News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी बाढीले रसुवा, नुवाकोट र धादिङमा घरसँगै ज्यानसमेत बगाएको र धेरै जना आफन्तको खोजीमा भौँतारिइरहेको लेखमा उल्लेख छ।
- मनोचिकित्सक डा. सगुन बल्लभ पन्तले बाढीपछि डर, अनिद्रा र एन्जाइटी सामान्य प्रतिक्रिया हुन सक्ने तर समयमै मनोसामाजिक सहयोग आवश्यक हुने बताए।
- उनले विपत्तिपछि ‘लुक, लिसन र लिंक’ अपनाएर प्रभावितलाई सुन्न, आवश्यकता बुझ्न र उपलब्ध सेवासँग जोड्नुपर्ने सुझाव दिए।
भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट धादिङ लगायतका जिल्लामा घर मात्रै बगाएन, धेरैको जीवन बगायो । कतिले आफ्नै आँखाअघि श्रीमान्, श्रीमती वा सन्तानलाई बगाएको देखे । कोही आफन्तको खोजीमा अहिलेसम्म भौंतारिइरहेका छन् ।
जो बाँचेका छन्, उनीहरूको मनभित्र बाढीको त्रास अझै बगिरहेकै छ । निद्रा लाग्दैन, सानो आवाजमा झस्किन्छन्, आँखामा घटनाको झझल्को आइरहन्छ र सपनामा गुमाएका आफन्त फर्केर आएको देख्छन् ।
अहिले देखिएको यो पीडा सबै मानसिक समस्या होइन, विपत्तिपछि मनले भोगिरहेको असामान्य अवस्थाप्रतिको स्वाभाविक प्रतिक्रिया हो । तर समयमै सुन्ने, बुझ्ने र साथ दिने मानिस नपाए यही घाउ भविष्यमा डिप्रेसन, एन्जाइटी र गम्भीर मानसिक स्वास्थ्य समस्यामा बदलिन सक्छ ।
यस्तो असह्य पीडामा रहेका मानिसलाई कसरी बुझ्ने ? के भन्ने र के नभन्ने ? पीडितको मन बुझाउन कसरी साथ दिने ? विपत्तिपछिको मानसिक संकट र मनोपरामर्शको आवश्यकताबारे मनोचिकित्सक डा. सगुन बल्लभ पन्तसँग अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानी :
बाढी प्रभावितहरूमा डर, अनिद्रा, एन्जाइटी जस्ता मानसिक समस्या देखिन थालेका छन् । ठूलो विपत्तिपछि आउने मानसिक स्वास्थ्य समस्यालाई कसरी हेर्न सकिन्छ ?
यस्तो विपत्तिमा मानसिक स्वास्थ्यका हिसाबले मुख्यतः दुईथरी मानिस प्रभावित हुन्छन् । पहिलो, जो स्वयं विपत्तिमा परे, मुस्किलले बाँचे वा घाइते भएर उपचारपछि निको हुँदै छन् । दोस्रो, जसले आफ्ना परिवारका सदस्य गुमाएका छन् वा आफैं पनि विपतमा परेका छन् ।
त्यसैगरी, विपत्तिको प्रत्यक्ष सामना गर्ने प्रहरी, सेना, सामाजिक क्षेत्रमा काम गर्ने व्यक्ति, पत्रकार, चिकित्सक तथा उद्धार र राहतमा खटिएका व्यक्तिहरूमा पनि विभिन्न प्रकारका मानसिक स्वास्थ्य समस्या देखिन सक्छन् ।
तर, अहिले देखिएका सबै लक्षणलाई मानसिक रोग भन्न मिल्दैन । यी असामान्य परिस्थितिमा देखिने सामान्य भावनात्मक प्रक्रियाहरू हुन् । कसैमा सोचाइसँग सम्बन्धित, कसैमा भावनासँग सम्बन्धित र कसैमा व्यवहारसँग सम्बन्धित परिवर्तन देखिन सक्छ ।
