+
+
Shares
विचार :

भोटेकोशीमा हामीले देखेको बाढी, नदेखेको भूगर्भ

नेपालमा भूविपद् : भौगर्भिक धरातल, जलवायु परिवर्तन र क्षतिपूर्ति

भोटेकोशी विपद्लाई जलवायु परिवर्तनसँग जोडेर क्षतिपूर्तिको दाबी गर्ने बहस शुरु भएको छ। तर विस्तृत वैज्ञानिक अध्ययन र प्रमाण विना यस्तो दाबी गर्नु हतारो हुन सक्छ।

प्रा.डा. लालुप्रसाद पौडेल प्रा.डा. लालुप्रसाद पौडेल
२०८३ भदौ २४ गते ११:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढीको प्रारम्भिक अध्ययनले ल्हेन्दे खोलाको माथिल्लो जलाधारमा कमजोर भौगर्भिक धरातलका कारण बरफ र चट्टानी पहिरो गएको देखाएको छ।
  • वैज्ञानिकहरूले भोटेकोशी, सेती र चमोलीजस्ता विपद्मा प्रमुख कारक कमजोर चट्टानी भीर र शृङ्खलाबद्ध भूप्रक्रिया रहेको निष्कर्ष निकालेका छन्।
  • लेखले जलवायु परिवर्तनको भूमिकाबारे प्रमाणमा आधारित विस्तृत अध्ययनपछि मात्र क्षतिपूर्ति दाबी गर्नुपर्ने र जोखिम क्षेत्रको पूर्वतयारी गर्नुपर्ने बताएको छ।

नेपालले गएको दशकमा असामान्य रूपमा भूविपद्को सामना गरिरहेको छ। २२ वैशाख २०६९ मा पोखराको सेती नदी बाढी, १७ साउन २०७१ मा सिन्धुपाल्चोकको जुरे पहिरो र बाढी, १२ वैशाख २०७२ मा गोरखा भूकम्प, १ असार २०७८ मा सिन्धुपाल्चोकको मेलम्ची बाढी, ३२ साउन २०८१ मा सोलुखुम्बुको थामे बाढी, १ जेठ २०८२ मा हुम्लाको तिल गाउँमा बाढी, २४ असार २०८२ र १० भदौ २०८३ मा रसुवाको भोटेकोशी बाढी जस्ता अकल्पनीय भूविपद्का घटना भए।

बढ्दो भूविपद्का घटनासँगै यतिबेला सरोकारवालाहरू बीच यिनको प्रमुख कारक, जलवायु परिवर्तनको भूमिका र नेपालले व्यहोरेको अस्वाभाविक क्षतिको क्षतिपूर्ति माग जस्ता विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा व्यापक बहस भइरहेको छ।

यसै सन्दर्भमा भोटेकोशी बाढीका सम्बन्धमा प्रारम्भिक तथ्यहरूले गर्ने सङ्केत, विपद्मा नेपालको कमजोर भौगर्भिक संरचनाको भूमिका, मनसुनी जलवायुको उत्पत्ति र प्रलयकारी भूविपद् बीचको अन्तरसम्बन्ध, जलवायु परिवर्तन विवाद, क्षतिपूर्ति मागका लागि पूर्वतयारी जस्ता विषयमा नेपालका वैज्ञानिक, अनुसन्धानकर्ता, राजनीतिज्ञ र अभियन्ता बीच व्यापक छलफल र बहस आवश्यक छ। 

भोटेकोशी बाढी : हालसम्मको बुझाइ

हालसम्म उपलब्ध भूउपग्रह चित्र, ड्रोनबाट खिचिएका फोटो, भूकम्पको प्रकृति, बाढीको प्रकृति र यसले पुर्‍याएको क्षतिको प्रारम्भिक तथ्याङ्कहरूका आधारमा भोटेकोशी बाढीका सम्बन्धमा नेपाली तथा विदेशी वैज्ञानिकहरूको एउटा प्रारम्भिक बुझाइ छ। त्यो हो- ‘ल्हेन्दे खोलाको माथिल्लो जलाधार लाङटाङ लिरुङ हिमालको उत्तरी ढालको लगभग ५ हजार २०० मिटर उचाइ क्षेत्र रहेको स्थानमा कमजोर भौगर्भिक धरातलका कारण बरफ सहितको चट्टानी पहिरो गयो, लगभग सयदेखि दुई सय मिलियन क्युबिक मिटर बरफ र चट्टान १ हजार २०० मिटर तल ठाडो बजारिंदा चट्टान छियाछिया भयो, घर्षणले बरफ पग्लियो र ढुङ्गा सहितको लेदो माटोमा परिणत भयो।’

