२६ भदौ, काठमाडौं । ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्याम अल्टम्यानले आफ्नो कम्पनीको एआई प्रणालीको विकास गति सुस्त्याउने विषयमा खुला रहेको बताएका छन् ।
कर्मचारीसँगको बैठकमा बोल्दै अल्टम्यानले यस्तो धारणा सुनाएका हुन् । ब्लुमबर्गले प्रकाशित गरेको समाचार अनुसार, अल्टम्यानले यो हप्ता आयोजित कम्पनीको बैठकमा कर्मचारीहरूलाई सम्बोधन गर्दै भनेका छन्, ‘ओपनएआईले अन्य एआई कम्पनीहरूसँगै समन्वय गर्दै आफ्नो विकासको गति मिलाउन सक्छ । तर सबै कम्पनीहरू यसमा सहमत नहुन सक्छन् ।’
एआई प्रणालीहरूको सुरक्षासम्बन्धी बढ्दो चिन्ताका बीच यो कुरा आएको हो । यो हप्ता विभिन्न एआई अनुसन्धानकर्ताहरूले सुरक्षासम्बन्धी चेतावनी दिएका थिए । साथै ओपनएआई लगायत विभिन्न कम्पनीका एआई मोडेलहरू मानिसको नियन्त्रणबाट बाहिर गएका थुप्रै घटनाहरूले चिन्ता र कडा नियमनको माग बढाएको देखिन्छ ।
एन्थ्रोपिक र ओपनएआई दुवैमा काम गरिसकेका पूर्व अनुसन्धानकर्ता जेकब कोक्सनले पनि यसअघि नै दुबै कम्पनीले जिम्मेवारीपूर्वक काम नगरी एआई विकासमा प्रतिस्पर्धा गरिरहेको आरोप लगाइसकेका थिए ।
गत अगस्टमा ओपनएआईले पनि आफ्ना एआई एजेन्टहरू नियन्त्रणबाट बाहिर गएर ‘हगिंग फेस’ नामक ओपन-सोर्स प्लेटफर्ममा ह्याक गरेको घटनापछि सुरक्षा प्रणाली मजबुत बनाउन दुई हप्तासम्म आफ्नो धेरैजसो मोडेल विकास कार्य रोकेको थियो ।
त्यसैगरी ओपनएआईले केही दिनअघि नै अमेरिकामा अनिवार्य राष्ट्रिय एआई सुरक्षा नियमहरू लागू गर्नुपर्ने माग गरेको थियो । उन्नत एआई प्रणालीले आफ्नै विकासको गतिलाई आफैँ तीव्र बनाउनसक्ने चिन्ता रहेको कम्पनीले जनाएको थियो ।
यहीबीचमा अल्टम्यानले कम्पनीका कर्मचारीसँग पनि एआई विकासको गति सुस्त बनाउनसक्ने धारणा राखेका हुन् ।
प्रतिक्रिया 4