+
+
Shares
कविता :

कुशको लास 

शिव पलाँस शिव पलाँस
२०८३ असोज ३ गते १७:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कवितामा चितामाथि सुताइएको कुशको लासले मलामी र आफन्तलाई आगो झोस्न हतार नगर्न, केही दिन संयम रहन र खोजी गर्न आग्रह गरेको छ।
  • कविताले मृत्युघोषणा, श्रद्धाञ्जली, दागबत्ती र किरिया सक्ने हतारभन्दा जीवन बचाउन तथा खोजी र उद्धार गर्न हतार गर्नुपर्ने बताएको छ।
  • कविताको अन्त्यमा छोराको मोबाइलमा आएको फोनले आमालाई सुरुङबाट सकुशल उद्धार गरिएको जानकारी दिएको छ।

चितामाथि सुताएर

आगो झोस्नै आँटेको बेलामा

जुरुक्क उठ्यो कुशको लास

र सम्बोधन गर्‍यो–

ए मलामीहरू हो

ए मेरा छोराछोरी, दाजुभाइ, इष्टमित्र र सँगिनी हो

आगो झोस्न

धुवाँ उडाउन

अनि

खरानी बगाउन

कत्ति हतार छ है तिमीहरूलाई ?

के बिग्रिन्थ्यो तिमीहरूको

के सकिन्थ्यो तिमीहरूको

अरू केही दिन बाटो हेर्दा

अरू केही दिन संयम रहँदा

अरू केही दिन धैर्य गर्दा

अरू केही दिन सुरुङ खोतल्दा

वा

अरू केही दिन भग्नावशेष पन्छाउँदा

कत्ति हतार छ है तिमीहरूलाई ?

मृत्युको घोषणा गर्न

फेसबुकमा श्रद्धा मरेको श्रद्धाञ्जली दिन

मुखमा दागबत्ती दिन

किरिया नामको कर्म सक्न

कत्ति हतार छ है तिमीहरूलाई ?

सरकारलाई

मृतकको सूचीमा एक अर्को नाम चढाउने हतार होला

दुश्मनहरूलाई

युद्ध जितेको खुशियालीमा दीपावली मनाउने हतार होला

मित्रहरूलाई

शोक पुस्तिकामा हस्ताक्षर गर्ने हतार होला

सन्तानहरूलाई

अंशबन्डामा लडाइँ गर्ने हतार होला

त्यहाँभन्दा पर त

कसलाई के को हतार होला र खोइ ?

वास्तवमा

हतारै गर्नुपर्ने हतार त जीवन बचाउनलाई गर्नुपर्ने हो

हतारै गर्नुपर्ने हतार त खोजी र उद्धार गर्नलाई गर्नुपर्ने हो

यसैगरी

कुशको लास बोल्दाबोल्दै

मलामीहरूले आश्चर्यचकित भएर चुपचाप सुन्दासुन्दै

छोराको मोबाइलमा चर्को घण्टी बज्यो

उताबाट कोही बोल्यो

तपाईंकी आमालाई

हामीले सुरुङबाट भर्खरै सकुशल उद्धार गर्‍यौं।

हाल : नर्थ क्यारोलाइना, अमेरिका 

लेखक
शिव पलाँस

शिव पलाँस कवि तथा गीतकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?