विकसित र विकासशील देशहरू बीच पनि ठूलो विवाद रहेको छ। विकसित देशहरूले आफू विकसित भइसकेपछि विकासशील देशलाई बाधा पुर्‍याउन जलवायु परिवर्तनको राजनीति गरेको आरोप लगाएका छन् र ‘पहिल्यै ठूलो मात्रामा ग्रीनहाउस उत्सर्जन गरेका देशले बढी उत्सर्जनमा कटौती गर्नुपर्ने, विकासशील देशलाई औद्योगिकीकरण र गरिबी हटाउन अवसर दिनुपर्ने’ अडान राखेका छन्। 

यही कारण ५.२ म्याग्निच्युडको भूकम्प पनि गयो, ढुङ्गा सहितको लेदोमाटो ठाडो भिरालो नदी उपत्यकामा उच्च गतिका साथ १०० किलोमिटर तलसम्म बहँदा शृङ्खलाबद्ध विपद् उत्पन्न गर्‍यो।

हिमालयको हिममण्डलमा हुने विपद् सम्बन्धमा लामो अनुसन्धान अनुभव भएका वैज्ञानिक जेफ कार्गेल (प्लानेटरी साइन्स इन्स्टिच्युट), अल्टन बायर्स (कोलोराडो विश्वविद्यालय), जेफ दा कोस्टा (रिडिङ्स विश्वविद्यालय), गोरान एक्स्ट्रोम (कोलम्बिया विश्वविद्यालय) ले भोटेकोशी विपद्को प्रमुख कारक ‘कमजोर भौगर्भिक धरातल’ (कमजोर चट्टानी भीर) रहेको र जलवायु परिवर्तनको भूमिका कति थियो वा थिएन भन्ने यकिन गर्न गहिरो अनुसन्धानको आवश्यकता औंल्याएका छन्। 

कमजोर भौगर्भिक धरातल : विपद्को प्रमुख कारक

हिमालय पृथ्वीमा सबैभन्दा नयाँ पहाड हो। यो आजभन्दा लगभग ५ करोड ५० लाख वर्ष भारतीय र युरेसियन टेक्टोनिक प्लेटको टकरावको परिणाम हो। भारतीय प्लेटको निरन्तर उत्तरतर्फको गति (हालको उत्तरतर्फको गति ४–५ सेमी प्रति वर्ष) र टेक्टोनिक दबाबका कारण हिमालय आज पनि सक्रिय छ र पूर्ण रूपमा स्थिर भइसकेको छैन।

हालको उत्थान दर प्रति वर्ष २ मिलिमिटर रहेको छ। अध्ययन अनुसार हिमालयको तीव्र उत्थान (२० मिमि प्रति वर्ष) र ८ हजारभन्दा अग्ला हिमशृङ्खलाको निर्माण आजभन्दा लगभग ३० लाखदेखि १० लाख वर्षको बीचमा मात्र भएको हो। निरन्तर टेक्टोनिक दबाब र तीव्र उत्थानका कारण हिमालयका चट्टान दोब्रिने, भाँचिने, गहिरा दरार बन्ने, विभिन्न दिशामा चिराहरू पर्ने र निरन्तर भूकम्पका कारण खलबलिने कारणले हिमालयको भौगर्भिक धरातल निकै कमजोर छ।

तीव्रताका साथ उत्थान हुँदा चट्टान छिटो चिसिने कारण सूक्ष्म चिराहरू परी धुजाधुजा परेर फुटेका छन्, तातो सिसा अचानक चिसिंदा फुटे झैं। सूक्ष्म चिरा र पत्रहरूबाट पानी र अक्सिजन छिर्ने र त्यसले खनिजहरूमा रासायनिक प्रतिक्रिया गरी सजिलै चिप्लिने र फुल्ने किसिमका खनिजहरू बन्दा चिराहरू अझै बढी कमजोर हुन्छन् र ठूला चट्टानी पहिरो जान सजिलो पार्दछ। यससँगै अत्यधिक उचाइ र तीव्र नदी कटानले बनेका गहिरा उपत्यका, उच्च कोणको ढलान र मनसुनी वर्षाका कारण हिमालयको अस्थिरता अझै बढाएको छ। 

