश्य देखेका बालबालिकाले डराउने, रोइरहने, अभिभावकबाट टाढा हुन नमान्ने, राति झस्किने वा पहिलेभन्दा फरक व्यवहार गर्ने जस्ता प्रतिक्रिया देखाउन सक्छन् ।

उनीहरूलाई “नरोऊ, तिमी त बहादुर हुनुपर्छ” भनेर भावना दबाउन लगाउनुको सट्टा सुरक्षित वातावरण र परिचित व्यक्तिको साथ दिनुपर्छ। “तिमी डराएको म बुझ्न सक्छु । “अहिले हामी सुरक्षित ठाउँमा छौँ ।तिमीलाई केही कुरा सोध्न वा भन्न मन लागे मलाई भन्न सक्छौ।” यस्ता सरल वाक्यले बालबालिकामा सुरक्षाको अनुभूति बढाउन मद्दत गर्न सक्छ । सबैभन्दा संवेदनशील समय: गुमाएको स्वीकार गर्ने समय विपद्मा प्रियजन गुमाउनु मानिसको जीवनको सबैभन्दा पीडादायक अनुभवमध्ये एक हुन सक्छ।

यस्तो अवस्थामा “नरुनुहोस्”, “बलियो बन्नुहोस्” वा “समयले सबै ठीक गर्छ” जस्ता शब्दले कहिलेकाहीँ पीडितलाई आफ्नो भावना लुकाउन बाध्य बनाउन सक्छ । बरु हामीले भन्न सक्छौँ– “तपाईंले ठूलो क्षति बेहोर्नुभएको छ ।” “यो समय तपाईंका लागि अत्यन्त कठिन छ भन्ने म बुझ्न सक्छु।” “तपाईं एक्लै हुनुहुन्न ।” पीडितको दुःख हटाउन हामीसँग जादुई शब्द हुँदैनन् । तर उसको दुःखको समयमा साथमा हुनु नै ठूलो मानवीय सहयोग हो।

कहिले विशेषज्ञको सहयोग आवश्यक हुन्छ ?

विपद्पछि देखिने धेरै मानसिक प्रतिक्रिया समयसँगै कम हुन सक्छन् । तर अत्यधिक डर वा चिन्ता लामो समयसम्म रहिरहनु, निरन्तर निद्रा नलाग्नु, दैनिक जीवन सञ्चालन गर्न नसक्नु, अत्यधिक निराशा हुनु, आत्महत्यासम्बन्धी विचार आउनु, अत्यधिक मदिरा वा अन्य पदार्थको प्रयोग गर्नु, वा सामान्य जीवनमा फर्किन अत्यन्त कठिनाइ हुनुजस्ता अवस्थामा मानसिक स्वास्थ्य विशेषज्ञको सहयोग आवश्यक हुन सक्छ। यस्तो सहयोग माग्नु कमजोरी होइन ।

जसरी बाढीमा लागेको शारीरिक चोटको उपचार आवश्यक हुन्छ, त्यसरी नै मनमा परेको चोटको उपचार पनि आवश्यक पर्न सक्छ । पुनर्निर्माण घरको मात्र होइन, मनको पनि हो हालैको विनाशकारी बाढीले हामीलाई फेरि एउटा गम्भीर सन्देश दिएको छ—विपद्पछि पुनर्निर्माण भनेको केवल सडक, पुल र घर बनाउनु मात्र होइन। कसैले आफ्नो घर गुमाएको छ । कसैले आफ्नो जीविकोपार्जन गुमाएको छ।

कसैले आफ्नो परिवारको सदस्य गुमाएको छ। र कतिपयले अझै आफ्ना प्रियजनको प्रतीक्षा गरिरहेका छन्। भौतिक संरचना पुनर्निर्माण गर्न समय लाग्छ, तर मानिसको मनमा परेको घाउ निको हुन पनि समय, सहानुभूति र साथ आवश्यक पर्छ। हामी सबै मानसिक स्वास्थ्य विशेषज्ञ हुन सक्दैनौँ । तर हामी सबै मानवीय, संवेदनशील र सहयोगी व्यक्ति बन्न सक्छौँ ।

कसैलाई सुरक्षित स्थानमा पुर्‍याउनु, कसैको कुरा ध्यानपूर्वक सुन्नु, भोकाएको व्यक्तिलाई खाना उपलब्ध गराउनु, परिवारसँग सम्पर्क गराउन सहयोग गर्नु, वा केवल कठिन समयमा उसको साथमा बस्नु— यी सबै मानवताको भाषामा दिइने महत्वपूर्ण प्राथमिक सहायता हुन् । विपद्को समयमा कहिलेकाहीँ सबैभन्दा ठूलो राहत सामग्री एउटा वाक्य पनि हुन सक्छ— “तपाईं एक्लै हुनुहुन्न । हामी तपाईंको साथमा छौँ ।”

प्राकृतिक विपद्ले घर भत्काउन सक्छ, सडक बगाउन सक्छ र सम्पत्ति नष्ट गर्न सक्छ । तर यदि हामीले एकअर्काको हात समातिरह्यौँ भने यसले हाम्रो मानवता भत्काउन सक्दैन । आज नेपाललाई राहत, उद्धार र पुनर्निर्माणसँगै सहानुभूति, संवेदनशीलता र मानसिक स्वास्थ्यप्रतिको सचेतना पनि आवश्यक छ। पुनर्निर्माण घरको मात्र होइन, मनको पनि हो। घाउ शरीरमा मात्र पर्दैन, कहिलेकाहीँ मनमा पनि पर्छ। त्यसैले विपद्पछि पुनर्निर्माण इँटा र सिमेन्टले मात्र होइन, सहानुभूति, साथ र आशाले पनि गर्नुपर्छ ।

बाढी मनो चिकित्सक विपद
डा. अनमोलबन्धु कार्की
लेखक
डा. अनमोलबन्धु कार्की
टाउको, नसा तथा मानसिक रोग विशेषज्ञ

डा. कार्की भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसका लेक्चरर समेत हुन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २२६१४ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय