गन्स एन रोजेसका विश्वप्रसिद्ध गिटारिस्ट स्ल्यास (सोल हडसन) को नामबाट सर्पको नयाँ प्रजातिको नाम राखिएको छ। न्युगिनीमा फेला परेको नयाँ सर्पको प्रजातिको नाम ‘लिएलाफिस स्ल्यासी’ अर्थात् स्ल्यासको ग्राउन्डस्नेक राखिएको छ।
यो सम्मान पाएपछि स्ल्यासले भने, ‘लामो समयदेखिको रेप्टाइलप्रेमीको रूपमा न्युगिनीको लिएलाफिस स्ल्यासी मेरो नामबाट राखिएकोमा म अत्यन्तै सम्मानित महसुस गरिरहेको छु।’
सिकागोस्थित फिल्ड म्युजियमकी एसोसिएट क्युरेटर सारा रुआनको टोलीले यो प्रजातिको अनुसन्धान र नामकरण गरेको हो। रुआन बाल्यकालदेखि नै गन्स एन रोजेसको प्रशंसक थिइन्। उनले १२ वर्षको उमेरमा एक म्यागजिनमा स्ल्यासले सर्प समातेको तस्बिर र उनको अन्तर्वार्ता पढेकी थिइन्।
त्यस अन्तर्वार्तामा स्ल्यासले म्युजियम, जु र प्राकृतिक इतिहासप्रतिको आफ्नो लगावबारे बताएका थिए। पछि वैज्ञानिक बनेपछि रुआनले न्युगिनीको जङ्गलमा फेला परेको २८ इन्च लामो रातो-खैरो सर्पलाई स्ल्यासको नाम दिने निर्णय गरिन्।
यो सर्प सन् २००६ मा लुइजियाना स्टेट युनिभर्सिटीका प्रोफेसर क्रिस अस्टिनले न्युगिनीको जङ्गलमा फेला पारेका थिए। अस्टिनले भने, ‘यी न्युगिनी ग्राउन्डस्नेकहरू राती हिँड्ने भएकाले यिनीहरूलाई खोज्ने सबैभन्दा राम्रो समय राती नै हो। यिनीहरू सामान्यतया सूर्यास्तपछि ठूला रूखहरूको फेदमा शिकार खोजिरहेका भेटिन्छन्।’
सुरुमा यो सर्प सामान्य देखिए पनि ल्याबको जेनेटिक टेस्टबाट यो पूर्ण रूपमा नयाँ प्रजाति भएको पुष्टि भयो। फिल्ड म्युजियमका पोस्ट-डक्टोरल शोधकर्ता तियान्की हवाङले भने, ‘विभिन्न कटिङ-एज जेनेटिक एनालिसिसको प्रयोग गरेर हामीले एल. स्ल्यासी उस्तै देखिने अन्य सर्पहरूभन्दा जेनेटिक रूपमा फरक रहेको पायौँ।’
यो सर्प मानिसका लागि खतरनाक छैन। यसमा मानिसलाई असर गर्ने विष हुँदैन। यसको आहार मुख्यतया साना गोहोरो र अन्य घिस्रिने जीवको अण्डा हो।
फिल्ड म्युजियमकी रुआनका अनुसार कफी खेती र खानी उद्योगका कारण न्युगिनीका जङ्गलहरू सङ्कटमा परेका छन्। उनले भनिन्, ‘हामीले नचिनेका जनावर वा अन्य जीवित जीवहरूको संरक्षण गर्न सक्दैनौँ।’
वैज्ञानिकहरूका अनुसार नयाँ प्रजातिको पहिचानले जैविक विविधताको संरक्षणमा मद्दत पुग्छ।
प्रतिक्रिया 4