मनसुनी जलवायुको सुरुआत र प्रलयकारी बाढीपहिरो

दक्षिण एशियाली मनसुनी जलवायुको विकासमा हिमालय उत्थानको महत्त्वपूर्ण भूमिका रहेको छ। भारतीय प्लेट र तिब्बती प्लेट एक–आपसमा ठोकिएपछि क्रमशः हिमाल तथा तिब्बती पठार माथि उठ्दै जाँदा दक्षिणबाट आउने आर्द्र वायुलाई हिमाल र तिब्बतले अवरोध गरी दक्षिणतिर वायुमण्डलीय प्रवाहलाई बढाउने तथा तिब्बततिरको सुक्खा हावालाई रोक्ने काम गर्दा दक्षिणएशियामा बलियो मनसुनी जलवायु विकास भएको मानिन्छ।

भौगर्भिक तथ्यहरूले करिब २ करोड वर्ष अगाडिबाट मनसुनी जलवायुको सुरुआत भएको, ५० लाखदेखि १० लाख वर्षअगाडि एकदम बलियो भएको देखिन्छ। अहिले मनसुनी जलवायु, हिमालयको उत्थान र भूक्षयका बीचमा गहिरो चक्रीय अन्तरसम्बन्ध देखिन्छ। हिमालय उत्थानले मनसुनी जलवायु बलियो बनाउने, वर्षा र हिमपातका कारण भूक्षय वृद्धि हुने, भूक्षयका कारण जमिनमाथिको भार घट्न गई भूउत्थानले तीव्रता पाउने प्रक्रिया लाखौं वर्षदेखि निरन्तर चलिरहेको छ।

मनसुनी जलवायुको सुरुआत र तीव्र भूउत्थानसँगै हिमालयमा बाढी, पहिरो र भूक्षयको प्रक्रिया निरन्तर अहिलेसम्म चलिरहेको छ। हिमालयबाट बगेर थुप्रिएको गेग्रानबाट बनेको चुरे पहाड, तराईको समथर भूभाग, बङ्गालको खाडी र नदी उपत्यकाहरूको अध्ययनले हिमालयको भौगर्भिक इतिहासमा पटक–पटक भोटेकोशी बाढीभन्दा कैयौं गुणा ठूला प्रलयकारी बाढी, हिमपहिरो र भीमकाय चट्टानी पहिरो गएको सङ्केत गर्दछन्।

पोखरा उपत्यका नै अन्नपूर्ण हिमालमा पटक–पटक भीमकाय चट्टान सहित हिमपहिरो गएर वा हिमताल फुटेर आएको गेग्रान सेती नदी उपत्यकामा भरिएर बनेको अनुसन्धानले देखाएको छ। यसमा सबभन्दा पहिले र ठूलो घटना लगभग १२ हजार वर्षअगाडि र दोस्रो ठूलो घटना लगभग ७५० वर्षअगाडि भएको अनुसन्धानले देखाएको छ। त्यस्तै पर्वतको मोदीखोला र कालीगण्डकी नदीतटमा बनेका २५० मिटरभन्दा अग्ला रिभर टेरासहरू पनि अन्नपूर्ण र धवलागिरि हिमालबाट आएको भीमकाय बाढीले थुपारेर बनेको अध्ययनले देखाउँदछ। 

सेती नदी, चमोली र भोटेकोशी बाढीमा समानता

२२ वैशाख २०६९ मा पोखराको सेती नदीमा र २५ माघ २०७७ मा भारतको हिमाचलको चमोलीमा आएका बाढीको स्थान र प्रकृति १० भदौ २०८३ मा भोटेकोशीमा आएको बाढीसँग मिल्दोजुल्दो भएकाले उक्त बाढीहरूमा भएका वैज्ञानिक अनुसन्धानहरूको निष्कर्ष महत्त्वपूर्ण हुन्छ। दुवै विपद्मा गरिएको अनुसन्धानका निष्कर्षहरू विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान जर्नलहरूमा प्रकाशित भएका छन्।

