News Summary
Generated by OK AI. Editorially reviewed.- बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीका ५५ वर्षीय देवीप्रसाद फुयाँल आइतबार सहजनाथ महादेव मन्दिर नजिकैको जंगलमा मृत फेला परेका छन्।
- पाडो खोज्न शनिबार बिहान ५ बजे साइकल लिएर घरबाट निस्किएका फुयाँल नफर्किएपछि स्थानीयले खोजी गर्दै शव फेला पारेका हुन्।
- प्रहरीले घटनास्थल जाँच गरी शव प्रादेशिक अस्पताल कलैया पठाएको छ, र मृत्युको कारण शल्यपरीक्षण रिपोर्टबाट खुल्ने जनाएको छ।
१४ भदौ, बारा । बारामा घरबाट हराएको पाडो खोज्न निस्किएका एक व्यक्ति मृत फेला परेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीका ५५ वर्षीय देवीप्रसाद फुयाँलको शव आइतबार सोही वडाको सहजनाथ महादेव मन्दिर नजिकैको जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पाडो खोज्न भन्दै शनिबार बिहान ५ बजे साइकल चलाएर घरबाट निस्किएका फुयाँल नफर्किएपछि उनको खोजी थालिएको थियो । खोजी गर्ने क्रममा स्थानीयले उनको शव फेला पारेका हुन् ।
सोही वडाका वडाध्यक्ष हरिदेव खरेलका अनुसार, फुयाँलको शवमाथि उनको साइकल रहेको र चप्पल करिब एक सय मिटर दक्षिणतर्फ फेला परेको थियो । घटना रहस्यमय देखिएको भन्दै स्थानीयले सुक्ष्म अनुसन्धानको माग गरेका छन् ।
शव भेटिएको जानकारी पाएलगत्तै बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवरसहितको टोली घटनास्थल पुगेको थियो ।
तालिमप्राप्त कुकुरसहित पुगेको प्रहरी टोलीले घटनास्थल जाँचपछि शवको शल्यपरीक्षणका लागि प्रादेशिक अस्पताल कलैया पठाएको छ ।
‘घटनास्थलको मुचुल्का गरी शव शल्यपरीक्षणका लागि पठाएका छौं । त्यसको रिपोर्टले मृत्युको कारण खुल्नेछ,’ प्रहरी उपरीक्षक कुँवरले भने ।
फुयाँलको हराएको पाडा कोल्हवी नगरपालिकाको वडा नम्बर ८ रामनगरमा भेटिएको र उनी पाडा लिएर फर्कंदै गर्दा बेपता भएको स्थानीयको भनाइ छ ।
स्थानीयबासी रमेश सापकोटाका अनुसार मृतक फुयाँलको हराएको पाडा घरमा पुगेपनि फुयाँल नआएपछि उनको खोजी सुरु गरिएको थियो ।
प्रतिक्रिया 4