News Summary
Generated by OK AI. Editorially reviewed.- बागमतीका मुख्यमन्त्री किरण थापा मगर र उद्योग वाणिज्य महासंघ अध्यक्ष अञ्जन श्रेष्ठबीच विपद्पछि उद्योग–व्यवसाय पुनर्स्थापना, लगानी वातावरण र रोजगारीबारे टेकुमा छलफल भएको छ ।
- श्रेष्ठले ‘विपद् रोजगार बैंक’ स्थापना, सिपमूलक तालिम र प्रभावित क्षेत्रमा नयाँ बजार विकासमा महासंघ सहकार्य गर्न तयार रहेको बताए ।
- मुख्यमन्त्री थापाले विपद्बाट प्रभावित क्षेत्रको पुनर्निर्माण, बालबालिकाको शिक्षा र पूर्वाधार विकासमा निजी क्षेत्रसँग पीपीपी मोडेलमा काम गर्ने प्रस्ताव राखे ।
२८ भदौ, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष अञ्जन श्रेष्ठबीच आज आइतबार महासंघ सचिवालय टेकुमा भेटवार्ता भएको छ ।
भेटवार्तामा रसुवा लगायत विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको क्षति, प्रभावित उद्योग-व्यवसाय पुनर्स्थापना, लगानी वातावरण, रोजगारी सिर्जना तथा प्रदेशको आर्थिक गतिविधि चलायमान बनाउने विषयमा छलफल भएको थियो ।
छलफलमा दुवै पक्षले प्रदेशको आर्थिक विकास, निजी क्षेत्रको लगानी विस्तार तथा उद्यमशीलता प्रवर्द्धनका लागि आपसी समन्वय थप सुदृढ गर्दै सहकार्यका ठोस क्षेत्र पहिचान गरी आगामी दिनमा परिणाममुखी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सोही अवसरमा महासंघ अध्यक्ष श्रेष्ठले विपद्पछि तत्कालै महासंघ राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा सक्रिय रहेको उल्लेख गर्दै प्रभावित उद्योग–व्यवसायलाई पुन: सञ्चालन गर्ने वातावरण निर्माणमा प्रदेश सरकारसँग सहकार्य गर्न महासंघ तयार रहेको बताए ।
उनले प्रदेश सरकारसँगको सहकार्य थप प्रभावकारी बनाउँदै बागमती प्रदेशमा लगानी र उद्यमशीलता विस्तार गर्न महासंघ सकारात्मक रहेको बताए । महासंघले स्थानीय स्तरमा नयाँ बजार स्थापना, अस्पताल स्थापना तथा विद्यालय पुनर्निर्माणमा काम गर्न खोजिरहेको छ ।
‘विपद् रोजगार बैंक स्थापना गर्दै आवश्यकताका आधारमा तालिम प्रदान गर्दै व्यवसायमा लाग्न चाहनेलाई सहयोग गर्न महासंघ तयार छ,’ उनले भने ।
मुख्यमन्त्री थापाले विपद्बाट प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माणमा निजी क्षेत्रको सहयोग सह्रानीय रहेको चर्चा गर्दै विपद्मा परेका बालबालिकाको शिक्षा, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र पुनर्जीवनका लागि महासंघसँग सहकार्य आवश्यक रहेको बताए ।
उनले बागमती प्रदेशका सडक तथा अन्य पूर्वाधार विकासमा सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडेलमा काम गर्न सकिने प्रस्ताव समेत राखे ।
‘बागमती प्रदेशको आर्थिक विकासमा हामी निजी क्षेत्रलाई महत्त्वपूर्ण साझेदारका रूपमा लिएर अघि बढ्न चाहन्छौं, पूर्वाधार विकासमा पीपीपी मोडेलमा जानुपर्छ,’ मुख्यमन्त्री थापाले भने, ‘निजी क्षेत्रका नीतिगत र व्यावहारिक समस्या समाधान तथा सहजीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध छ ।’
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले विपद्बाट घरबारविहीन तर काम गर्न इच्छुकलाई रोजगारीसँग जोड्न ‘विपद् श्रम बैंक’ स्थापना गरी महासंघसँगको सहकार्यमा कार्यक्रम अघि बढाउन सकिने बताए । उनले पालिका र जिल्लामा हुने उत्पादनलाई बजारसँग जोडन् महासंघको सहयोग आवश्यक रहने बताए ।
महासंघ अध्यक्ष श्रेष्ठले विपद्बाट प्रभावित तथा रोजगारीको आवश्यकता भएका व्यक्तिलाई लक्षित गरी ‘विपद् रोजगार बैंक’ स्थापना, आवश्यकता अनुसार सिपमूलक तालिम सञ्चालन तथा प्रभावित स्थानीय क्षेत्रमा नयाँ बजार विकास गर्न महासंघले सहकार्य गर्न सक्ने बताए ।
भेटवार्तामा महासंघ वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले बागमती प्रदेशभित्रका उद्योग वाणिज्य संघ तथा निजी क्षेत्रका प्रतिनिधि मार्फत स्थानीय तहमा देखिएका समस्या र सम्भावना पहिचान गरी प्रदेश सरकारसँग समन्वय गर्न महासंघ तयार रहेको बताए ।
महासंघ कोषाध्यक्ष मनिषलाल प्रधान, बागमती प्रदेश अध्यक्ष वेदबहादुर श्रेष्ठ तथा महासंघ केन्द्रीय सदस्य एवं सामाजिक सेवा तथा विपद् तथा दैवीप्रकोप समितिका सभापति राजकुमार कार्की लगायतले नेपाल–चीन रसुवा नाका पूर्णरूपमा बन्द रहेको, तातोपानी नाकाको अवस्था राम्रो नभएको र अहिले कोरला नाकामात्र सञ्चालनमा रहेको अवस्थामा चीनसँगको व्यापारका लागि समस्या सिर्जना हुने भन्दै विकल्पबारे सोच्नुपर्ने धारणा राखे ।
प्रतिक्रिया 4