३ असोज, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार ४३ जिल्लाका तीन हजार ३९६ वडामा वडा अधिवेशन सम्पन्न भएको जानकारी दिएको छ ।
शनिबार साँझ निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार १५ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन उत्साहप्रद रूपमा प्रारम्भ भएको छ ।
विज्ञप्तिअनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्वु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाण्डौ, गोरखा, कास्की, मनाङ्ग, पर्वत, स्याङ्जा, वागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्व), रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलाली जिल्ला गरी ४३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ ।
‘यसरी आज सुरु भएको वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनुभएको छ,’ निर्वाचन समितिको विज्ञप्तिमा भनिएको छ ।
यस्तै, भोटेकोशी र त्रिशूलीको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाबाहेक अन्य ३१ जिल्लाको वडा अधिवेशन आइतबार निरन्तर जारी रहने विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया 4