News Summary
Generated by OK AI. Editorially reviewed.- कवितामा बाढी, बम, बलात्कार र दुर्घटनाजस्ता सङ्कटबीच मानवता, दयामाया र संवेदनाको मूल्य बुझ्न आह्वान गरिएको छ।
- एउटा भाइ शोकमा, बहिनी सङ्कटमा वा छिमेकी भोकमा हुँदा मानवता नदुखे विद्या, वैभव र आदर्श सबै मरेतुल्य हुने भनिएको छ।
- जाति, धर्म, लिङ्ग, वर्ग र स्वार्थ नाघ्न नसके संवेदना सकिएपछि मानिस भित्रबाट खोक्रो बुख्याँचा हुने कविताले निष्कर्ष निकालेको छ।
मृत्युको मुखैबाट फुत्केर
आएकाहरूलाई सोध्नु–
जीवनको मूल्य कति छ भनेर,
आँखै अगाडि दुर्घटनामा
आफन्त गुमाएकाहरूलाई सोध्नु–
मृत्युको पीडा कति छ भनेर !
मृत्यु अकाट्य होला,
अनिवार्य होला,
अनिच्छित सत्य होला;
तर सबै मृत्यु अप्रिय नै हुन्छन्।
मृत्युको छायाले समेत सताउँछ सबैलाई
मृत्युको पीडा सायद सबैभन्दा गहिरो दुख्छ !
बाढीमा बग्दै गरेका
बेहिसाब जीवनहरूमा हेर्नु,
बम र बारुदको बर्बर धुवाँमुनि
त्रासले काँपिरहेका
बालबालिकाका निष्कलङ्क आँखाहरूमा हेर्नु,
बलियाबाङ्गाहरूबाट बलपूर्वक बलात्कृत
कलिला कोपिलाहरूको अस्मितामा हेर्नु।
मृत्युको छाया कुदिरहेको
जहाँ–जहाँ छ,
त्यहाँ–त्यहाँ हेर्नु—
जहाँ हेरे पनि
हरेक सङ्कटमा देख्नेछौ,
बुझ्नेछौ—
जीवनको मूल्य के हो भनेर।
मानवता, दयामायाको बास कहाँ हुन्छ,
मान्छे हुनुको आभास कहाँ हुन्छ ?
अझ एकपटक आफ्नै हृदयलाई छामेर हेर्नु,
प्रत्येक सङ्कटमा आफैंलाई राखेर हेर्नु–
मानवीय संवेदनाको खाँचो
कति गहिरो छ भनेर !
एउटा भाइ शोकमा डुबेको बेला,
एउटी बहिनी सङ्कटमा फसेको बेला,
एउटा छिमेकी भोकमा छट्पटाएको बेला,
तिमीभित्रको मानवता दुखेन भने
भाइचारा र विवेक त्यतातिर पुगेन भने–
तिम्रो वैभव,
तिम्रो विद्वत्ता,
तिम्रो आदर्श,
तिम्रो महानता–
सबै–सबै
दुनियाँका लागि
मरेतुल्य हुनेछन्।
जाति, धर्म, लिङ्ग, वर्ण,
वर्ग, सीमा र स्वार्थ
नाघ्न सकेनौ भने,
तिम्रो विद्या,
तिम्रो वैभव,
तिम्रो पौरख,
तिम्रो गौरव–
आफूबाहेक कसका लागि हुन्छ र ?
‘वसुधैव कुटुम्बकम्’
जति बके पनि
आफ्नै महिमामण्डनमा
जति नै सामर्थ्य देखाए पनि
संवेदना सकिएपछि
मानिस
जति नै अग्लो देखिए पनि
भित्रबाट खोक्रो बुख्याँचा नै हुने रहेछ।
संवेदनाको मृत्यु
सबै भौतिक मृत्युभन्दा
भयानक हुने रहेछ।
प्रतिक्रिया 4