ती अनुसन्धानहरूको साझा निष्कर्ष शृङ्खलाबद्ध भूप्रक्रियाले सिर्जना गरेको विपद् भन्ने छ। उच्च हिमालमा कमजोर भौगर्भिक अवस्थाका कारण चट्टान अस्थिर भएर बरफ, हिउँ र चट्टान सहितको पहिरो, बरफ र हिउँ पग्लिने तथा चट्टान धुजा परेर ‘डेब्रिस’ (ढुङ्गा, माटो र पानीको लेदो) मा परिणत, उच्च ढलान भएको नदी उपत्यकामा तीव्र गतिमा डेब्रिस फ्लो, नदीको किनार कटान भएर ढुङ्गा, माटो र पानी बाढीमा थपिंदै जाने, साँघुरा गल्लीमा नदी अवरोध हुने, क्षणिक ताल बन्ने र तत्काल फुट्ने आदि प्रक्रिया हुँदै नदीको तल्लो तटमा डुबान, गेग्रान थुप्रिने प्रक्रिया एकपछि अर्को शृङ्खलाबद्ध हुँदा तल्लो तटीय क्षेत्रमा संरचना र मानवीय क्षति पुर्‍याएको निष्कर्ष निकालिएको छ।

दुवै घटनाहरूमा गुरुत्वाकर्षणका कारण भूपदार्थको सामूहिक विस्थापन प्रमुख कारकका रूपमा रहेको छ। १७ साउन २०७१ मा सिन्धुपाल्चोकको जुरे पहिरोमा पनि अस्थिर र कमजोर चट्टान प्रमुख कारण थियो। १ असार २०७८ मा सिन्धुपाल्चोकको मेलम्ची बाढीको तत्कालको कारक अत्यधिक वर्षा भए तापनि यसको लागि कमजोर जमिन यसको जग थियो र छोटो समयमा एकभन्दा बढी विपद् (वर्षा, पहिरो, नदी थुनिने र फुट्ने, तीव्र भूक्षय) एकै ठाउँमा प्रमुख कारक मानिएको छ।

माथिका सबै विपद्हरूमा मौसम र जलवायु परिवर्तनले सामान्य उत्प्रेरकको काम गरेको भए पनि प्रमुख कारक ‘भौगर्भिक धरातल’ नै थियो भन्ने निष्कर्ष निकालिएको छ। 

जलवायु परिवर्तन : पृथ्वीको उत्पत्तिदेखि वर्तमानसम्म

पृथ्वीको ४ अर्ब ५० करोड वर्ष लामो इतिहासभरि प्राकृतिक रूपमा नै जलवायु निरन्तर उतारचढावमा भइरहेको छ। इतिहासमा पृथ्वी पटक–पटक लगभग पूर्ण रूपमा बरफले ढाकिएको अवस्था पनि थियो; जसले गर्दा सम्पूर्ण पृथ्वी एक विशाल बरफको गोलोमा परिणत भएको थियो। पृथ्वीको यस्तो चरणलाई स्नोबल अर्थ वा आइसबल अर्थ भनिन्छ। वैज्ञानिकहरूका अनुसार यो घटना ७२–५८ करोड वर्षअघिको बीचमा कम्तीमा दुईपटक भएको भौगर्भिक प्रमाणहरू भेटिन्छन्।

आजभन्दा करिब २५ लाख वर्षदेखि ११ हजार वर्ष अगाडिसम्म पृथ्वीमा धेरैपटक ठूला हिमयुगहरू आए। हिमयुग पृथ्वीको ध्रुवीय स्थितिमा हिउँ बढ्ने–घट्ने चक्रका कारण आएको हो। सौर्य विकिरणमा उतारचढाव (सूर्यबाट आउने ऊर्जामा कमी–बढी), ज्वालामुखी गतिविधि, पृथ्वीको कक्षीय परिवर्तन र समुद्री धाराहरूको गतिशीलता प्राकृतिक रूपमा जलावायु परिवर्तन हुनुका प्रमुख कारक मानिन्छन्।

