+
+
Shares

शक्तिराष्ट्रहरूको कूटनीतिक प्राथमिकतामा रवि लामिछाने

अमेरिकामात्रै होइन, अरु मूख्य शक्तिराष्ट्रहरूले कूटनीतिक प्रोटोकलभन्दा बढ्ता सम्पर्क पहुँच, अनि शक्ति कतापटि छ भन्ने आधारमा कुराकानी गर्ने गरेको देखिन्छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १३:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आज रास्वपा सभापति रवि लामिछानेसँग टेलिफोनमा रसुवा बाढीको क्षतिप्रति दुःख व्यक्त गरे र सहयोग निरन्तर रहने आश्वासन दिए।
  • भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २० जेठमा लामिछानेलाई नयाँ दिल्लीमा बोलाएर भेटेका थिए, र उनले भाजपाका शीर्ष नेताहरूसँग पनि संवाद गरेका थिए।
  • चिनियाँ पक्षले लामिछानेलाई अगस्टमा भ्रमण गर्न निमन्त्रणा गरे पनि भोटेकोशी बाढी र अन्य कारणले सेप्टेम्बर दोस्रो साताका लागि सारिएको भ्रमण हाल स्थगित छ।

२२ भदौ, काठमाडौं । भारत, चीन, अमेरिकाजस्ता शक्तिराष्ट्रहरूको कूटनीतिक रोजाइमा सत्तारुढ रास्वपाका सभापति रवि लामिछाने देखिएका छन् ।

प्रधानमन्त्री तथा रास्वपा वरिष्ठ नेता बालेन शाहसँग ती देशका राजदूतहरूको संवाद सुरु भए पनि उच्च तहको कुराकानीमा पार्टी सभापति लामिछाने बढ्ता सक्रिय देखिएका हुन् ।

आज सोमबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सभापति लामिछानेसँग टेलिफोन वार्ताक्रममा रसुवा बाढीले पुर्‍याएको अथाह क्षतिप्रति दुःख व्यक्त गरे । रास्वपा स्रोतका अनुसार अमेरिकी विदेशमन्त्रीले नेपाललाई अमेरिकी सहयोग प्राथमिकतापूर्वक निरन्तर रहने आश्वासन दिएका छन् ।

रास्वपा सभापति लामिछानेले अमेरिकी सरकारलाई नेपालको क्षति अनि यसले ल्याएको कठिन घडीप्रति दुःख व्यक्त गरेकामा आभार व्यक्त गरेका छन् ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २० जेठमा लामिछानेलाई नयाँ दिल्लीमा निमन्त्रणा गरेर भेटवार्ता गरेका थिए । लामिछानेले आफ्नो पार्टीको तर्फबाट प्रतिनिधिमण्डलसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, सत्तारुढ भाजपाका शीर्ष नेताहरूसँग संवाद गरेका थिए ।

लामिछानेको भ्रमणलगत्तै परराष्ट्रमन्त्री शिशिर खनालको भ्रमण भएको थियो । प्रधानमन्त्री शाहसँग भारतीय राजदूत नवीन श्रीवास्तवलगायत अरु कूटनीतिज्ञहरूले एक्लाएक्लै भेट नपाएको सन्दर्भमा लामिछानेसँग उच्च तहको कुराकानी भएको थियो । पछि भने भारतीय तथा चिनियाँ राजदूतले प्रधानमन्त्री शाहसँग छुट्टाछुट्टै कुराकानी गरेका थिए ।

यस्तै चिनियाँ पक्षले पनि लामिछानेलाई अगस्टमा भ्रमण गर्न निमन्त्रणा गरेको थियो । लामिछानेले आन्तरिक कारण देखाउँदै यसलाई सेप्टेम्बर दोस्रो साताका लागि सारेका थिए । भ्रमणको अनौपचारिक सेड्युल बनेपछि औपचारिकता पाउन बाँकी थियो । त्यसैबीचमा भोटेकोशीको बाढी, तथा अन्य कारणले उक्त भ्रमण हाल स्थगित छ । रास्वपा स्रोतले उपयुक्त समयमा, सम्भवतः छिटै उक्त भ्रमण सम्पन्न हुने जानकारी दिएको छ ।

‘चिनियाँ राष्ट्रपतिज्यूसँगको भेटवार्ताको सुनिश्चितता लगायत विषय, अनि केही अर्थपूर्ण एजेन्डाको तयारी आदिले भ्रमण रोकिएको हो, तर सभापतिज्यु बेइजिङ जाने विषयलाई लिएर सकारात्मक नै हुनुहुन्छ,’ रास्वपा स्रोतले भन्यो ।

अमेरिकी विदेशमन्त्रीले सरकारको उच्च तहमा निर्णायक अर्थ दिनेगरी संवाद गर्न चाहेकाले सभापति लामिछानेसँग कुरा सम्भव भएको उच्च स्रोतको भनाइ छ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघीय महासभा बैठकका लागि न्युयोर्क जाने तयारीमा छन् । उनले त्यहाँ विश्वनेताहरूसँग आफ्ना कुरा राख्ने, त्यसअनुसार भेटवार्ताहरू तय हुने बताइएको छ । तर अहिलेसम्म त्यसको सम्पूर्ण कार्यसूची आइसकेको छैन ।

अमेरिकास्थित नेपाली दूतावास, अनि परराष्ट्र मन्त्रालयले यसको तयारी गरिरहेको बुझिएको छ । कूटनीति अध्येता तथा पत्रकार सुधीर शर्मा रास्वपा सभापति लामिछानेले पाएको यो महत्वलाई शक्तिराष्ट्रहरूको स्वाभाविक सम्बन्ध राख्ने चरित्रसँग दाँजेर विश्लेषण गर्छन् । लामिछाने सत्तारुढ दलको शक्तिशाली सभापति हुनुका अलावा प्रधानमन्त्री शाहको सहज पहुँचमा नरहने शैली पनि यसको कारक भएको उनको व्याख्या छ ।

‘अमेरिकामात्रै होइन, अरु मूख्य शक्तिराष्ट्रहरूले कुटनीतिक प्रोटोकलभन्दा बढ्ता सम्पर्क पहुँच, अनि शक्ति कतापटि छ भन्ने आधारमा कुराकानी गर्नेगरेको देखिन्छ, सभापति लामिछानेसँगका भेट र फोन कुराकानीलाई त्यसकै परिणामका रुपमा लिनुपर्ने हुन्छ,’ पत्रकार शर्माले भने, ‘प्रधानमन्त्री शाह सहजै उपलब्ध हुनुहुन्न । अनि छिटै राष्ट्रसंघ महासभामा जाने कुरा पनि छ । अमेरिकाको निम्तोमा उहाँ नगए पनि त्यो भ्रमण अमेरिकी भूमिमै हुने भएकाले पनि अहिले सभापति लामिछानेसँग कुरा हुनु स्वाभाविक छ ।’

यसअघि फागुनको चुनावमा रास्वपाको विशाल विजयलगत्तै भारतीय प्रधानमन्त्री मोदीले बालेनसँगै लामिछानेसँग पनि कुरा गरेका थिए । अरु कतिपय देशहरूले पनि सभापति लामिछानेलाई महत्व दिएर संवाद अघि बढाइरहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?