News Summary
Generated by OK AI. Editorially reviewed.- सगरमाथाको पहिलो सफल आरोहणमा आधारित फिल्म ‘तेन्जिङ’ २२औं जुरिच फिल्म फेस्टिभलको उद्घाटन फिल्मका रूपमा सेप्टेम्बर २४ मा प्रदर्शन हुने भएको छ ।
- फिल्मको युरोपेली प्रिमियरमा टम हिडलस्टन, विलेम डाफो र निर्देशक जेनिफर पिडम जुरिचको ‘ग्रिन कार्पेट’मा उपस्थित हुनेछन् ।
- भोटेकोशी बाढी प्रभावितका लागि राहत रकम संकलन गर्न काठमाडौंस्थित बेलायती दूतावासले ‘तेन्जिङ’को विशेष प्रदर्शन आयोजना गर्ने भएको छ ।
काठमाडौं । सगरमाथाको पहिलो सफल आरोहणको कथा समेटिएको जेनिफर पिडम निर्देशित फिल्म ‘तेन्जिङ’ २२औं जुरिच फिल्म फेस्टिभलको उद्घाटन फिल्मका रूपमा प्रदर्शन हुने भएको छ ।
नेपालका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको फिल्ममा टम हिडलस्टन, विलेम डाफो र गेन्डेन फुन्त्सोकको अभिनय छ । ‘भेराइटी’का अनुसार फिल्म सेप्टेम्बर २४ मा प्रदर्शन हुनेछ ।
एप्पल ओरिजिनल फिल्म्सको निर्माण रहेको फिल्मको युरोपेली प्रिमियरमा हिडलस्टन, डाफो र निर्देशक पिडम जुरिचको ‘ग्रिन कार्पेट’मा उपस्थित हुनेछन् । फिल्मले सगरमाथाको पहिलो सफल आरोहणको कथा पछ्याउँछ ।
फेस्टिभलका प्रमुख कार्यकारी अधिकृत क्रिश्चियन युन्गेनले यस वर्षको नारा ‘ड्रिम बिग’ रहेको उल्लेख गर्दै ‘तेन्जिङ’ त्यसका लागि उपयुक्त उद्घाटन फिल्म भएको बताएका छन् ।
‘यस वर्ष जुरिच फिल्म फेस्टिभलको नारा ‘ड्रिम बिग’ हो । हाम्रो रोमाञ्चक उद्घाटन फिल्म ‘तेन्जिङ’ यससँग पूर्ण रूपमा मेल खान्छ, किनभने ठूलो सपना हुँदा मानिस कसरी आफ्नै सीमाभन्दा माथि उठ्न सक्छ भन्ने यसले देखाउँछ,’ उनले भने ।
वास्तविक घटनामा आधारित ‘तेन्जिङ’ले तेन्जिङ नोर्गे (गेन्डेन फुन्त्सोक)को कथा भन्छ । नोर्गेले न्युजिल्यान्डका पर्वतारोही एडमन्ड हिलारीसँग मिलेर सन् १९५३ मा सगरमाथाको पहिलो सफल आरोहण गरेका थिए ।
२२औं जुरिच फिल्म फेस्टिभल सेप्टेम्बर २४ देखि अक्टोबर ४ सम्म आयोजना हुँदैछ ।
यसैबीच, भोटेकोशी बाढी प्रभावितका लागि राहत रकम संकलन गर्न काठमाडौंस्थित बेलायती दूतावासले ‘तेन्जिङ’को विशेष प्रदर्शन काठमाडौंमा आयोजना गर्ने भएको छ । दूतावासका अनुसार प्रदर्शनबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।
प्रतिक्रिया 4