+
+
Shares
अनुभूति :

किन विदेशिंदै छन् नेपाली चिकित्सक ?

हामीले चिकित्सकलाई विदेश नजान ओठे आग्रह गर्नुभन्दा नेपालमै बस्न चाहने कारणहरू सिर्जना गर्नुपर्छ। उनीहरूलाई दोष दिनुभन्दा नेपालभित्रै सम्मान, सुरक्षा, उचित पारिश्रमिक, व्यावसायिक विकास र भविष्यप्रतिको भरोसा सिर्जना गर्नुपर्छ। विदेश गइसकेकाहरूका लागि पनि फर्कने, योगदान गर्ने र आफ्नो ज्ञान तथा अनुभव मातृभूमिसँग जोड्ने ढोका खुला राख्नुपर्छ।

डा. विनयकुमार श्रेष्ठ डा. विनयकुमार श्रेष्ठ
२०८३ असोज ६ गते १०:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पछिल्ला चार वर्षमा ८ हजार ६२४ नयाँ चिकित्सक दर्ता हुँदा ६ हजार ३६८ ले विदेश जान चारित्रिक प्रमाणपत्र लिएका छन्।
  • युरोप, अमेरिका र अस्ट्रेलियामा जाने अधिकांश नेपाली चिकित्सकले रेसिडेन्टबाट करिअर शुरू गर्नुपर्ने र भाषा, संस्कृति तथा मान्यताका चुनौती सामना गर्नुपर्ने लेखमा उल्लेख छ।
  • लेखले चिकित्सकलाई रोक्नेभन्दा नेपालमै बस्न चाहने वातावरण बनाउन सम्मान, सुरक्षा, तलब, वृत्तिविकास र विदेशबाट फर्कने ढोका खुला राख्नुपर्ने बताएको छ।

विदेशमा राम्रो अवसर र सहज जीवनको खोजीमा नेपाली चिकित्सकहरू पलायन भइरहेको चर्चा व्यापक छ। तर नजरअन्दाज गरिने तथ्य के हो भने- विदेशमा चिकित्सकका रूपमा स्थापित हुने यात्रा त्यति सहज छैन। अध्ययनले डाक्टर भए पनि वैदेशिक परिस्थितिले पुनः सङ्घर्ष गर्नुपर्ने हुन्छ। किनभने एउटा चिकित्सक डिग्रीसँगै विदेश त आइपुग्छ, तर उसको डिग्रीको मान्यता दुरुस्तै आउँदैन।

नेपालमा चिकित्सा अभ्यासको इतिहास निकै पुरानो छ। परम्परागत चिकित्सा प्रणाली आयुर्वेददेखि धामी–झाँक्री, पण्डित–लामा, गुभाजु–पुजारी र ज्योतिषीसम्मका परम्परागत उपचार पद्धति नेपाली समाजमा शताब्दीयौंदेखि अभ्यास हुँदै आएका छन्। आधुनिक चिकित्साको इतिहास हेर्दा सन् १७६६/६७ मा राजा पृथ्वीनारायण शाहको कीर्तिपुर घेराबन्दीका क्रममा उनका भाइ शूरप्रतापको घाउ माइकल एन्जेलो नामक क्यापुचिन भिक्षुले उपचार गरेको प्रसङ्ग पाइन्छ।

डा. रत्नदास वैद्यलाई पहिलो नेपाली चिकित्सकका रूपमा लिइन्छ। उनले सन् १९०२ मा कलकत्ताबाट तत्कालीन लाइसेन्स मेडिकल प्राक्टिसनर (एलएमपी) सरहको अध्ययन पूरा गरी काठमाडौं फर्केर सिंहदरबारमा काम गरेको बताइन्छ। प्रारम्भिक समयमा अधिकांश नेपाली चिकित्सकले विदेशमै चिकित्सा शिक्षा हासिल गर्थे।

