+
+
Shares

ज्यानै जोखिममा राखेर भाटभटेनी फेरि ठडाएँ : मीनबहादुर गुरुङ

‘जलाउने काम गलत भयो, तर म कसैलाई दोष दिनेवाला छैन, जुन घटना घट्यो, त्यो नहुनुपर्ने थियो, भयो, त्यसलाई हामी सबैले बिर्सियौं,’ उनले भने, ‘मैले त त्यहाँ एउटा बोर्ड नै राखेको छु– हे भगवान ! मेरो देशमा अब उप्रान्त यस्तो नहोस् ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनका क्रममा आगलागीबाट ध्वस्त काठमाडौं टंगालको भाटभटेनी सुपर मार्केटको १०औं शाखा आजदेखि नयाँ भवन र संरचनासहित पुनः सञ्चालनमा आएको छ।
  • भाटभटेनी अध्यक्ष मीनबहादुर गुरुङले आफू गम्भीर बिरामी हुँदाहुँदै ज्यानको बाजी राखेर स्टोर पुनर्जीवन दिएको र व्यवसाय निजी सम्पत्ति मात्र नभई नेपालको सम्पत्ति भएको बताए।
  • गुरुङले आफ्नो व्यवसाय राजनीतिक दलसँग जोडिएको हल्ला अस्वीकार गर्दै ४२ वर्षअघि श्रीमतीको गहना ३५ हजारमा बेचेर व्यवसाय सुरू गरेको बताए।

५ असोज, काठमाडौं । जेनजी आन्दोलनमा प्रदर्शनकारीको निशानामा परेको टंगालस्थित भाटभटेनी सुपर मार्केट स्टोर पुनः सञ्चालनमा ल्याउँदा अध्यक्ष मीनबहादुर गुरुङ प्रफुल्ल मुद्दामा देखिए । एकातिर अरबौंको सम्पत्ति खरानी बनेको पीडा, त्यसमाथि नाजुक स्वास्थ्य अवस्था, गुरुङलाई आजको दिनसम्म आइपुग्न त्यति सहज थिएन ।

स्टोर उद्घाटन गरेपछि सोमबार गुरुङले भाटभटेनी स्टोरहरू पुनर्निर्माण गर्दाको कठिनतम दिनहरू सम्झिएन । उनले यसक्रममा आफू गम्भीर बिरामी परेको पनि सुनाए ।

गुरुङलाई ‘पीआरसीए’ नामक रोगको डायग्नोसिस भएको थियो, जसका कारण उनको हेमोग्लोबिन घटेर ४ मा झरेको थियो ।

‘म झन्डै एब्सेन्ट भएको थिएँ, तर मेरो ज्यानको बाजी राखेर यसलाई उठाउन खोजेको हो,’ उनले भने, ‘मसँग हजारौं भाइबहिनी आबद्ध हुनुहुन्छ, ममाथि अर्बौं लगानी गर्ने बैंक छन्, मलाई विश्वास गरेर सामान दिने व्यवसायी हुनुहुन्छ, उहाँहरूलाई मैले धोका दिनु भएन नि !’

नेपालीहरू हिम्मतिलो हुने र त्यसमाथि आफू गोर्खाली भएकाले जस्तोसुकै कठिन परिस्थितिमा पनि उठ्ने साहस भएको उनले बताए । अहिले आफ्नो स्वास्थ्यमा तीव्र सुधार आएको पनि उनले सुनाए ।

गत वर्ष २४ भदौमा जेनजी आन्दोलनका क्रममा आगलागीबाट ध्वस्त भएको १२ मध्ये यो १०औँ स्टोर आजदेखि पुन: सञ्चालनमा आएको छ ।

नयाँ भवन र संरचनासहित स्टोरको उद्घाटन गर्दै भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले विगतको दु:खद घटनालाई बिर्सेर आफू नयाँ सिराबाट अघि बढेको बताए ।

आफ्नो गम्भीर स्वास्थ्य अवस्थाका बाबजुद पनि हजारौं कर्मचारी, लगानीकर्ता र सप्लायर्सप्रतिको उत्तरदायित्व सम्झेर ज्यानको बाजी राख्दै भाटभटेनीलाई पुनर्जीवन दिएको उनले सुनाए ।

