+
+
Shares

भारतका लगानीकर्तालाई अर्थमन्त्रीले भने- नेपालमा पर्याप्त अवसर छ, लगानी गर्नुस्

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका पर्याप्त अवसर रहेको बताएका छन् ।

रासस रासस
२०८३ असोज ३ गते १९:०६

३ असोज, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका पर्याप्त अवसर रहेको बताएका छन् । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले नेपालमा रहेको लगानीको अवसरलाई सदुपयोग गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

नयाँदिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)द्वारा शनिबार आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा अर्थमन्त्री वाग्लेले उदीयमान लगानीका अवसरमाथि प्रकाश पार्दै आर्थिक रूपान्तरणमा सहभागी हुन आह्वान गरे ।

उनले नेपालले उच्च वृद्धिको सम्भावना भएका क्षेत्रमा लगानीका लागि ठूलो अवसर प्रदान गर्ने उल्लेख गर्दै पहिले नै नेपालमा सञ्चालित भारतीय कम्पनीलाई आफ्नो लगानी विस्तार गर्न र नयाँ लगानीकर्तालाई नेपाली बजारको खोजी गर्न आग्रह गरे ।

नेपाल सरकार सुशासन, आर्थिक समृद्धि, लगानी सहजीकरण र संरचनात्मक आर्थिक रूपान्तरणको एजेन्डामा अघि बढिरहेकामा पनि उनले जोड दिए ।

‘सूचना प्रविधि, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, पर्यटन र उत्पादन साझेदारीको अवधारणामा आधारित उत्पादन क्षेत्र नेपालको अर्थतन्त्रका महत्त्वपूर्ण वाहकका रूपमा उदय भइरहेका छन्,’ अर्थमन्त्री वाग्लेले भने, ‘भारतीय व्यवसायीलाई नेपाललाई बजारका रूपमा मात्र नभई लगानी, उत्पादन, मूल्य अभिवृद्धि र क्षेत्रीय तथा विश्वव्यापी आपूर्ति शृङ्खलामा एकीकरणका लागि रणनीतिक साझेदारका रूपमा हेर्न चाहन्छौँ ।’

उनले वार्षिक बजेट, कर सुधार र लगानीकर्तामैत्री नीतिगत पहलमार्फत नेपाल सरकारले हालै चालेका कदम व्यावसायिक वातावरण सुधार गर्न, लगानीका बाधाहरू हटाउन र निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धिलाई सहज बनाउन लक्षित रहेको स्पष्ट पारे ।  उनले नेपाल र भारतबीचको दीर्घकालीन आर्थिक सम्बन्धले द्विपक्षीय व्यापार र लगानी विस्तारका लागि बलियो आधार प्रदान गरेको उल्लेख गरे ।

कार्यक्रममा भारतीय व्यावसायिक नेताहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?