जो व्यक्ति प्रत्यक्ष घटनामा परेका छन्, आफन्त गुमाएका छन्, सम्पत्ति गुमाएका छन् वा मुस्किलले बाँचेका छन्, उनीहरूमा शोकको प्रक्रिया हुन्छ । आफन्त गुमाउनु, घरबास गुमाउनु र भविष्य अन्योलमा पर्नुले निराशा, डर र असुरक्षाको भावना पैदा गर्न सक्छ । ‘भोलि के होला ? भन्ने चिन्ता बढ्न सक्छ । निद्रामा समस्या आउने, खानामा रुचि घट्ने, सानो आवाजमा पनि झस्किने, आत्तिने र छटपटाउने जस्ता लक्षण देखिन सक्छन् ।
तर, यी सबै मानसिक रोग होइनन् । यो एउटा मानसिक प्रक्रिया हो, जुन समयसँगै धेरै व्यक्तिमा आफैं कम हुँदै जान्छ । केही व्यक्तिमा भने यही अवस्था बढ्दै गएर मानसिक रोगका रूपमा विकसित हुन सक्छ । त्यसैले विपत्तिमा परेका व्यक्ति मात्र होइन, विपद्मा प्रतिकार्यमा खटिएका व्यक्तिहरूले पनि आफ्नो मानसिक स्वास्थ्यप्रति सचेत हुनुपर्छ।

विपद्पछि कतिपय मानिस एक–अर्कासँग कुराकानी नगरी चुपचाप बसिरहेका छन् । आफ्नै अगाडि आफन्त गुमाएका मानिसको पीडालाई कम गर्न कसरी संवाद गर्न सकिन्छ ?
गम्भीर घटना भएपछि मानिस एउटा भावनात्मक रूपमा शून्यको अवस्थामा पुग्न सक्छ । यसलाई हामी ‘डिनायल’ अर्थात् अस्वीकारको अवस्था भन्छौँ । कहिलेकाहीँ घटना भएकै होइन कि, आफ्नो आफन्त आइहाल्छ कि भन्ने आशा रहन सक्छ ।
यस्तो अवस्थामा मानिस स्वतःस्फूर्त रूपमा कुराकानी गर्न चाहँदैन । उसको मनमा ‘मलाई कसले बुझ्छ? मेरो जस्तो पीडा कसको छ ? ’ भन्ने भावना हुन सक्छ।
धेरै मानिस प्रभावित भए पनि प्रत्येक व्यक्तिले आफ्नो परिवार, आफ्नो घर र आफ्नै क्षतिलाई फरक ढंगले अनुभव गरिरहेको हुन्छ । त्यसैले उसलाई आफ्नो पीडा अरूले बुझ्न सक्दैनन् जस्तो लाग्न सक्छ र खुल्न चाहँदैन ।
यस्तो अवस्थामा जबर्जस्ती बोल्न लगाउनु हुँदैन । उसलाई दबाब दिनुको साटो समय दिनुपर्छ । ‘म बुझ्छु, तपाईंलाई अहिले बोल्न मन छैन। जुन दिन बोल्न मन लाग्छ, म सुन्न तयार छु’ भनेर सम्झाउनुपर्छ ।
विस्तारै ऊ अरूसँग आफ्ना अनुभव र भावना व्यक्त गर्न थाल्छ । रुन्छ, चिच्याउँछ, कराउँछ वा आफ्ना दुःखहरू सुनाउँछ । त्यो बेला हामीले उनीहरूलाई सम्झाउने वा समाधान बताउनेभन्दा उसको कुरा सुन्ने हो ।
चोट परेका व्यक्तिहरूलाई अहिले फिल्डमा खटिएका मनोचिकित्सक, काउन्सिलर र मनोपरामर्शदाताले मनोवैज्ञानिक प्राथमिक उपचारको सिद्धान्तअनुसार हेर, सुन र जोडमा ध्यान दिनुपर्छ ।
‘हेर, सुन र जोड’ भन्नाले के बुझिन्छ ?