चिकित्सकको सङ्ख्या बढ्दै गयो र सन् १९५१ मा नेपाल मेडिकल एसोसिएसन (एनएमए) स्थापना भयो। सन् १९६४ मा नेपाल मेडिकल काउन्सिल (एनएमसी) स्थापना भयो। सन् १९७२ मा चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) स्थापना भएपछि नेपालमै चिकित्सक उत्पादनको संस्थागत आधार तयार भयो।

सन् १९९० को राजनीतिक परिवर्तनपछि चिकित्साशास्त्रको अध्यापनमा निजी क्षेत्रलाई समेत खुला गरियो। निजी क्षेत्रको लगानीमा मेडिकल कलेजहरूको विस्तारसँगै चिकित्सा शिक्षा उल्लेख्य रूपमा विस्तार भयो। आज देशभर करिब दुई दर्जन चिकित्सा संस्था तथा कलेजहरूले स्नातक तथा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन्।

चिकित्सक बढ्दैछन्, विदेश जाने क्रम पनि बढ्दैछ

पछिल्लो दुई दशकमा नेपालमा चिकित्सकहरूको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। तर यो वृद्धि सँगसँगै विदेश जाने चिकित्सकहरूको सङ्ख्या पनि बढिरहेको छ, चिन्ताजनक रूपमा।

उपलब्ध विवरण अनुसार पछिल्ला चार वर्षको अवधिमा ८ हजार ६२४ नयाँ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता हुँदा ६ हजार ३६८ चिकित्सकले विदेश जानका लागि काउन्सिलबाट चारित्रिक प्रमाणपत्र लिएका छन्। वर्षगत रूपमा हेर्दा सन् २०२० मा ८६९, २०२१ मा १,३२७, २०२२ मा १,९५४, २०२३ मा २,३१८ र २०२४ मा २,२१० चिकित्सकले विदेश जान आवश्यक चारित्रिक प्रमाणपत्र लिएको विवरण छ। सरसर्ती हेर्दा यो तथ्याङ्क भयावह छ।

तर एउटा महत्त्वपूर्ण प्रश्न अनुत्तरित छ- यीमध्ये वास्तवमै कति चिकित्सक विदेश गए ? यसको यकिन तथ्याङ्क नेपाल सरकार वा सम्बन्धित स्वास्थ्य संस्थाहरूसँग उपलब्ध छैन। काउन्सिलबाट चारित्रिक प्रमाणपत्र लिने सबै चिकित्सक विदेश गएका हुन्छन् भन्ने निष्कर्ष निकाल्न मिल्दैन। तर यो प्रवृत्तिले नेपाली चिकित्सक समुदायमा विदेश जाने चाहना कति तीव्र रूपमा बढिरहेको छ ? भन्ने सङ्केत अवश्य गर्छ।

विश्व स्वास्थ्य सङ्गठनले प्रति एक हजार जनसङ्ख्यामा एक चिकित्सकको अनुपात सिफारिस गर्छ। उपलब्ध तथ्याङ्क अनुसार सन् २०२१ मा नेपालमा प्रति १० हजार जनसङ्ख्यामा ८.७ चिकित्सक थिए। यस्तो अवस्थामा दक्ष चिकित्सकहरूको निरन्तर विदेश पलायनले स्वास्थ्य प्रणालीमा थप दबाब सिर्जना गर्छ नै !

स्वास्थ्यकर्मीको बसाइँसराइ नेपालमा मात्र देखिएको समस्या होइन; यो विश्वव्यापी परिघटना हो। तथापि सीमित स्रोत–साधन भएको नेपाल जस्तो देशका लागि दक्ष स्वास्थ्य जनशक्ति उच्च आय भएका मुलुकतर्फ पलायन हुनु गम्भीर विषय हो। बसाइँसराइका पछाडि आकर्षित गर्ने पुल फ्याक्टर र देशबाट बाहिरिन बाध्य पार्ने पुस फ्याक्टर दुवै हुन्छन्। यस सन्दर्भमा, नेपालले विशेषगरी आफ्ना चिकित्सक र स्वास्थ्यकर्मीलाई देश छाड्न बाध्य पार्ने पुस फ्याक्टर कम गर्न ध्यान दिनुपर्छ।

विदेशमा चिकित्सकको जीवन साँच्चिकै सुखद छ ?

