News Summary
Generated by OK AI. Editorially reviewed.- ओलम्पियन तेक्वान्दो खेलाडी संगिना वैद्य राष्ट्रिय खेलकुद परिषदको तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा नियुक्त भएकी छन् ।
- राखेपको ६ दशकको इतिहासमा निर्देशक बन्ने संगिना पहिलो महिला बनेकी हुन् ।
- संगिना छनोट चरण पार गरेर ओलम्पिक पुग्ने र एसियाली खेलमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी हुन् ।
२ असोज, काठमाडौं । ओलम्पियन तेक्वान्दो खेलाडी संगिना वैद्य राष्ट्रिय खेलकुद परिषद (राखेप) को तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा नियुक्त भएकी छन् ।
योसँगै संगिना राष्ट्रिय खेलकुद परिषदको ६ दशकको इतिहासको पहिलो महिला निर्देशक बनेकी हुन् । राखेपले बिहीबार उनलाई नियुक्ति पत्र दिएको हो ।
संगिना छनोट चरण पार गरेर ओलम्पिक पुग्ने पहिलो नेपाली खेलाडी हुन् । सन् २००४ को ग्रिसमा सम्पन्न ओलम्पिकमा छनोट चरण पार गरेकी थिइन् ।
त्यसैगरी एसियाली स्तरको खेलमा नेपालबाट स्वर्ण पदक जित्ने पनि उनी पहिलो नेपाली खेलाडी हुन्। उनले सन् १९९६ मा एसियाली तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्।
सन् १९९९ काठमाडौं र सन् २००४ पाकिस्तानमा गरी दक्षिण एसियाली खेलकुद (साग) मा दुईवटा स्वर्ण पदक जितेकी संगिना राखेपमा वरिष्ठ तेक्वान्दो प्रशिक्षकका रुपमा छन्।
यसअघि संगिनालाई टंकलाल घिसिङ सदस्य सचिव भएको बेला विसं २०८१ सालमा नै तालिम तथा प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिने तयारी भएको थियो। तर तत्कालिन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले अन्तिम समयमा करातेका प्रशिक्षक शोभित प्रसाँईलाई निर्देशक बनाएपछि सो विषय विवादित बन्न पुगेको थियो।
जसका कारण संगिनाले तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशक पदबाट संगीना वैद्यले राजीनामा दिएकी थिइन् । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ सरकारमा खेलकुद मन्त्री सस्मित पोखरेल आएपछि अन्तत: संगिना निर्देशकमा चयन भइन् ।
प्रतिक्रिया 4