‘हेर’ भन्नाले प्रभावित व्यक्तिको आवश्यकता बुझ्नु हो । साथ दिने मान्छे चाहिएको हो कि, खाना, बासस्थान चाहिएको हो कि, परिवारको अवस्थाबारे जानकारी चाहिएको हो, पहिला आवश्यकता हेर्नुपर्छ ।
त्यसपछि ‘सुन’ हो । हामीलाई लाग्न सक्छ– खाना वा बस्ने ठाउँ चाहिएको छ । तर आवश्यकता परिवार सुरक्षित भएको खबर हुनसक्छ । त्यसैले उसको कुरा सुन्नुपर्छ ।
‘जोड’ भन्नाले आवश्यकताअनुसार उपलब्ध सेवा र सुविधासँग जोडिदिनु हो । कसैलाई नियमित खाने औषधि चाहिएको हुनसक्छ । कसैलाई न्यानो कपडा, कसैलाई तातो खाना र कसैलाई मनोसामाजिक सहयोग चाहिएको हुनसक्छ ।

विपत्तिले बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई पनि असर गरेको हुन्छ । कसैलाई ह्विलचेयर चाहिएको हुनसक्छ । त्यसैले प्रभावित व्यक्तिको वास्तविक आवश्यकता पहिचान गरेर सोहीअनुसार सहयोग गर्नुपर्छ ।
आमाबुबा गुमाएर मानसिक असर परेका बालबालिकालाई कसरी सहयोग गर्न सकिन्छ ?
बालबालिकालाई तथ्यमा आधारित जानकारी दिनुपर्छ । यदि परिवारका सदस्य सकुशल छन् भने त्यही अनुसारको जानकारी दिनुपर्छ । यदि परिवारका सदस्य बगेको वा मृत्यु भएको तथ्य छ भने पनि सत्य कुरा बताउनुपर्छ ।
तर, जानकारी नभएको अवस्थामा ‘तपाईंको परिवारको सदस्य भेटिन्छ’ भनेर झुटो आश्वासन दिनु हुँदैन। झुटो आश्वासनले तत्काल सहज महसुस गराउन सक्छ, तर दीर्घकालमा त्यसले गहिरो मानसिक असर पार्न सक्छ ।
बालबालिकालाई सकेसम्म नियमित दिनचर्यामा राख्नुपर्छ । उनीहरूको आधारभूत आवश्यकता खाना, बास र कपडाको व्यवस्था गर्नुपर्छ । सुरक्षित रूपमा खेल्न सक्ने वातावरण बनाउनुपर्छ ।
सबै बालबालिकाले बोलेर आफ्ना भावना व्यक्त गर्न सक्दैनन् । कतिपयले लेख्न सक्छन्, चित्र बनाउन सक्छन्, रङ भर्न सक्छन् वा नाटकमार्फत आफ्ना भावना व्यक्त गर्न सक्छन् । त्यसैले उनीहरूलाई आफ्ना भावना व्यक्त गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ ।

बालबालिकामा मानसिक समस्या सधैं स्पष्ट रूपमा देखिँदैन । कतिपयमा पहिले नभएको अवस्थामा ओछ्यानमा पिसाब गर्ने, निद्रामा झस्किने, खानामा रुचि घट्ने, असामान्य रूपमा रुने, कराउने वा आक्रामक हुने व्यवहार देखिन सक्छ । कतिपय बालबालिका भने रुनुपर्ने अवस्थामा पनि गुम्सिएर बस्ने र बोल्दै नबोल्ने हुन सक्छन् ।
त्यसैले बालबालिकालाई जबर्जस्ती बोलाउने होइन, उनीहरूले आफ्ना भावना स्वतःस्फूर्त रूपमा व्यक्त गर्नसक्ने वातावरण बनाइदिने हो ।
त्यस्तो वातावरण कसरी बनाउन सकिन्छ ?