हामी सबैले हृदयङ्गम गर्नुपर्ने कुरा- विदेशमा अवसर छन्, तर सङ्घर्ष पनि छन्। नेपालमा चुनौती छन्, तर सम्भावना पनि प्रशस्त छन्

सामान्य जनमानस, सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममा विदेश गएका नेपाली चिकित्सकहरूले राम्रो आम्दानी, राम्रो अवसर र सुविधासम्पन्न जीवन बिताइरहेका छन् भन्ने आमधारणा पाइन्छ। तर वास्तविकता भने सधैं त्यति सरल र सोचे जस्तो छैन।

युरोप, अमेरिका र अस्ट्रेलिया लगायतका मुलुकमा जाने अधिकांश नेपाली चिकित्सकले आफ्नो करिअर रेसिडेन्ट चिकित्सकका रूपमा शुरु गर्नुपर्ने हुन्छ। अत्यन्त थोरैले मात्र सीधै कन्सल्टेन्टका रूपमा काम शुरु गर्न सक्छन्। रेसिडेन्ट चिकित्सकका रूपमा करिअर शुरु गर्नु भनेको आफूलाई फेरि रिसेट गरेर नयाँ पेशागत यात्रा शुरु गरे जस्तै हो। विदेश पुग्नु नै चिकित्सकीय करिअर स्थापित हुनु होइन। कतिपयका लागि वास्तविक सङ्घर्ष विदेश पुगेपछि शुरु हुन्छ।

नयाँ भाषा सिक्नु, भाषा जाने पनि स्थानीय लबज बुझ्नु, फरक संस्कृतिमा समायोजन हुनु, बिरामीसँगको सञ्चार शैली बुझ्नु, आफ्नो शैक्षिक योग्यता मान्यताप्राप्त गराउनु र रेसिडेन्सी वा रोजगारीको अवसर प्राप्त गर्नु- यी सबै चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ।

कतिपय अवस्थामा विदेशी मूलका चिकित्सकले प्रत्यक्ष वा अप्रत्यक्ष विभेद समेत सामना गर्नुपर्छ। कतिपय बिरामीले “तपाईं हाम्रो भाषा बोल्नुहुन्छ ?”, “तपाईंले यही देशमा तालिम लिनुभएको हो ?” जस्ता प्रश्न सार्वजनिक रूपमै गर्न सक्छन्।

विदेशी मूलका चिकित्सकलाई स्वास्थ्य जाँच गराउन अस्वीकार गरिदिने अवस्था पनि आउन सक्छ। यस्ता घटना नेपालमा स्वास्थ्यकर्मीमाथि हुने गरेका शारीरिक हिंसा जस्ता क्रूर नै त शायद होइनन्, तर विभेदका यस्ता अनुभवले चिकित्सकमा मानसिक तथा मनोवैज्ञानिक तनाव सिर्जना गर्न सक्छन्।

लामो तालिम, लामो सङ्घर्ष

विदेशमा कार्य समय कम हुन्छ भन्ने धारणा पनि सधैं सही हुँदैन। युरोपमा काम गर्ने समय नियमन गरिएको भए पनि रेसिडेन्ट चिकित्सकहरूले लामो समय काम गर्नुपर्ने हुन सक्छ। किनकि विकसित देशहरूमा करिअरको प्रारम्भिक अनुभव सबैका निम्ति चुनौतीपूर्ण नै हुन्छ।