प्राचीन समयमा समेत इजिप्ट, मेसोपोटामिया, माया जस्ता सभ्यताहरूमा बाढी, सुक्खा र वर्षाको ढाँचामा आएको परिवर्तनले कृषि र समाजमा ठूलो असर पारेको पाइन्छ। करिब ४२०० वर्ष अगाडि भएको ठूलो सुक्खाले धेरै प्राचीन सभ्यताहरू (जस्तै: मेसोपोटामिया/सुमेरियन सभ्यता, मिश्रको पुरानो साम्राज्य, सिन्धुघाँटी सभ्यता, चीनको प्राचीन सभ्यताहरू) लाई गम्भीर असर पारेको थियो।

यस घटनालाई वैज्ञानिकहरूले विश्वव्यापी जलवायु सङ्कटदेखि १२५० इस्वीसम्मको अवधिमा विश्वका केही क्षेत्रहरू, विशेषगरी उत्तर एट्लान्टिक क्षेत्रमा असामान्य रूपमा तापक्रम बढेको पाइन्छ; जसलाई ‘मध्ययुगीन तातो अवधि’ भनेर चिनिन्छ। यस अवधिमा युरोपमा जनसङ्ख्या वृद्धि, कृषि उत्पादनमा वृद्धि, ग्रीनल्यान्डमा बसोबास शुरु, उत्तरी अमेरिकी सभ्यतामा विस्तार आदि घटनाहरू भए।

करिब १४०० इस्वीदेखि १८५० इस्वीसम्मको समयलाई ‘लिटल आइस एज’ भनेर चिनिन्छ। यस अवधिमा पृथ्वीको धेरै भागमा तापक्रम उल्लेखनीय रूपमा घट्यो। यद्यपि, यो सम्पूर्ण भागमा एकैपटक र एकैस्तरको चिसो थिएन। विशेषगरी युरोप, उत्तर अमेरिका र एशियामा यसको प्रभाव स्पष्ट देखियो। यस अवधिमा विश्वको औसत तापक्रम करिब १–२ डिग्रीसम्म घटेको थियो।

तापक्रम घटेका कारण नदीहरू जम्ने तथा आल्पस्, हिमालय, आन्डिज पर्वतहरूमा धेरै हिमनदीहरूको वृद्धि भयो। युरोपमा कठोर जाडोले कृषि उत्पादन घटेर चरम सङ्कट आइलाग्यो। भोकमरी, महामारी, सामाजिक अशान्ति र गृहयुद्ध तथा अन्तरदेशीय युद्धमा उल्लेख्य वृद्धि भयो। एशियामा समेत खाद्यान्न सङ्कट र सामाजिक अस्थिरता बढ्यो। यसरी जलवायु परिवर्तन प्राकृतिक प्रक्रियाका रूपमा निरन्तर जारी छ र यसले इतिहासमा ठूल्ठूला सङ्कटहरू निम्त्याएका छन्। 

मानवजन्य जलवायु परिवर्तन र विवाद

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन फ्रेमवर्क सम्मेलन अनुसार ‘जलवायु परिवर्तन भन्नाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मानव क्रियाकलापबाट वातावरणको संरचनामा भएको परिवर्तन’ भन्ने बुझिन्छ। फ्रान्सेली वैज्ञानिक जोसेफ फुरिएका अनुसार वायुमण्डलमा रहेका हरितगृह ग्यासहरू कार्बन डाइअक्साइड, मिथेन, जलवाष्प र नाइट्रस अक्साइड जस्ता हरितगृह ग्यासले सौर्य विकिरणलाई पूर्ण रूपमा पृथ्वीबाट बाहिर जान नदिई थुनिदिन्छ र यसले ‘पृथ्वीलाई तताउने कम्बल’ जस्तै काम गर्छ; जसले गर्दा पृथ्वीको सतह र वायुमण्डल सामान्यभन्दा तातो हुँदै जान्छ।

औद्योगिक क्रान्तिपछि मानिसहरूले अत्यधिक मात्रामा कोइला, तेल, ग्यास जलाउनु, वन नष्ट गर्नु, उद्योग र यातायातबाट प्रदूषण बढाउनुका कारण हरितगृह ग्यास असामान्य मात्रामा बढेका कारण पृथ्वी अत्यधिक न्यानो हुँदै गएको (ग्लोबल वार्मिङ) विश्वास गरिन्छ।

