+
+
Shares

दैनिक माग १ लाख सिलिन्डर ग्यास रहेको उपत्यकामा मंगलबार १८ हजार मात्रै वितरण

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते १५:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृष्णभिरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाडौंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति उल्लेख्य घटेको छ ।
  • मंगलबार काठमाडौं उपत्यकामा ९ कम्पनीका १८ हजार २ सय ५९ सिलिन्डर मात्र डिलरसम्म पुगेका छन् ।
  • एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले उपत्यकामा दैनिक १ लाख सिलिन्डर माग रहेको बताए ।

२३ भदौ, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरोका कारण ढुवानी प्रभावित हुँदा संघीय राजधानी काठमाडौंमा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा उल्लेख्य कमी आएको छ ।

पहिरोले मुख्य राजमार्ग अवरुद्ध बनाएपछि उद्योगीहरूले वैकल्पिक मार्गका रूपमा त्रिभुवन राजपथ हुँदै ट्रकबाट ग्यास ल्याउनुपरेको छ । यसरी घुमाउरो र असहज बाटो प्रयोग गर्नुपर्दा बजारको मागअनुसार पर्याप्त मात्रामा ग्यास भित्र्याउन नसकिएको व्यवसायीहरूले बताउँदै आएका छन् ।

आपूर्तिमा आएको यही समस्याका कारण मंगलबार काठमाडौं उपत्यकामा ९ वटा ग्यास कम्पनीका जम्मा १८ हजार २ सय ५९ वटा सिलिन्डर मात्रै डिलरहरूसम्म पुगेका छन्।

पछिल्ला दिन काठमाडौं उपत्यकामा दैनिक १ लाख सिलिन्डर ग्यासको माग रहेको एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले बताए । सामान्य दिनमा भने दैनिक ३५ देखि ४० हजार सिलिन्डर ग्यास आवश्यक पर्ने गरेको उनको भनाइ छ ।

नेपाल आयल निगमको एलपीजी विभागले उपलब्ध गराएको तथ्यांकअनुसार मंगलबार सबैभन्दा धेरै सगरमाथा ग्यासले ४ हजार ६ सय ९९ सगर ग्यासका सिलिन्डर बजारमा पठाएको छ । कम्पनीले ६० वटा डिलरमार्फत उक्त संख्यामा सिलिन्डर बजार पठाएको हो ।

एभरेस्ट ग्यासले आफ्ना २८ वटा डिलरमार्फत कुल ३ हजार ४ सय ७५ थान सिलिन्डर वितरण गरेको छ । सुगम ग्यासले आफ्ना १५ वटा डिलरलाई २ हजार ४ सय २३ थान सिलिन्डर उपलब्ध गराएको छ भने साल्ट ट्रेडिङ कर्पोरेसनको स्वामित्वमा रहेको एसटीसी ग्यासका ४४ वटा डिलरमार्फत २ हजार १ सय ४६ वटा सिलिन्डर बजारमा पुगेका छन् ।

अन्य कम्पनीहरूको वितरण अवस्था हेर्दा सीताश्री ब्रान्डले आफ्ना ११ वटा डिलरलाई १ हजार ६ सयवटा सिलिन्डर उपलब्ध गराएको छ । श्री ग्यासले १ हजार ९ सय ६० वटा सिलिन्डर १८ डिलरमार्फत पठाएको छ ।

त्यस्तै, श्रीमाया ग्यासका १४ वटा डिलरमार्फत १ हजार २ सय ९१ सिलिन्डर वितरण हुँदा श्रीराम ग्यासले ९ वटा डिलरलाई जम्मा ३ सय ६० थान र मनोज ग्यासले भने ६ वटा डिलरलाई ३ सय ५ मात्र सिलिन्डर पठाएको आयल निगमले जनाएको छ ।

ढुवानीमा भएको ढिलाइ र मागको तुलनामा बजारमा ग्यासको आपूर्ति निकै कम भएकाले तत्कालका लागि ग्यास वितरण प्रणाली प्रभावित बनेको छ । उपभोक्ताहरू ग्यास पाइने आशामा डिलर तथा उखेगमै दिनरात लाइनमा बसिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?