अध्यक्ष गुरुङले भाटभटेनीलाई आफ्नो व्यक्तिगत सम्पत्ति मात्र नभएर सिंगो नेपाल र नेपालीको सम्पत्ति भएको बताए । संसारमै नहुने दुर्लभ र नहुनुपर्ने घटना नेपालमा घटेको उनको भनाइ थियो ।

‘तिमीहरूको देश कस्तो हो, आफ्नो सम्पत्ति आफैंले आगो लगाउने भनेर विदेशका साथीले पनि सोध्छन्,’ उनले सुनाए, ‘यो भाटभटेनी मेरो मात्रै होइन, हामी सबैको हो, यो नेपालको सम्पत्ति हो ।’

उनले भाटभटेनीले हजारौं नेपालीलाई रोजगारी दिएको र राज्यलाई ठूलो मात्रामा कर तिरिरहेको स्मरण गराए ।

‘हामीले आर्जन गरेको पैसाको ३० प्रतिशत त कर नै तिर्छौं, प्रमोटरले डिभिडेन्ड लिँदा थप ५ प्रतिशत ट्याक्स दिनुपर्छ,’ अध्यक्ष गुरुङले भने, ‘त्यसकारण यो नेपालकै सम्पत्ति हो, देशको सम्पत्ति जलाउनु भएन नि !’

 ‘म राजनीतिक व्यक्ति होइन, श्रीमतीको गहना बेचेर सुरु गरेको व्यवसाय हो’

विभिन्न राजनीतिक दलका नेता (पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली आदि) सँग जोडेर बजारमा फैलिएका हल्लालाई अध्यक्ष गुरुङले ठाडै अस्वीकार गरे । उनले आफू कुनै राजनीतिक व्यक्तित्व नभएको र व्यवसाय नितान्त आफ्नो र परिवारको कडा मिहिनेतको प्रतिफल भएको स्पष्ट पारे ।

‘यहाँ अनेक अफवाह फैलिन्छन्, यो न केपी ओलीको हो, न प्रचण्डको हो, न अरू कसैको हो, यो मीनबहादुरको मिहिनेतको सिर्जना हो,’ उनले भने, ‘आजभन्दा ४२ वर्ष अगाडि १२० स्क्वायर फुटको भाडाको कोठाबाट मेरी श्रीमतीको गहना ३५ हजारमा बेचेर सुरु गरेको व्यवसाय हो यो, यो त्यत्तिकै भएको होइन, यसमा हाम्रो रगत, पसिना र मिहिनेत छ ।’

आफ्नो अर्बौंको संरचना ध्वस्त पारिँदा पनि गुरुङले कसैप्रति आक्रोश व्यक्त गरेनन् । उनले जलेको स्टोर निर्माण गर्न नयाँ बनाउनुभन्दा धेरै गाह्रो भए पनि सबैको साथ र सहयोगले सम्भव भएको बताए ।

‘जलाउने काम गलत भयो, तर म कसैलाई दोष दिनेवाला छैन, जुन घटना घट्यो, त्यो नहुनुपर्ने थियो, भयो, त्यसलाई हामी सबैले बिर्सियौं,’ उनले भने, ‘मैले त त्यहाँ एउटा बोर्ड नै राखेको छु– हे भगवान ! मेरो देशमा अब उप्रान्त यस्तो नहोस् ।’

देशमा व्यवसाय गर्ने वातावरण नभएको भन्दै निराश भएकाहरूलाई उनले आतंकित नहुन र आफ्नो काम निरन्तर गर्न आग्रह गरे ।

‘आतंकित किन हुने ? यही देशमा गर्ने हो, यही देशमा मर्ने हो, देशको विकासमा निजी क्षेत्रको ठूलो हात हुन्छ,’ उनले भने, ‘मेरो देशमा अब उप्रान्त यस्तो घटना कहिल्यै नहोस्, सरकारले निजी क्षेत्र र देशको सम्पत्तिको संरक्षण गरिदिनुपर्छ ।’

सरकार र देशको नेतृत्व इमान्दार भइदिए आगामी १५ वर्षमा नेपाल संसारकै विकसित देश बन्न सक्ने सम्भावना रहेको उनले औंल्याए ।

गुरुङले आगामी दिनमा सरकारले देशको सम्पत्तिको संरक्षण गर्नेमा आफू आशावादी रहेको र सरकारको तर्फबाट पनि आफूलाई सहयोग रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?