प्रशासनिक कामको बोझ पनि उल्लेखनीय हुन्छ। अर्को महत्त्वपूर्ण पक्ष विशेषज्ञता हासिल गर्न लाग्ने समयावधि हो। युरोपका धेरैजसो देशमा रेसिडेन्सी पूरा गर्न ५–६ वर्ष लाग्न सक्छ, जबकि नेपालमा धेरै विशेषज्ञता तालिम ३–४ वर्षमै पूरा हुन्छन्। त्यसैले नेपालमा एउटै समयमा करिअर शुरु गरेका सहकर्मी विभाग वा अस्पतालको नेतृत्वदायी भूमिकामा पुगिसक्दा विदेश गएको चिकित्सक त्यहाँ आफ्नो व्यावसायिक स्थान बनाउन अझै सङ्घर्षरत गरिरहेको हुन सक्छ!

यस क्रममा धेरैले निजी जीवनमा समेत सम्झौता गर्नुपर्ने हुन सक्छ। नेपालमा हुँदा जस्तो विस्तारित/संयुक्त परिवारको सहयोग नहुनु र बालबच्चाको हेरचाह आफैंले गर्नुपर्ने वास्तविकता विदेशमा सन्निकट हुन्छ। अर्कोतर्फ घरायसी काम र व्यावसायिक जिम्मेवारी बीच सन्तुलन मिलाउनु आफैंमा चुनौतीपूर्ण हुन्छ।

कतिपयले विदेशमा क्लिनिकल काम गर्नकै लागि आफ्नो रुचिको विशेषज्ञता परिवर्तन गर्नुपर्ने अवस्था पनि आउन सक्छ। वास्तवमा विदेशमा बस्नु र आफ्नो चाहना अनुसारको पेशा अपनाउनु आफैंमा सहज प्रक्रिया होइन। प्रवासी जीवनका विविध अनुभवले विदेशिएका चिकित्सकहरूको जीवनमा पनि वैचारिक, मानसिक र जीवनशैलीगत परिवर्तनहरू ल्याउन सक्छन्। त्यसैले विदेशमा कार्यरत नेपाली चिकित्सकहरू सबै विलासी र सहज जीवन बिताइरहेका छन् भन्ने धारणा वास्तविकतासँग सधैं मेल खाँदैन।

चिकित्सकलाई रोक्ने होइन, बस्न चाहने वातावरण सिर्जना गर्ने

चिकित्सकहरूको विदेश पलायनलाई केवल व्यक्तिको निर्णय वा देशप्रतिको जिम्मेवारीसँग जोडेर हेर्नु पर्याप्त हुँदैन। मूल प्रश्न हो- उनीहरू किन विदेश जान चाहन्छन् ? यदि राज्यले दक्ष चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई देशमै टिकाइराख्न चाहन्छ भने उनीहरूलाई दबाबमा रोक्नेभन्दा बस्न चाहने वातावरण निर्माण गर्नुपर्छ। सरकार, निजी क्षेत्र, स्वास्थ्य संस्था र समाजले निम्न विषयमा तत्काल काम गर्न आवश्यक छ :

१. सम्मान, सुरक्षा र भविष्यप्रतिको आशा : देशमै बसेर सेवा गर्न चाहने चिकित्सकका लागि सम्मानजनक, सुरक्षित र भविष्यप्रति आशावादी वातावरण बनाउनुपर्छ। एक अध्ययन अनुसार करिब ४५ प्रतिशत चिकित्सकले कुनै न कुनै प्रकारको कार्यस्थलमा हिंसा अनुभव गरेका छन्। यो डरलाग्दो तथ्याङ्क हो। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने हिंसा नियन्त्रण गर्नु सरकारको मात्र होइन, सम्पूर्ण समाजको साझा जिम्मेवारी हो।