बालबालिकालाई सकेसम्म नियमित दिनचर्यामा फर्काउनुपर्छ । सत्य र तथ्यमा आधारित जानकारी दिने, मनोरञ्जन गर्ने वातावरण बनाउने, गीत गाउने, नाच्ने र खेल्ने अवसर दिने गर्न सकिन्छ ।
स्कुल तुरुन्तै सञ्चालन गर्न नसक्ने अवस्था छ भने स्वयंसेवकहरूले टेन्ट वा क्याम्पमै उनीहरूलाई पढाउन सक्छन् । नियमित पढाइसँग सम्बन्धित कुरा, चित्र बनाउने, सिप विकास गर्ने तथा खेलकुदका गतिविधिले पनि बालबालिकाको दिनचर्या व्यवस्थापन गर्न सहयोग गर्छ ।
धेरैले विस्तारै आफैं ठिक हुन्छ भनिरहेका छन् । तर आफन्त गुमाएका व्यक्तिमा केही समयपछि दीर्धकालीन मानसिक समस्या झन् बढ्न सक्छ ?
अहिले देखिएका धेरै मानसिक लक्षण रोगका लक्षण होइनन् । परिवार, आफन्त र सम्पत्ति एकै पटक गुमाउँदा जोकोहीमा पनि देखिन सक्ने स्वाभाविक भावनात्मक प्रक्रिया हुन् ।
तर, यसको असर व्यक्तिपिच्छे फरक हुन्छ । व्यक्तिको व्यक्तित्व, उसले विगतमा विपद्को सामना गरेको अनुभव, समस्या सहन सक्ने क्षमता, कति ठूलो आघात परेको छ, कति सम्पत्ति नोक्सान भएको छ र परिवारका कति सदस्य गुमाएका छन् भन्ने कुराले पनि असर गर्छ ।

सामान्यतया केही समयपछि धेरै व्यक्तिमा यी लक्षण क्रमशः कम हुँदै जान्छन् । अबको एक महिनापछि केही व्यक्तिमा लामो समयसम्म डराइरहने, आत्तिरहने, नराम्रो सपना देखिरहने, झस्किरहने र घटनासँग सम्बन्धित सम्झनाहरू बारम्बार आइरहने हुनसक्छ ।
त्यसपछि अत्यधिक निराश हुने, खिन्न हुने, जीवनप्रति वितृष्णा जाग्ने र कहिलेकाहीँ आफूलाई हानि गर्ने किसिमका सोच पनि आउन सक्छन् ।
प्राकृतिक विपत्तिपछि मानसिक स्वास्थ्यमा पर्ने प्रभाव केही व्यक्तिमा वर्षौंसम्म रहन सक्छ र दीर्घकालीन मानसिक स्वास्थ्य समस्याका रूपमा देखिन सक्छ। त्यसैले अहिले नै प्रभावित व्यक्तिलाई सही भावनात्मक तथा मनोसामाजिक सहयोग दिनुपर्छ ।
मानसिक समस्या कम गर्न प्रभावित समुदाय, समाज र सरकारले कसरी समन्वय गर्नुपर्छ ?
यस्तो बेला सबैले एक–अर्कालाई सहयोग गरिरहेका छन् भन्ने अनुभूति पीडितलाई हुनुपर्छ । कतिपयले बढी सहयोग पाएका होलान्, कतिपयले आफूले पर्याप्त सहयोग नपाएको अनुभव गरेका हुन सक्छन् । तर समाजको दायित्व भनेको कसैले पनि आफूलाई एक्लो महसुस नगरोस् भन्ने हो ।
सामूहिक रूपमा गरिने सहयोगले मानिसलाई ‘म एक्लो छैन, मेरो लागि साथ दिने मान्छे छन्’ भन्ने अनुभूति गराउँछ । यसले मनोवैज्ञानिक समस्या केही हदसम्म आफैँ कम गर्न मद्दत गर्छ ।
त्यसका लागि स्थानीय तहमा रहेका संरचनाहरू पनि सक्रिय हुन आवश्यक छ । स्थानीय स्तरमै मनोपरामर्श, आवश्यकताअनुसार सहयोग तथा प्रभावित परिवारको पुनर्निर्माण वा पुनर्स्थापनाका लागि स्पष्ट योजना बनाउनुपर्छ ।