जलवायु परिवर्तनलाई सबैले स्वीकार गरे पनि यसमा ‘मानवजन्य प्रभाव कति छ ?’ भन्ने विषयमा वैज्ञानिकहरू एकमत छैनन्। यसका आलोचकहरूका अनुसार जलवायु परिवर्तन यथार्थ भए पनि कहाँ, कहिले, कुन घटना जलवायु परिवर्तनका कारण भयो भन्ने यकिन गर्न कठिन छ र जलवायु अनुसन्धान मोडेल विश्वसनीय छैन। जलवायु परिवर्तनमा प्राकृतिक प्रक्रियाको प्रभुत्व रहेको छ, जलवायु परिवर्तनको प्रभावलाई अतिरञ्जित गरिएको छ, जलवायु परिवर्तनसँग अनुकूलन नै पर्याप्त छ, न्यूनीकरणका नीतिहरू आर्थिक रूपमा हानिकारक छन्।

भोटेकोशी लगायतका भूविपद्हरूमा जलवायु परिवर्तनको योगदान कति छ भन्ने निर्धारण गर्न भौगर्भिक अवस्था, प्लेटहरूको सक्रियता र भूकम्पीय गतिविधि, दीर्घकालीन मौसम तथा विपद् तथ्याङ्क र मानवीय गतिविधिको एकीकृत वैज्ञानिक अध्ययन आवश्यक छ। प्रमाणमा आधारित निष्कर्षबाट मात्र मानवजन्य जलवायु परिवर्तनको भूमिकालाई विश्वसनीय रूपमा स्थापित र क्षतिपूर्तिको सुनिश्चितता गर्न सकिन्छ।

हरितगृह ग्यास उत्सर्जनमा प्राकृतिक प्रक्रिया- जस्तै: सक्रिय ज्वालामुखी, टेक्टोनिक डिग्यासिङ (गहिरा दरारहरूबाट पृथ्वीको गर्भमा रहेका ग्यासहरू बाहिर निस्किने) तथा डिकार्बोनेसन रियाक्सन (चट्टानभित्र हुने रासायनिक प्रतिक्रिया) पनि उत्तिकै जिम्मेवार छन्; तथापि विश्वव्यापी तापक्रम वृद्धिमा यसको योगदान कति छ भन्ने यकिन छैन।

भौगर्भिक अध्ययन अनुसार भोटेकोशीको स्याफ्रुबेंसी लगायत तातोपानीका मूलहरू भएका ‘मेन सेन्ट्रल थ्रस्ट’ को वरिपरि क्षेत्रहरूमा समेत निरन्तर रूपमा ठूलो मात्रामा कार्बन डाइअक्साइड र सल्फर ग्यास उत्सर्जन भइरहेको छ। अर्कोतिर, ज्वालामुखीबाट ठूलो परिमाणमा सल्फर डाइअक्साइड उत्सर्जन हुन्छ र यो वायुमण्डलमा पुगेर सल्फेट एरोसोल (सूक्ष्म कण) बनाउँदछ। यसले सूर्यको प्रकाशलाई परावर्तन गर्ने हुँदा विश्वव्यापी तापक्रम घटाउन मद्दत गर्दछ।

सन् १९९१ मा फिलिपिन्सको माउन्ट पिनाटुबोमा ज्वालामुखी विस्फोट हुँदा करिब ३ वर्षसम्म विश्वव्यापी तापक्रममा कमी ल्याएको तथा सन् २०१० मा आइसल्यान्डमा ज्वालामुखी विस्फोट हुँदा युरोपभरि खरानी आकाशमा फैलिएर एक लाखभन्दा बढी उडानहरू रद्द भएको विषय मननयोग्य छ।

जलवायु परिवर्तन वैज्ञानिक विवादमा मात्र सीमित छैन। संसारमा दोस्रो ग्रीनहाउस ग्यास उत्सर्जक मानिएको अमेरिकामा राजनीतिक, आर्थिक र वैचारिक बहसको विषय बनेको छ। अधिकांश डेमोक्र्याटहरूले जलवायु परिवर्तनमा प्रमुख भूमिका जीवाश्म इन्धनको अत्यधिक प्रयोग प्रमुख कारण रहेको, तेल ग्यासको प्रयोग घटाएर स्वच्छ ऊर्जा (सोलार, हाइड्रो, जियोथर्मल) को प्रयोगमा तथा ईभी उत्पादनमा जोड दिनुपर्ने, पेरिस सम्झौताको समर्थन तथा न्यून आय भएका बढी प्रभावित समुदाय र देशलाई आर्थिक सहयोग गर्नुपर्ने कुराको समर्थन गर्दछन्।