२. तलब, कार्यावधि र व्यावसायिक वृत्तिविकासमा सुधार : चिकित्सकको पारिश्रमिक, अत्यधिक कार्यावधि, बर्नआउट, कार्यस्थल सुरक्षा र व्यावसायिक विकासका अवसरलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्छ। यो सुधार वरिष्ठ विशेषज्ञमा मात्र सीमित हुनुहुँदैन। इन्टर्न र रेसिडेन्ट चिकित्सकले करिअरको सुरुआती चरणदेखि नै उचित स्टाइपेन्ड वा तलब, सम्मानजनक कार्यावधि र विकासका अवसर पाउनुपर्छ।

एक अध्ययनमा नेपालका ८३.४२ प्रतिशत चिकित्सकले आफ्नो रोजगारीप्रति असन्तुष्टि व्यक्त गरेको उल्लेख छ। चिकित्सक जस्तो प्रतिष्ठित मानिएको पेशामा किन यो स्तरको असन्तोष छ ? विशेषगरी रोजगारीका सुविधा, करिअर विकास र मानव संसाधन सम्बन्धी विषयमा असन्तुष्टि देखिएको छ।

नेपालले आफ्ना स्वास्थ्यकर्मीलाई केवल जनशक्तिका रूपमा होइन, देशको दीर्घकालीन स्वास्थ्य सुरक्षामा गरिएको लगानीका रूपमा हेर्न आवश्यक छ

३. स्वास्थ्य जनशक्ति उत्पादनलाई व्यापक बनाउने : नेपालले नयाँ चिकित्सा तथा स्वास्थ्य विज्ञान सम्बन्धी शैक्षिक र तालिम संस्था विस्तार गर्दै स्वास्थ्य जनशक्ति उत्पादन बढाउने दीर्घकालीन रणनीति बनाउन सक्छ। हामीले सयौं होइन, हजारौंको सङ्ख्यामा गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादन गर्ने लक्ष्य लिनुपर्छ। यसलाई नेपाली विद्यार्थीमा मात्र सीमित नराखी नेपाललाई अन्तर्राष्ट्रिय चिकित्सा शिक्षा केन्द्रका रूपमा विकास गर्ने सम्भावना पनि खोज्न सकिन्छ।

नेपाल हेल्थ कन्क्लेभ–२०२४ मा डा. उपेन्द्र महतोले नेपालमा चिकित्सा शिक्षाका लागि ५० हजार विदेशी विद्यार्थी भित्र्याउन सकिने दूरदर्शी विचार प्रस्तुत गरेका थिए। देश–विदेशको अनुभवमा उहाँले राख्नुभएको प्रक्षेपणलाई स्वाभाविक सम्भावनाका रूपमा लिन सकिन्छ। यस्तो अवधारणालाई राष्ट्रिय शिक्षा, स्वास्थ्य र आर्थिक रणनीतिसँग जोडेर बहस चलाउनु आवश्यक छ।

४. विदेशिएका चिकित्सकलाई फर्कने ढोका खुला राख्ने : नेपालले विदेशमा ज्ञान, सीप र अनुभव हासिल गरेका चिकित्सकलाई स्वदेश फर्कन प्रोत्साहित गर्नुपर्छ। उनीहरूलाई प्रशासनिक वा नियामक अवरोध सिर्जना गर्नुको सट्टा उनीहरूको विशेषज्ञतालाई नेपालको स्वास्थ्य प्रणालीसँग जोड्ने नीति आवश्यक छ।

विदेशी नागरिकता प्राप्त गरेकै आधारमा विधिवत् दर्ता भएका चिकित्सकको नेपाल मेडिकल काउन्सिलको दर्ता खारेज गर्ने अभ्यास पुनर्विचार गरिनुपर्छ। त्यसैगरी चिकित्सकहरूको व्यक्तिगत विवरण उनीहरूको सहमति विना सार्वजनिक गर्नु गोपनीयता र व्यावसायिक मर्यादाको दृष्टिले संवेदनशील विषय हो। नियामक संस्थाहरू स्वयं नैतिकता, व्यावसायिकता र गोपनीयताको उदाहरण बन्नुपर्छ।