विपत्तिमा परेका व्यक्तिले पनि ‘मेरो समस्या समाधान गर्न अरू मात्रै आउनुपर्छ’ भन्ने होइन, आफू पनि समुदायसँग मिलेर पुनर्स्थापनाको प्रक्रियामा सहभागी हुनुपर्छ भन्ने सकारात्मक सोच विकास गर्न आवश्यक छ ।
केही समयपछि दशैँ-तिहार जस्ता चाडपर्व आउँदै छन् । त्यतिबेला पनि पीडितलाई एक्लोपन महसुस हुनसक्छ । अरूका परिवारमा चाडपर्वको रौनक देखिँदा आफ्ना आफन्त र घर गुमाएका व्यक्तिलाई झन् पीडा हुनसक्छ । त्यसैले समुदायका मानिसहरू संवेदनशील हुनुपर्छ । अरूलाई अप्ठ्यारो पर्छ भनेर सहयोगी भावनाका साथ सबैलाई सामाजिक गतिविधिमा जोड्नुपर्छ ।
सामाजिक सञ्जालमा पीडितलाई थप असर गर्ने खालका भिडियो वा सामग्री राख्नु हुँदैन । विपत्तिका बेला आफन्त गुमाएका व्यक्तिले शव वा दुर्घटनाका भिडियो हेर्दा त्यसले थप मानसिक पीडा दिन सक्छ ।
आफन्त गुमाएका कतिपयले आत्महत्या प्रयास गरेको पनि सुनिन्छ । यस्तो जोखिममा रहेका व्यक्तिलाई कसरी सहयोग गर्न सकिन्छ ?
पहिलेको अनुभवले समाज एकसाथ उभिँदा व्यक्तिले आफूलाई हानि गर्ने जोखिम केही हदसम्म कम हुने देखाएको छ । अहिले राहत, सहयोग र साथ दिने मानिसहरू भएकाले आत्महत्याको समस्या ठूलो रूपमा नदेखिएको हुन सक्छ ।

तर, केही महिनापछि राहत र सहयोगका हातहरू कम हुँदै जान्छन् । गाउँ सुनसान हुन सक्छ, अभाव र आवश्यकताहरू बढ्न सक्छन् । घर र परिवार गुमाएका व्यक्तिमा ‘म बाँचेर के गरौँ ?’ भन्ने सोच आउन सक्छ । त्यसैले भविष्यमा आत्महत्याको जोखिम बढ्न सक्ने सम्भावनालाई अहिलेबाटै ध्यान दिनुपर्छ ।
पीडितले पनि मनका पीडा अरूसँग सेयर गर्नुपर्छ । मानसिक स्वास्थ्य विशेषज्ञ, काउन्सिलर वा परामर्शदातासँग खुलेर कुरा गर्नुपर्छ ।
मानसिक स्वास्थ्यसम्बन्धी सेवा कसरी समुदायसम्म पुर्याउन सकिन्छ ?
अहिलेबाटै मानसिक स्वास्थ्यसम्बन्धी जानकारी दिन आवश्यक छ । विपत्तिका बेला तनाव, डर, अनिद्रा र अन्य मानसिक समस्या देखिनु असामान्य होइन । तर यी समस्या भविष्यमा अझ गम्भीर हुन सक्छन् भन्ने बुझाउनुपर्छ ।
‘तपाईंलाई समस्या भयो भने सहयोग लिनुस्, आफ्नो कुरा खुलेर गर्नुस्, विश्वासिलो व्यक्तिसँग कुरा गर्नुस्, तपाईं एक्लो हुनुहुन्न, हामी छौँ’ भन्ने सन्देश समुदायमा पुर्याउनुपर्छ ।
विपत्तिको समयमा हरेक व्यक्तिसम्म मनोचिकित्सक नै पुग्नुपर्छ भन्ने होइन । तपाईंको नजिक भएको स्वास्थ्यकर्मी, प्रहरी, सेना वा समुदायमा काम गरिरहेको स्वयंसेवक पनि प्रारम्भिक रूपमा सहयोगी बन्न सक्छन् ।
अहिलेको अवस्थामा मनोपरामर्शको मुख्य कुरा भनेको सुन्ने, आवश्यकता बुझ्ने र आवश्यक सेवासँग जोड्नु हो। त्यसैले गोपनीयता कायम गर्दै सेवा उनीहरूलाई सहज ठाउँसम्म पुर्याउनुपर्छ । शिविर, चौतारी वा समुदायमा उपलब्ध अन्य सेवासँग मानसिक स्वास्थ्य सेवालाई जोड्न सकिन्छ ।
मनोपरामर्शका लागि सबैभन्दा पहिलो कदम के हुनुपर्छ ?
