+
+
Shares

सर्लाही कांग्रेसका कार्यवाहक सभापति र एक क्षेत्रीय सभापतिले दिए राजीनामा

नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमितिका कार्यवाहक सभापति सरोजकुमारले साधारण सदस्यसमेत नरहनेगरी पदबाट राजीनामा दिएका छन् ।

अमलेश शर्मा अमलेश शर्मा
२०८३ असोज २ गते २१:३०

२ असोज, सर्लाही । नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमितिका कार्यवाहक सभापति सरोजकुमारले साधारण सदस्यसमेत नरहनेगरी पदबाट राजीनामा दिएका छन् ।

उनले पार्टीका केन्द्रीय सभापतिलाई सम्बोधन गर्दै पठाएको राजीनामापत्रमा कार्यवाहक सभापतिको पदसँगै पार्टीको साधारण सदस्यता पनि त्यागेको उल्लेख गरेका छन् ।

राजीनामाको कारण खुलाउँदै उनले सर्लाही निर्वाचन क्षेत्र नम्बर–२ मा क्रियाशील सदस्यता वितरण तथा नवीकरण प्रक्रियामा अनियमितता भएको आरोप लगाएका छन् । उक्त प्रक्रियामा लोकतान्त्रिक मूल्य, मान्यता र विधिको पालना नभएको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

राजीनामापत्रमा उनले पार्टी संस्थापक नेता बीपी कोइराला, सुवर्ण शमशेर राणा, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले अघि सारेका आदर्शबाट पार्टी विचलित भएको दाबी गरेका छन् ।

स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस उम्मेदवारलाई हराउन भूमिका खेलेका व्यक्तिलाई कारबाही गर्नुको सट्टा क्रियाशील सदस्यता प्रदान तथा नवीकरण गरिएको आरोप पनि उनले लगाएका छन् ।

यस्ता गतिविधिले पार्टी कार्यकर्ता र सदस्यहरूको भावनामाथि गम्भीर चोट पुगेको उल्लेख गर्दै उनले पार्टीका सबै जिम्मेवारी र सदस्यताबाट अलग हुने निर्णय गरेको बताएका छन् ।

राजीनामापत्रमा उनले आफ्नो राजीनामा तत्काल स्वीकृत गर्न आग्रह गरेका छन् ।

यस्तै, उनीसँगै सर्लाही निर्वाचन क्षेत्र नम्बर २ (ख)का क्षेत्रीय सभापति भिखारी ठाकुरले पनि पदसहित साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।

उनले पनि राजीनामापत्र केन्द्रीय सभापतिलाई सम्बोधन गरेर पठाएका छन् ।

राजीनामा पत्रमा उनले लेखेका छन्, ‘क्रियाशील सदस्यतामा सर्लाही क्षेत्र नं. २ ख मा पूर्वाग्रही तरिकाले क्रियाशील सदस्यता नामावलीमा धाँधली गरी पठाइएकाले नामावली हेर्दा आश्चर्यचकित भएका छौं । अत: आजका दिनदेखि लागु हुनेगरी साधारण सदस्य समेत नरहनेगरी राजीनामा स्वीकृत गरिदिनहुन अनुरोध छ ।’

लेखक
अमलेश शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?