रिपब्लिकनभित्र पनि ‘कन्जरभेटिभ’ समूहले जलवायु परिवर्तनमा मानव प्रभाव न्यून रहेको, जलवायु मोडल र वैज्ञानिक संस्थाहरूमाथि शङ्का गर्छन्, फोसिल फ्युलमा अत्यधिक नियमन र ईभी प्राथमिकताले महँगी बढ्ने र अमेरिकाको आर्थिक वृद्धि र औद्योगिक प्रतिस्पर्धामा असर गर्ने धारणा राख्दछन्। यस बहसमा जीवाश्म ऊर्जा कम्पनी र स्वच्छ ऊर्जा कम्पनीमा लगानी गर्ने ठूला व्यापारीहरूको प्रमुख भूमिका रहेको विश्वास गरिन्छ।

विकसित र विकासशील देशहरू बीच पनि ठूलो विवाद रहेको छ। विकसित देशहरूले आफू विकसित भइसकेपछि विकासशील देशलाई बाधा पुर्‍याउन जलवायु परिवर्तनको राजनीति गरेको आरोप लगाएका छन् र ‘पहिल्यै ठूलो मात्रामा ग्रीनहाउस उत्सर्जन गरेका देशले बढी उत्सर्जनमा कटौती गर्नुपर्ने, विकासशील देशलाई औद्योगिकीकरण र गरिबी हटाउन अवसर दिनुपर्ने’ अडान राखेका छन्। 

क्षतिपूर्तिको बहस

१० भदौ २०८३ को भोटेकोशी बाढीले अकल्पनीय रूपमा ठूलो जनधनको क्षति पुर्‍याएपछि ‘जलवायु परिवर्तन विपद्को प्रमुख कारक रहेको र नेपालले अन्तर्राष्ट्रिय मञ्चमा राहतको भिख होइन, अत्यधिक हरितगृह ग्यास उत्सर्जन गरी जलवायु परिवर्तनमा प्रमुख भूमिका खेल्ने राष्ट्रहरूबाट क्षतिपूर्तिको दाबी गर्नुपर्ने’ बहसको थालनी भएको छ।

तर यस्ता संवेदनशील विषयहरू अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदा अकाट्य वैज्ञानिक प्रमाण र भरपर्दो तथ्याङ्क विश्लेषणमा आधारित भएर उठाउनुपर्ने हुन्छ। नेपाल स्वयं एक अत्यन्त सक्रिय र भौगर्भिक रूपमा कमजोर भूभागमा अवस्थित छ। यो भूविपद्का लागि संवेदनशील देखिन्छ। निश्चित भूविपद्मा जलवायु परिवर्तनको भूमिका कति छ भन्ने पर्याप्त अध्ययन भएको छैन। जलवायु परिवर्तन प्राकृतिक हो वा मानवजन्य भन्नेमा वैज्ञानिक बीच एकमत देखिंदैन।

विगतमा भोटेकोशी जस्तै बाढी आएको पोखराको सेती नदी बाढी र भारतको चमोली बाढीको अनुसन्धानले समेत जलवायु परिवर्तनभन्दा भौगर्भिक बनोटलाई प्रमुख कारक देखाइएको थियो। यही पृष्ठभूमिमा भोटेकोशी विपद्को विस्तृत अध्ययन विना मानवजन्य जलवायु परिवर्तनलाई कारक देखाई क्षतिपूर्ति दाबी गर्नु हतारो हुनसक्ने देखिएकाले यसमा गहन अनुसन्धान र बहस जरूरी छ।

अर्कोतिर, नदी उपत्यकाहरूमा भइरहेको बस्ती विकास, जनसङ्ख्या वृद्धि, पूर्वाधार निर्माण, पर्यटकको वृद्धि र वन विनाशले स्थानीय सूक्ष्म जलवायु परिवर्तन कसरी भइरहेको छ र यसले भूविपद्को तीव्रतामा कस्तो भूमिका खेलेको छ भन्ने स्पष्ट छैन। यी तथ्यहरूको स्पष्ट खाका तयार नगरी रिजनल वा ग्लोबल जलवायु परिवर्तन मात्रै यसको कारक हो भनेर प्रतिरक्षा गर्न सजिलो छैन।