विपत्तिमा परेका व्यक्तिले सबैभन्दा पहिले आफ्नो मनमा आएका भावना, सोच र विचार सामान्य प्रतिक्रिया हुन् भन्ने बुझ्नुपर्छ । मनोपरामर्शदाता वा मनोचिकित्सक नै खोज्नुपर्छ भन्ने छैन । सबैभन्दा पहिले मन मिल्ने व्यक्तिसँग कुरा सेयर गर्न सकिन्छ । छिमेकीलाई ‘मेरो कुरा केहीबेर सुनिदिनुस्’ भन्नु पनि सहयोग लिनु हो । रुनु पनि आफ्नो भावना व्यक्त गर्ने एउटा माध्यम हो ।
सुन्ने व्यक्तिको पनि ठूलो जिम्मेवारी हुन्छ । उसले पूर्वाग्रह नराखी धैर्यपूर्वक सुन्नुपर्छ । ‘तपाईं मात्रै परेको होइन, अरूलाई पनि परेको छ’ भनेर पीडालाई तुलना गर्नु हुँदैन। यस्तो भनाइले उल्टै पीडा बढाउन सक्छ ।
अहिलेको मनोसामाजिक सहयोगको मुख्य सिद्धान्त ‘लुक, लिसन र लिंक’ हो ।
अर्थात्, समस्यामा परेको व्यक्तिलाई हेरौँ, उसको कुरा धैर्यतापूर्वक सुनौँ, पूर्वाग्रह नराखौँ, अनावश्यक सुझाव नदिऔँ, नभएका कुराको झुटो आश्वासन नदिऔँ र उपलब्ध सेवासँग जोडिदिऔँ । अहिलेको अवस्थामा यही नै महत्वपूर्ण मनोसामाजिक सहयोग हो ।

पीडितले आफैँ आफ्नो मानसिक स्वास्थ्य जोगाउन के गर्न सक्छन् ?
विपत्तिमा परेका व्यक्तिले आफ्नो हेरचाहमा ध्यान दिनुपर्छ । यसलाई स्व:हेरचाह भनिन्छ । सकेसम्म दिनचर्यामा बस्ने प्रयास गर्नुपर्छ । एउटै समयमा सुत्ने र उठ्ने बानी कायम राख्नुपर्छ ।
सम्भव भएसम्म शरीरलाई सक्रिय राख्नुपर्छ । हिँड्ने, हातखुट्टाको सामान्य व्यायाम गर्ने जस्ता गतिविधि गर्नुपर्छ । खाली बसेर दुःखमा मात्र अल्झिरहँदा मानसिक असहजता झन् बढ्न सक्छ ।
सम्भव भएसम्म पोषिलो र आवश्यकताअनुसारको खाना खानुपर्छ । ध्यान, योग, मेडिटेसन वा धार्मिक गतिविधिबाट मनलाई सहज बनाउन सकिन्छ ।
सामाजिक सञ्जालमा विपत्ति र दुर्घटनासम्बन्धी सामग्री मात्र हेर्नु हुँदैन । आशा जगाउने र सकारात्मक सामग्री हेर्न आवश्यक छ ।
शिविरमा भजन, प्रवचन वा अन्य सामूहिक गतिविधि भइरहेका छन् भने सहभागी हुने प्रयास गर्नुपर्छ । समूहमा सहभागी हुँदा विस्तारै सहजता महसुस हुन्छ ।
तर, लामो समयसम्म निद्रा नलाग्ने, मन दिक्क भइरहने, शरीरमा जोश–जाँगर नहुने जस्ता समस्या भइरहेका छन् भने विश्वासिलो व्यक्तिलाई आफ्नो अवस्थाबारे भन्नुपर्छ । आवश्यक परे विशेषज्ञ वा परामर्शदातासँग भेट्ने व्यवस्था मिलाउनुपर्छ ।
प्रतिक्रिया 4