News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जापानको २०औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीलाई त्रिभुवन विमानस्थलमा बिदाइ गरे।
- मन्त्री पोखरेलले खेलाडीलाई पदकको दबाब नलिई शतप्रतिशत प्रदर्शन गर्न र नयाँ अनुभव लिएर फर्कन आग्रह गरे।
- सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा जाने राष्ट्रिय टोलीलाई विमानस्थलको ‘भीआईपी कक्ष’ प्रयोग गर्न पाउने व्यवस्था सुरु गरेको उनले जानकारी दिए।
१९ भदौ, काठमाडौं । जापानमा आयोजना हुने २०औं एसियाली खेलकुदमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेको नेपाली कराते टोलीलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शुक्रबार बिदाइ गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर मन्त्री पोखरेलसहितका खेल पदाधिकारीहरूले खेलाडीलाई सफलताको शुभकामनासहित बिदाइ गरेका हुन् ।
बिदाइका क्रममा मन्त्री पोखरेलले खेलाडीहरूलाई पदक वा नतिजाको अनावश्यक दबाब नलिई आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सुझाव दिए ।
‘देशको झण्डा बोकेर खेल्न जाँदै हुनुहुन्छ, त्यसका लागि सबैलाई धन्यवाद छ,’ खेलाडीहरूको हौसला बढाउँदै उनले भने, ‘अहिले नतिजा के होला भनेर नसोच्नुहोस्, आफ्नो तर्फबाट शतप्रतिशत दिनुहोस् र त्यहाँबाट नयाँ अनुभव लिएर फर्कनुहोस् ।’
मन्त्री पोखरेलले हार वा जित जे भए पनि राज्यले खेलाडीलाई गर्ने सम्मान र दृष्टिकोणमा कुनै परिवर्तन नआउने स्पष्ट पारे । विगतमा पदक जित्दा मात्रै स्वागत गर्ने र पराजित हुँदा बेवास्ता गर्ने गलत प्रवृत्ति रहेको भन्दै उनले अब त्यस्तो नहुने दाबी गरे ।
विभिन्न खेलाडीहरूसँगको अन्तरक्रियाबाट आफूले उनीहरूले राज्यसँग ठूलो आर्थिक अपेक्षाभन्दा पनि मेहनतको कदर र आत्मसम्मान मात्रै खोजेको महसुस गरेको मन्त्री पोखरेलले बताए ।
खेलाडीको सम्मानस्वरूप सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन जाने राष्ट्रिय टोलीलाई विमानस्थलमा ‘भीआईपी कक्ष’ प्रयोग गर्न पाउने व्यवस्था सुरु गरेको उनले जानकारी दिए ।
‘विशिष्ट व्यक्तिले जस्तै राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडीले पनि सम्मान पाउनुपर्छ । अहिलेसम्म खेलाडीहरू सामान्य यात्रुजस्तै लाइनमा बसेर आफ्नै सामान बोकेर जानुपर्ने अवस्था थियो, त्यसलाई परिवर्तन गर्दै हामीले यो व्यवस्था गरेका हौँ,’ उनले भने ।
आगामी दिनमा पनि खेलाडीलाई बिदाइ गर्न आफू विमानस्थलमै उपस्थित हुने प्रयास गर्ने प्रतिबद्धता जनाउँदै उनले भने, ‘जानुस्, आफ्नो सर्वोत्कृष्ट प्रदर्शन गर्नुस्, सबैलाई शुभकामना छ।’
प्रतिक्रिया 4