+
+
Shares

‘एलिफेन्ट्स इन द फग’ ले बाढी प्रभावितको सहयोगार्थ च्यारिटी शो गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १३:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कान्समा पुरस्कृत फिल्म ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ले नेपाली फिल्म इतिहासमा पहिलोपटक हात्तीको कथा प्रस्तुत गरेको निर्माता अनुप पौडेलले बताए ।
  • निर्माता पौडेलले हात्तीलाई कथामा लाक्षणिक विम्बका रूपमा प्रयोग गरिएको र ट्रेलरमा हात्ती नदेखाउनु जानाजानी गरिएको खुलाए ।
  • फिल्मले भोटेकोसी बाढी प्रभावितका लागि विशेष च्यारिटी शो गर्दै संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दिने घोषणा गरेको छ ।

काठमाडौं । फिल्म ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ले नेपाली फिल्म इतिहासमा पहिलोपटक हात्तीको कथा भन्दैछ । यसको अर्थ यो हात्तीको कथामा आधारित भने होइन । हात्तीलाई कथामा लाक्षणाको रुपमा प्रस्तुत गरिएको छ । कथाको मूल पात्रसँग हात्ती जोडिएर आउँछ ।

‘हात्ती फिल्ममा पात्र मात्र होइन, ठूलो विम्ब पनि हो । हाम्रो लागि हात्तीले सीमान्तकृत समुदाय र उनीहरूमाथि समाजले बनाएका सीमालाई पनि प्रतिनिधित्व गर्छ’ निर्माता अनुप पौडेल भन्छन्, ‘हामी हात्तीलाई पूजा गर्छौं, सम्मान गर्छौं, तर त्यही हात्तीलाई हामी जंगलभित्रै बाँधेर पनि राख्छौँ ।’

निर्माता पौडेल अघि भन्छन्, ‘मानिसले आफ्नो वरिपरि बनाएका सीमा र नियन्त्रणसँग हात्तीको कथा जोडिन्छ, चाहे त्यो सीमा प्रकृतिलाई लिएर होस् या महिला र सिमान्तकृत समुदायलाई लिएर ।’

तर, ट्रेलरमा हात्ती देखिएको छैन । किन भन्ने प्रश्नमा उनी भन्छन्, ‘हात्ती ट्रेलरमा नदेखिनु चाहिँ जानाजानी हो । हामीले ट्रेलरमै हात्ती देखाएर फिल्मको सबै कुरा बताउन चाहेनौँ । हात्ती फिल्मको कथा र अनुभवसँग जोडिएको कुरा हो ।’

ट्रेलरले मुख्यतः मुख्य पात्र पिरती, उनकी छोरी र उनीहरूले बाँच्ने संसार चिनाउँछ । तर, हात्ती र त्यससँग जोडिएको कथा दर्शकले फिल्ममै अनुभव गरुन् भन्ने आफूहरूको चाहना रहेको उनले प्रस्ट पारे ।

कान्स चलचित्र महोत्सवको ‘अन सर्टेन रिगार्ड’ विधामा पुरस्कृत भैसकेको यो फिल्ममा निर्देशक र पटकथा अविनाशविक्रम शाहको छ । कान्समा पुरस्कृत भएसँगै यो फिल्म दर्शकमाझ प्रतीक्षित छ ।

यस्तै, फिल्मले भोटेकोसी बाढी प्रभावितका लागि सहयोग घोषणा गरेको छ । यसका लागि विशेष च्यारिटी शो आयोजना गरिएको र त्यहाँ संकलन हुने रकम प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा प्रदान गरिने भएको छ ।

अन्तर्राष्ट्रिय सह-निर्माताहरूले पनि बाढीपीडितका लागि सहयोग जुटाउने जनाइएको छ ।

जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा पेश गर्ने फिल्ममा अभिनेत्री गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिजा घिमिरे, महिमा नवबाग, आकांक्षा कार्कीलगायतको अभिनय छ ।

यो फिल्म नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा निर्माण गरिएको हो ।

निर्मातामा नेपालबाट पौडेलसहित फ्रान्सबाट जस्टिन पेचबर्ट र डेमियन मेघेर्ब, जर्मनीबाट माइकल हेनरिक्स छन् । सह-निर्मातामा प्रचण्डमान श्रेष्ठ, ब्रजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल छन् ।

चाल्र्स अडिनेट लाइन प्रोड्यूसर रहेको फिल्मको एसोसिएट निर्मातामा केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी छन् । अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट सह–निर्मातामा प्रवेश गुरुङ, एशोसिएट निर्मातामा आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई, बेन्जामिन ग्रब्स छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?