५. जनसाङ्ख्यिक परिवर्तनलाई पनि गम्भीरतापूर्वक हेर्ने : चिकित्सक पलायनलाई नेपालको समग्र जनसाङ्ख्यिक परिवर्तनबाट अलग गरेर हेर्न सकिंदैन। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ। नेपालको प्रजनन दर पनि उल्लेख्य रूपमा घटेको छ। वि.सं. २०१८ मा एक महिलाले औसतमा करिब ५.७४ सन्तान जन्माउने गरेकोमा वि.सं. २०७८ सम्म आइपुग्दा यो दर करिब १.९४ मा झरेको छ; जुन प्रतिस्थापन तहभन्दा कम हो।

यससँगै युवा जनशक्तिको ठूलो हिस्सा शिक्षा र रोजगारीका लागि विदेश जाने क्रम बढिरहेको छ। त्यसैले परिवार नियोजन तथा जनसङ्ख्या नीतिलाई बदलिंदो जनसाङ्ख्यिक अवस्थाका आधारमा पुनरावलोकन गर्दै दीर्घकालीन राष्ट्रिय बहस आवश्यक छ। यदि भविष्यमा देशमै पर्याप्त युवा जनशक्ति रहेन भने हामीले स्वास्थ्यकर्मीका रूपमा कसलाई शिक्षा र तालिम दिने ?

अन्त्यमा, चिकित्सकको विदेश पलायन रोक्न सीमामै बाटो बन्द गर्न सकिंदैन, न त व्यक्तिको अवसर खोज्ने अधिकारलाई दबाबले रोक्नु उचित हुन्छ। तर राज्यले एउटा यो प्रवृत्तिप्रति सिंहावलोकन गर्नैपर्छ- हाम्रा चिकित्सकहरू किन देश छाड्न चाहन्छन् ? अनेक चुनौती बीच किन विदेश प्रिय हुने गर्छ ? उनीहरूलाई नेपालमै आफ्नो भविष्य देख्ने वातावरण कसरी बनाउन सकिन्छ ?

हामी सबैले हृदयङ्गम गर्नुपर्ने कुरा- विदेशमा अवसर छन्, तर सङ्घर्ष पनि छन्। नेपालमा चुनौती छन्, तर सम्भावना पनि प्रशस्त छन्।

हामीले चिकित्सकलाई विदेश नजान ओठेआग्रह गर्नुभन्दा नेपालमै बस्न चाहने कारणहरू सिर्जना गर्नुपर्छ। उनीहरूलाई दोष दिनुभन्दा नेपालभित्रै सम्मान, सुरक्षा, उचित पारिश्रमिक, व्यावसायिक विकास र भविष्यप्रतिको भरोसा सिर्जना गर्नुपर्छ। विदेश गइसकेकाहरूका लागि पनि फर्कने, योगदान गर्ने र आफ्नो ज्ञान तथा अनुभव मातृभूमिसँग जोड्ने ढोका खुला राख्नुपर्छ।

नेपालले आफ्ना स्वास्थ्यकर्मीलाई केवल जनशक्तिका रूपमा होइन, देशको दीर्घकालीन स्वास्थ्य सुरक्षामा गरिएको लगानीका रूपमा हेर्न आवश्यक छ।

(स्विट्जरल्यान्डको बर्न युनिभर्सिटी हस्पिटलमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञका रूपमा कार्यरत डा. श्रेष्ठ सोसाइटी अफ नेपाली हेल्थकेयर प्रोफेसनल्स इन युरोपका अध्यक्ष हुन्।)

लेखक
डा. विनयकुमार श्रेष्ठ

(स्विट्जरल्यान्डको बर्न युनिभर्सिटी हस्पिटलमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञका रूपमा कार्यरत डा. श्रेष्ठ ‘सोसाइटी अफ नेपाली हेल्थकेयर प्रोफेशनल्स इन युरोप’ का अध्यक्ष हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?