नेपालमा प्रत्येक भूविपद्हरूलाई जलवायु परिवर्तनको परिणामका रूपमा हेर्ने गरिन्छ, जुन पर्याप्त छैन। नेपालको कमजोर भौगर्भिक धरातल र सक्रिय प्लेट टेक्टोनिक अवस्था भूविपद्का प्रमुख कारक हुन् भने केही घटनाहरूमा जलवायु परिवर्तनले उत्प्रेरकको भूमिका खेलेको हुन सक्छ।

तसर्थ नेपालमा कम्तीमा विगत २०–३० वर्षमा भएका बाढी, पहिरो, डेब्रिस फ्लो, हिमताल विस्फोट, ‘रक एभालान्च’ जस्ता भूविपद्हरू र सम्बन्धित मौसमी तथ्याङ्कहरूको सङ्कलन, भौगर्भिक अवस्थाको अध्ययन, मानवजन्य गतिविधिको अध्ययन तथा विश्लेषण गरेर मात्र कुन विपद्मा जलवायु परिवर्तनको भूमिका कति थियो भन्ने आकलन गर्नुपर्ने हुन्छ।

अभियन्ताहरूले जसरी सरकारले पनि हचुवामा अन्तर्राष्ट्रिय मञ्चमा क्षतिपूर्ति दाबी गरेर लोकप्रिय बन्ने र छिमेकी देशलाई चिढ्याउने भन्दा भरपर्दो अनुसन्धानको माध्यमबाट तथ्य स्थापित गर्नेतिर जानुपर्दछ। यसका साथै भूविपद् नेपालका लागि नियमित प्रक्रिया हो भन्ने स्वीकार गरी विगतका विपद्बाट पाठ सिकेर भविष्यमा जनधनको क्षति कम गर्न विपद् जोखिम क्षेत्रहरूको पहिचान तथा नक्शाङ्कन गर्नुपर्छ। पूर्वसूचना प्रणालीको स्थापना, भूउपयोग नीतिमा कडाइ, जोखिम क्षेत्रको निरन्तर अनुगमन, जलविद्युत् गृह र सुरुङहरूमा आपत्कालीन सुरक्षा प्रणालीको विकास, नदीहरूको व्यवस्थापन र स्थानीय समुदायमा सचेतना वृद्धि तथा पूर्वतयारी आदिमा विशेष प्राथमिकताका साथ काम गर्नुपर्दछ।

यसका लागि सरकार र सम्बन्धित निकायहरूले विभिन्न क्षेत्रका सम्बन्धित विज्ञहरूको राष्ट्रियस्तरको कार्यदल गठन, अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको सम्मेलन, अनुसन्धान बजेटका लागि पहल तथा विश्वविद्यालय र अनुसन्धान निकायहरूलाई अनुसन्धानमा सहभागी हुन अभिप्रेरित गर्नुपर्ने देखिन्छ। 

निष्कर्ष

नेपालमा प्रत्येक भूविपद्हरूलाई जलवायु परिवर्तनको परिणामका रूपमा हेर्ने गरिन्छ, जुन पर्याप्त छैन। नेपालको कमजोर भौगर्भिक धरातल र सक्रिय प्लेट टेक्टोनिक अवस्था भूविपद्का प्रमुख कारक हुन् भने केही घटनाहरूमा जलवायु परिवर्तनले उत्प्रेरकको भूमिका खेलेको हुन सक्छ।

त्यसकारण भोटेकोशी लगायतका भूविपद्हरूमा जलवायु परिवर्तनको योगदान कति छ भन्ने निर्धारण गर्न भौगर्भिक अवस्था, प्लेटहरूको सक्रियता र भूकम्पीय गतिविधि, दीर्घकालीन मौसम तथा विपद् तथ्याङ्क र मानवीय गतिविधिको एकीकृत वैज्ञानिक अध्ययन आवश्यक छ। प्रमाणमा आधारित निष्कर्षबाट मात्र मानवजन्य जलवायु परिवर्तनको भूमिकालाई विश्वसनीय रूपमा स्थापित र क्षतिपूर्तिको सुनिश्चितता गर्न सकिन्छ।

(त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित भूगर्भशास्त्र केन्द्रीय विभागका प्राध्यापक पौडेल भूगर्भशास्त्रका अध्येता तथा विज्ञ हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?